TRADITIONAL HEALTH SYSTEM IN Sikkim


सिक्किमको पारम्परिक स्वास्थ्य चिकित्सा प्रणाली

----डिल्लीराम दुलाल

भारत देशको पूर्वोत्तर क्षेत्रमा अवस्थित सिक्किम भारतको 22 औं राज्यको रूपमा स्थापित छ। भारतको कुल भौगोलिक क्षेत्रफलको 0.2 प्रतिशतको गणनामा सिक्किमको कुल भौगोलिक क्षेत्रफल 7,096 वर्ग किलोमिटर रहेको छ। 114- किलोमिटरको दूरीभित्र पॉंचवटा प्रचुर जलवायुयुक्त क्षेत्रहरू भेट्टाइने एउटा अद्वितीय भौगोलिक गुणले सिक्किम राज्य युक्त छ। राज्यको धेरैजसो भाग कृषियोग्य छैनन्‌। सिक्किमको एकतिहाइ भू-भागमा  बाक्लो  जङ्गल छ। यस जङ्गलमा विभिन्न प्रकारको जीवजन्तु र वनस्पतिहरू पाइन्छन्‌। हिमालयको  अलग-अलग उँचाई भएको कारण यहॉं ट्रपिकल,टेम्पोर,एल्पाइन , टुन्ड्रा आदिको बोट बिरुवाहरू पाइन्छ। यस्तो सानो क्षेत्रमा भिन्न-भिन्नै मौसम रहनु एउटा छुट्टै विषय हो। आज यहॉं हामी चर्चा गर्नेछौं हिमाली राज्य सिक्किमको पारम्परिक स्वास्थ्य उपचार पद्धतिबारे।

राज्यमा बसोबासो गर्ने प्रमुख समुदायहरूले परम्परागत रूपमा आ-आफ्नै तरिकाले चिकित्सा पद्धति अप्नाउँदै आएको पाइन्छ।
भौगोलिक रूपमा सिक्किमको जमीनको भाग सानो भए पनि देशको जैवविविधतालाई समेट्‌दा 26 प्रतिशत जैवविविधताले  युक्त राज्य हो। कञ्चनजङ्‌घा पर्वतको  पवित्र काखमा शान्त पोखरी र उराज-लताहरूले सिक्किमलाई एउटा अलग्गै चिन्हारी दिएको छ भने रेड पाण्डा, चौंरीहरू, 84 वटा हिमनदी  तथा 690 प्रजातिका पुतलीसहित 150 प्रजातिका स्तनपायी जन्तु, 85 प्रजातिका माछा, 4500 अधिक फूल फुल्ने उद्‌भिद,36 प्रजातिका गुरॉंस, 424 प्रजातिका औषधीय उद्‌भिदहरू पाइन्छन्‌। यसैगरी  362 प्रजातिका उन्युँ, 8 प्रजातिका रुख उन्युँ,60 प्रजातिका प्रिमुला, 515 प्रजातिका सुनखरीले सम्पन्न छ राज्य।

स्थानीय  स्वास्थ्य चिकित्सा परम्पराको कुरा गर्नुपर्दा यी विविध प्रजातिका जैव शंसाधनको भरमा निर्भर रहेको पाइन्छ। आयुर्वेदको क्षेत्रीय अनुसन्धान संस्थानले गरेको एउटा अध्ययनअनुसार पारम्परिक चिकित्सा स्थानीय उपलब्ध शंसाधन र स्थानीय समुदायमा आधारित रहेको पाइन्छ। यसलाई अझ परिवार र वैध परम्परामा निहीत भएको पाइन्छ। परिवार स्तरमा हेर्दा घरेलु औषधी, स्वास्थ्य आधारित भेष-भूषा, रीति-रिवाज, उत्सव,खाद्य तथा जीवनक्रमबारे चिकित्सकहरूको मान्यतालाई पालन गरेको देखिन्छ। घरेलू स्तरमा स्थानीय उद्‌भिदका विविध प्रजातिको दैनिक जीवनमा प्रयोग गर्नुका साथै  स्थानीय उद्‌भिद जडी-बुट्टीको उपलब्धता पनि प्रचुर रूपमा पाइन्छ,जसको संरक्षण गर्न परम्परादेखि नै राज्यका विविध समुदाय सचेत रहेका छन्‌। यसैगरी वैध परम्परामा वैधहरूले विशेष जडी-बुट्टी सम्बन्धी प्राप्त गरेको अनुभवमार्फत समुदाय स्तरमा  सहयोग र सेवा पुऱ्याएको पनि पाइन्छ। वैध परम्परामा स्वास्थ्य सेवा, सुरक्षासहित आपतकालीन स्थिति,जस्तै- सॉंपले डसेको बेलामा उपचार गर्नु, पारम्परिक रूपमा नेत्र चिकित्सा,स्त्री रोग,शिशु सुरक्षा लगायत मानव शरीरका विविध अङ्गहरूको उपचार र विशेष रोगहरूको उपचार गर्न वैध परम्परा प्रचलित छ।
पारम्परिक चिकित्सामार्फत सॉंपले डसेमा विष झार्नु,भॉंचिएको हड्डी जोड्‌नु, प्रसवक्रियमा उपचार, पशु चिकित्सासहित अन्य बिमारको उपचार गरिने परम्परा धेरै पुरानो हो। यसअतिरिक्त वैधहरूले प्रत्येक उपलब्ध शंसाधनको प्रयोग गर्न पनि वैधहरूमा विशेष ज्ञान भएको पाइन्छ। सिक्किम राज्यमा पारम्परिक चिकित्सा प्रमुख पॉंच श्रेणीमा आधारित छन्‌। ती पॉंच पद्धति वा श्रेणीमा वैध परम्परा, हड्डी जोड्‌ने, पशु वैध, पारम्परिक तरिकामा प्रवस चिकित्सा र विश्व वैध सामेल छन्‌।

