SIKKIM ECOLOGY
पर्यावरण र जलसंरक्षणका निम्ति राष्ट्रिय योगदानमा समर्पित सिक्किम
भौगोलिक रूपमा सिक्किम ठूलो भए पनि सम्पूर्ण राष्ट्रको निम्ति पर्यावरण सुरक्षा र जलसुरक्षाको क्षेत्रमा गहन दायित्व सिक्किमलाई छ। सिक्किमसितै पूर्वोत्तर राज्यहरूले राष्ट्रको पर्यावरण र जलसुरक्षाको गम्भीर दायित्व भएकोले यस क्षेत्रमा महत्वपूर्ण कार्य गर्न सिक्किम राज्य सदैव गम्भीर रहेको हालै चिन्तन भवनमा सम्पन्न पूर्वोत्तर बायोटेक हव समन्वय सभामा मुख्यमन्त्री पवन चामलिङले उल्लेख गरेका छन्। सिक्किम जस्तो हिमाली राज्यहरूमा करोडौं नागरिकहरूको निम्ति जलसंशाधनले युक्त भएको कारण हिमालय क्षेत्रको पर्या-प्रणालीलाई संरक्षण गर्ने विषय राष्ट्रिय मुद्दा हुन् अनि यसका निम्ति राष्ट्रिय नीति हुन आवश्यक छ भन्ने महत्वपूर्ण मुद्दालाई पनि मुख्यन्त्रीले देशका पर्यावरणविद् तथा वैज्ञानिकहरूसमक्ष उठान गरेका छन् जो अतिनै महत्वपूर्ण मान्न सकिन्छ।
महत्वपूर्ण विषय के छ भने, सिक्किमले जलसुरक्षा र पर्यावरण संरक्षणलाई राष्ट्रिय मुद्दा बनाउनु अघि यथेष्ट कार्यहरू सञ्चालन गरेर आफ्नो पक्ष बलियो बनाइसकेको छ। सरसर्ती हेर्दा सिक्किमले गरेका कार्यहरू राष्ट्रियको निम्ति अनुकरणीय छन्। सिक्किमले आफ्नो स्वच्छ विकास नीतिअन्तर्गत राष्ट्र निर्माणको प्रक्रियामा महत्वपूर्ण योगदान दिँदै आएको छ। लगभग दुइ दशकको कार्यकालमा एसडीएफ सरकारको प्रभावकारी योजाना र नीतिकै फलस्वरूप तीन प्रतिशत वन क्षेत्रको विकास औ बढोत्तरी गर्न पनि सफल बनेको छ। वर्ष सन् 1994-95 को अवधिमा 43.9 प्रतिशत रहेको सिक्किमको वन क्षेत्र सन् 2009 को अवधिमा बढेर 47.31 प्रतिशत पुगेको छ।
यसरी नै राष्ट्रिय औसतमा कुल प्रतिराज्य वन क्षेत्र 0.08 हेक्टर छ भने सिक्किम यसमा पनि अग्र छ। सिक्किममा वन्य क्षेत्रको प्रतिराज्य औसत 0.62 हेक्टर छ। राष्ट्रको कुल भौगोलिक क्षेत्रको 0.2 प्रतिशतमात्र क्षेत्रफल रहेको सिक्किमलाई आज जैवविविधताको निम्ति राष्ट्रको गढ मानिन्छ। देशको 26 प्रतिशत अधिक फूल फुल्ने पौधा तथा उद्भिद, 150 अधिक प्रजातिका प्राणी, 552 प्रजातिका पक्षी, 690 अधिक प्रजातिका पुतली, 424 प्रजातिका औषधीय पनस्पति, 500 अधिक सुनाखरी, 24 पर्वत श्रृङ्खला, 104 खोलानालाले समृद्ध छ। यसरी पक्षी जगत्मा राष्ट्रको 26 प्रतिशत प्रजाति सिक्किममा उपलब्ध छन् भने भारतीय उपमहाद्वीपमा पाइने 50 प्रतिशत पुतली सिक्किममा पाइन्छ। यस समृद्ध प्रराकृतिक संशाधनलाई संरक्षण गर्न सिक्किम सरकार सदैव सङ्घर्षरत रहेको छ।
सिक्किमले पर्यावरण संरक्षणको निम्ति शुरु गरेका कार्यक्रमलाई छोटकरीमा उल्लेख गर्नु अन्याय हुने विषय भए पनि कति विषयहरू राष्ट्रका निम्ति अनुकरणीय छन्।
वास्तवमा यहॉं बसोबासो गर्ने नागरिकहरू स्वभावले नै प्रकृतिप्रेमी भएको कारण पर्यावरणप्रति परम्पराकालदेखि नै चेतनशील छन् भन्ने विषयलाई पनि नकार्न सकिन्न। यसमा अझ सरकारले प्रभावकारी नीतिअन्तर्गत शुरु गरेका कार्यक्रमले पर्यावरण संरक्षण गर्ने विषयमा सुनमा सुगन्ध थपिएको छ भन्दा अत्युक्ति नहोला। राज्य सरकारद्वारा शुरु गरिएको योजनाहरू विविध भए पनि हरित क्रान्ति (हरित क्रान्ति वर्ष), हरित क्रान्ति दशक (2000-2010), राज्य हरित अभियान, प्रत्येक वर्ष पृथ्वीका निम्ति 10 मिनट, संरक्षित वन क्षेत्रमा पशु छोड्न निशेध, स्कूलमा अनिवार्य पर्यावरन सम्बन्धित पाठ्यक्रम, स्कूलहरूमा ग्रीन क्लबको स्थापना, कृषि क्षेत्रमा रसायनिक मलको प्रयोगमा निषेध तथा पूर्ण जैविक राज्य बनाउने अभियान, प्लाष्टिकको प्रयोगमा निषेध तथा पर्या-पर्यटनतर्फ ग्रामीणहरूलाई आकर्षित गराएर पर्यावरणको संरक्षणसितै जीविकोपार्जनको माध्यम र दीर्घमियादी आयस्रोत सृजना गर्ने उपाय, पोखरी संरक्षण गर्ने समितिहरूको गठन, हर्बल उद्यानको स्थापना आदि कार्यलाई उदाहरणका निम्ति लिन सकिन्छ।
उल्लेखयोग्य विषय के छ भने प्रकृति र राज्य सरकारको यथेष्ट योगदानपछि अब यी विषयलाई राष्ट्रिय सम्पत्तिका रूपमा विकसित गर्ने विचार मुख्यमन्त्रीले राखेका छन्। यसैले सिक्किम राज्यमा बायोटेक पार्क स्थापना गर्ने माग मुख्यमन्त्रीले केन्द्र सरकारसमक्ष राखेका छन्, जो राज्यका निम्ति मात्र नभएर राष्ट्रकै निम्ति महत्वपूर्ण मान्न सकिन्छ।
Comments
Post a Comment