म चुइगम खादिनँ

रामकुमारको घर शहरको एउटा कुनामा छ। उसको घर काठले बनिएको भए तापनि रङ लगाएर सुन्दर ढङ्गमा सजाइएको थियो। घर वरिपरि फूलहरू रोपिएका थिए। फूलहरूमा पुतली-मौरीहरू आएर रस चुसिरहेका हुन्थे। रामकुमारलाई घरमा सबैले माया गरेर रामु भनेर बोलाउने गर्थे। रामुको घरमा घेरै परेवाहरूले गुँड़ लगाएर बसेका थिए। एक जोडी परेवाले गुँड़मा परेवाले बच्चा काड़ेको थियो। रामु फुर्सद पाउनासाथ लुकेर ती बच्चाहरूलाई परेवाका जोड़ीले चारो खुवाएको हेर्ने गर्थ्यो। स्कूलबाट आएपछि पनि लुगा नफेरिकन एकपल्ट परेवाको बच्चा हेर्न जान्थ्यो। एउटा ठूलो परेवाले ती बच्चाहरूलाई एकपछि अर्को गर्दै शहरका कुनाकुनाबाट चारो खोजी ल्याएर खुवाउने गर्थ्यो। सायद, त्यो ठूलो परेवा परिवारको आमा हुन् भनेर रामु सोच्ने गर्थ्यो। एकदिन रामु स्कूलबाट छिट्टै घर आयो। घर आउनसाथ सँधैजस्तो परेवाको बच्चा हेर्न गयो। बच्चाहरू एकलै ठूलो-ठूलो मुख बनाउँदै कराइरहेका थिए। रामुले सोच्यो, ‘उनीहरूकी आमा चारो खोजेर घर फर्खीनन् होली अनि यिनीहरू भोकाएर कराएका हुन्।रामुले ती बच्चाहरूलाई भोकले रोइरहेको सम्झ्यो। तर उसलाई अरुले देख्छ भनेर हतार-हतार त्यहाँबाट झरेर घरभित्र पस्यो। रामु फेरि परेवाका बच्चाहरू हेर्न गयो। तर आमा परेवा अझै आएकै थिएन। बेलुका पनि फेरि हेर्‍यो। तर बेलुका पनि आएकै थिएन। राती ओछ्यानमा सुतिरहेको बेला पनि ती बच्चाहरू कराएको अलिअलि सुनिरहेको थियो। बिहान पनि उठ्ने बित्तिकै आगनतिर आमा परेवा देखिन्छ कि भनेर हेर्‍यो। तर देखेन। तेसैले रामुलाई दुख लाग्यो। फेरि यताउती खोज्दै घरको वरिपरि घुम्दा एउटा कुनामा आमा परेवा लडिरहेको देख्यो। उसले राम्ररी हेर्‍यो। त्यो आमा परेवा नै थियो। आमा परेवा फत्र्याक-फत्र्याक गर्दै पखेटा चलाइरहेको थियो। रामुले पक्रेर हेर्‍यो। परेवाको खुट्टा लामो-लामो केशले बेह्रिएको रहेछ। केशसितै खुट्टामा चुइगम पनि टालिएको रहेछ। केशले खुट्टामा टनटनी बेह्रिएको हुँदा उड्न नसकेको रहेछ। रामुले बिस्तारै खोलीदियो। त्यसपछि त्यो आमा परेवा अलिअलि हिन्यो अनि भुर्र उड़ेर आफ्ना बच्चाहरू भएकोतिर गयो। रामु पनि हतार-हतार ती बच्चाहरू भएकोमा पुग्यो। उसले देख्यो, आमा परेवा भेटाएर बच्चाहरू सबै खुशीले लुटुपुटु भइरहेका थिए। त्यो देखेर रामु साह्रै खुशी भयो। उसले सोच्यो, ‘अबदेखि म चुइगम खाँदिन। आमा र दिदीलाई पनि लामो कपाल जताततै नफ्याक्नु भन्छु।

Comments

Popular posts from this blog

'अभीष्टको खोज' – नारीवादी कि यौन मनोवैज्ञानिक उपन्यास? • नवीन पौड्याल

महानन्द पौड्याल : नेपाली साहित्यका एक महारथी