पारम्परिक रूपमा प्रसव गराउने चिकित्सामा  राज्यका ग्रामीण क्षेत्रहरूमा समेत रहेको वृहत्‌ समूहले प्रसवसितै जन्मपछि आमा र शिशुको स्वास्थ्यमा सेवा पुऱ्याउँदै, स्थानीय उपलब्ध औषधीको प्रयोगमार्फत आमा र शिशुलाई स्वास्थ्य राख्ने प्रयास गरिन्छ। यस समूहमा विशेष महिलाहरूको सहभागिता रहेको छ। उल्लेखनीय छ, पारम्परिक चिकित्सकहरूलाई प्रशिक्षण दिने कार्यलाई पनि वर्तमानमा स्वास्थ्य सङ्गठनले ध्यान पुऱ्याएको देखिन्छ।

यसैगरी पारम्परिक रूपमा भॉंचिएको हड्डी जोड्‌ने वैधहरूको समूह पनि वृहत्‌ रूपमा पाइन्छ। जसले भॉंचिएको, फुटेको, साधारण मर्केको हड्डीलाई निको पार्ने गर्छन्‌। राज्यमा 60 प्रतिशत चिकित्सा वैध परम्पराले गरिने आँकडा पनि अध्ययनले पुष्टि गरेको छ। वैधहरूले हड्डी जोड्‌न काम्रा बॉंध्न बॉंस,हड्डी जोड्‌न अण्डा,कालो मास, तेल र केही प्रजातिका पात प्रयोग गरेको पाइन्छ। कतिपय वैधहरूले राज्यका विभिन्न स्थानमा आफ्नो चिकित्सा सेवा पुऱ्याउन क्लिनिक खोलेर बसेको हामी पाउँछौं।

विविध पारम्परिक चिकित्सा वा वैध परम्परामा आ-आफ्नै विश्वास र तरिका भए तापनि समग्रमा स्वास्थ्य उपचार र मानव स्वास्थ्य सुरक्षा नै  मूल उद्देश्य हो। भौगोलिक रूपमा प्रकृतिले विशेष उपहार निशुल्क जडीबुट्टीका रूपमा दिएको छ भने अर्कोतिर विश्वका विभिन्न स्तरबाट आउने पारम्परिक चिकित्सहरूसित पनि सम्पर्क  स्थापना गर्न सम्भव भएको पाइन्छ। सिक्किमको संस्कृति परम्परा तीन प्रमुख समुदायमा निहीत छ। उसैगरी यहॉंको वैध परम्परा पनि तीन मुख्य रूपमा विभाजन गरेर हेर्न सकिन्छ। राज्यमा वृहत्‌ रूपमा पारम्परिक उपचारको समूह छ, जस्तै नेपाली समुदायमा धामी, झॉंक्री, फेदाङमा  र बोनबो प्रचलित छन्‌  भने,भोटिया समुदायमा पो,नेजुम प्रचलित छन्‌। उसैगरी बुमथिङ लेप्चा समुदायमा प्रचलित छ।
नेपाली समुदायले पारम्परिक चिकित्सालाई विशेष पहाडी दवाई अथवा जडी-बुट्टीको रूपमा चलनमा ल्याउने गरेको छ। यसमा आयुर्वेद चिकित्सा र तिब्बती परम्पराको सम्मिश्रण पाइन्छ। लोक व्यवहारमा कोही चिकित्सकहरूले ग्रामीण स्तरमा सेवा पुऱ्याएको पाइन्छ। यस समुदायले विशेष प्रजातिका उद्‌भिद प्रयोग गर्दछन्‌। जसमा बोजो,सिरू,मजिटो,जेठीमधु, बिमिरो,पाखनबेत,हडचुर,चिरैतो, पदमचल,चम्पा,काली निग्रो,पाङ्‌ग्रा, बेतलौरी,कलचुडा,कदम, पॉंच औंले, पिपल आदि सामेल छन्‌।

धेरै वर्षसम्म सम्पर्क साधनको अभावमा रहेको हिमालयी क्षेत्रको उच्च चोटिमा बसोबासो गर्ने समूहले तिब्बती परम्परामा आधारित चिकित्सा पद्धतिलाई अप्नाउने गरेको पनि एउटा अध्ययनले पुष्टि गर्दछ। यसरी तराइ-मधेशतिर सम्पर्करहित हिमाली क्षेत्रमा बसोबासो गर्ने एउटा समूहले प्राकृतिक शंसाधनको प्रयोगमार्फत तिब्बती समुदायले आफ्नै तरिकमा घरेलु औषधिको परम्परा विकसित गरेका  छन्‌। त्यस परम्परालाई आम्ची प्रणाली पनि भन्ने गरिन्छ।

प्रकृतिका प्रेमी लेप्चा समुदायले पनि प्रकृतिको निशूल्क उपहारमार्फत आफ्नो पारम्परिक चिकित्सा प्रणाली विकसित गरेका छन्‌। यस समुदायले विशेष बुङथिङको मार्गदर्शनमा चिकित्सा लाभ उठाउने गरेको पाइन्छ।
आयुर्वेदिक प्रणालीमा उपचार गराउने विषयलाई नेपाली,व्यापारी, सेनाकर्मीसहित भोटिया,लेप्चा समुदायले पनि मान्यता दिँदै आएको आयुर्वेदिक अनुसन्धानको अध्ययनबाट पत्तो लाग्छ। राज्यमा यो प्रणाली सन्‌ 1979 देखिनै स्थापित रहेको छ।

पारम्परिक चिकित्सामा सबैभन्दा उल्लेखनीय र प्रचलित विषय हो हड्डी जोड्‌ने चिकित्सा। यो लाभ मानिस र पशु दुवैमा लागू भएको पाइन्छ। राज्यमा 25 वैधहरूको पहिचान गरिएको छ,जसले ग्रामीण क्षेत्रमा उपचार गर्ने गर्छन्‌। उनीहरूले टुटे-फुटेको हड्डी जोड्‌ने ज्ञान परम्परादेखि नै आफ्नो पुर्खाहरूले दिएको  र यसको उपचार विधिबारे पारदर्शीता  छैन अर्थात्‌ उपचारको गोपनीयता भङ्ग गरे व्यापारमा नोक्सान हुने वैध मान्यता पनि  छ। जे होस्‌,पारम्परिक पद्धतिमा स्वास्थ्य उपचार गर्ने हिमाली राज्य सिक्किमको छुट्टै महत्व  छ। आधुनिक सभ्यतामा अत्याधुनिक चिकित्सा परम्पराको चुनौतीमा राज्यको यस समृद्ध परम्परा लोप हुनदेखि बचाउनु समयको आवश्यकता हो। यसका साथै विकास र मौसम परिवर्तनको परिणामले स्थानीय उपलब्ध जैवविविधता लोप हुँदै जानसक्छन्‌,जो यी पारम्परिक उपचारका श्रोतहरू हुन्‌। त्यसको संरक्षण गर्न साथै अलग-अलग परम्परालाई सङ्‌ग्रह गरेर मानव संस्कृतिको अमूल्य शंसाधनको रूपमा सुरक्षित राख्नु पनि उत्तिकै महत्वपूर्ण छ। समय छॅंदा नै स्थानीय शंसाधानको प्रयोगसितै संरक्षणका उपायहरूबारे जागरुक गराउनु र यस क्षेत्रमा प्रभावकारी रणनीति तयार गर्नुपर्ने देखिन्छ।

Comments

Popular posts from this blog

भीम दाहालको उपन्यास ‘अभीष्टको खोज’- कृतिपरक अध्ययन- नवीन पौड्याल

मौरी पालन- अनुवाद