BBC Nepali Patrakarita


भाषा आधारभूत सञ्चार माध्यम हो
 छापा र विद्युतीय भन्ने प्राविधिक वर्गीकरण मात्र हो, सञ्चारको वास्तविक माध्यम त भाषा नै हो ― चाहे लेखियोस् वा बोलियोस्।
भाषाको यही महत्वलाई ध्यानमा राखेर बीबीसी पत्रकारिता पाठशाला (BBC College of Journalism) ले बीबीसी विश्व सेवाका भाषा शाखाहरुका लागि पत्रकारितामा भाषाको प्रयोगका बारे विशेष सामाग्रीहरू तयार गर्ने निधो गरेको हो।
नेपाली सेवाको वेबसाइटको यो खण्डमा प्रस्तुत सामाग्रीमा समाचार लेखनका संपादकीय पक्षहरू भन्दा पनि भाषागत पक्षहरुका बारे चर्चा गरिएको छ।
यहाँ प्रस्तुत सामग्री हाम्रो भाषा पुस्तकका लेखक पत्रकार तथा भाषाविद् शरदचन्द्र वस्तीको सहयोगमा तयार पारिएको हो।
बीबीसी पत्रकारिता पाठशाला तथा विश्व सेवा दक्षीण एशियाली भाषाहरू नेपाली, बंगाली, हिन्दी, तामिल, सिंहल र उर्दुमा पत्रकारितामा भाषाको प्रयोगका बारे विशेष सामाग्रीहरू प्रस्तुत गर्न पाएकोमा गर्व गर्दछ।
दक्षीण एशियाली लगायत १९ वटा भाषाहरूमा बीबीसीले यस्ता सामाग्रीहरू सार्वजनिक गरिसकेको छ।
बीबीसीका पत्रकारहरुको लामो अनुभव र विशेषज्ञता तथा विज्ञहरुको सहयोगमा तयार पारिएका यी सहायक सामाग्रीहरु सन्सारभरीका नेपालीभाषी पत्रकारहरूसँग बाँड्न पाउंदा हामीलाई खुशी लागेको छ।
यो हाम्रो प्रयासको एउटा प्रारम्भिक कदम मात्र हो।
यी पृष्ठहरुमा थप सामग्रीहरू प्रस्तुत गर्ने हाम्रो प्रयास जारी रहने छ।
भाषा आधारभूत सञ्चार माध्यम हो। छापा र विद्युतीय भन्ने प्राविधिक वर्गीकरण मात्र हो, सञ्चारको वास्तविक माध्यम त भाषा नै हो ― चाहे लेखियोस् वा बोलियोस्।
भाषाको यही महत्वलाई ध्यानमा राखेर बीबीसी पत्रकारिता पाठशाला (BBC College of Journalism) ले बीबीसी विश्व सेवाका भाषा शाखाहरुका लागि पत्रकारितामा भाषाको प्रयोगका बारे विशेष सामाग्रीहरू तयार गर्ने निधो गरेको हो।
नेपाली सेवाको वेबसाइटको यो खण्डमा प्रस्तुत सामाग्रीमा समाचार लेखनका संपादकीय पक्षहरू भन्दा पनि भाषागत पक्षहरुका बारे चर्चा गरिएको छ।
यहाँ प्रस्तुत सामग्री हाम्रो भाषा पुस्तकका लेखक पत्रकार तथा भाषाविद् शरदचन्द्र वस्तीको सहयोगमा तयार पारिएको हो।

बीबीसी पत्रकारिता पाठशाला तथा विश्व सेवा दक्षीण एशियाली भाषाहरू नेपाली, बंगाली, हिन्दी, तामिल, सिंहल र उर्दुमा पत्रकारितामा भाषाको प्रयोगका बारे विशेष सामाग्रीहरू प्रस्तुत गर्न पाएकोमा गर्व गर्दछ।

दक्षीण एशियाली लगायत १९ वटा भाषाहरूमा बीबीसीले यस्ता सामाग्रीहरू सार्वजनिक गरिसकेको छ।

बीबीसीका पत्रकारहरुको लामो अनुभव र विशेषज्ञता तथा विज्ञहरुको सहयोगमा तयार पारिएका यी सहायक सामाग्रीहरु सन्सारभरीका नेपालीभाषी पत्रकारहरूसँग बाँड्न पाउंदा हामीलाई खुशी लागेको छ।

शब्दाडम्बरबारे नेपाली सेवाका प्रमुख रवीन्द्र मिश्रको भनाइ।
नचाहिने शब्दको भारी वाक्यलाई कहिल्यै नबोकाउनुहोस्। त्यसले भनाइलाई बोझिलो र प्रभावहीन पार्छ:

• मैले तीन महीनाको अवधिमा १२ जनाको अन्तर्वार्ता लिएँ।
'तीन महीना' भनेकै अवधि हो। त्यसैले 'तीन महीनामा' मात्र भने पुग्छ।

• ४० जनाको संख्यामा विद्यार्थीहरू फेल भएका थिए।
'को संख्यामा' चाहिंदैन। '४० जना' भनिसकेपछि 'हरू'पनि भनिरहनुपर्दैन, स्वत: बुझिन्छ।

• डाँकाहरूद्वारा तीन जनाको अमानवीय हत्या, दुई महिलाको पाशविक बलात्कार।
'अमानवीय' को काम छैन किनभने निर्दोष मानिसको हत्या कहिल्यै मानवीय हुँदैन। त्यस्तै,'बलात्कार' भनिसकेपछि 'पाशविक' भन्नुपर्दैन।

(बलात्कार मानिसले मात्र गर्छ, पशुले गर्दैन। 'पाशविक' भनेर पशुहरूमाथि किन अन्याय गर्ने?)

 ब्यर्थको बोझले किचिएपछि वाक्य थला पर्छ। बोझ हटाइदिनुहोस्


• सरकारका गृहमन्त्रीले बाढीग्रस्त क्षेत्रको भ्रमण गर्नुभयो।
'गृहमन्त्री' सरकारकै हुन्छ। त्यसैले 'सरकारका' चाहिएन।

• उहाँले कारखानाको स्थलगत निरीक्षण गर्नुभयो। सो अवसरमा नयाँ मशीनको प्रयोगात्मक परीक्षण गरियो।
कारखानाको निरीक्षण स्वतः 'स्थलगत' नै हुन्छ। मशीनको परीक्षण भनेपछि 'प्रयोगात्मक' भन्ने स्वतः बुझिन्छ। त्यसैले यी दुबै शब्द आवश्यक छैनन्।

• प्रदर्शनकारी र प्रहरीबीच दोहोरो भिडन्त।
'दोहोरो' अनावश्यक। भिडन्त भन्ने कुरा सधैं दुई पक्षबीच अर्थात् दोहोरो नै हुन्छ। त्यसमाथि, दुई पक्षको किटान गरेर तिनीहरूबीच भनिसकेपछि दोहोरोपन झन् स्पष्ट भैसकेको छ।

• शहीदहरूलाई मरणोपरान्त सम्मानित गरिएको छ।
'मरणोपरान्त' भनिरहनुपर्दैन। मानिस मरणोपरान्त नै शहीद हुन्छ।

• खोज्दै जाँदा चार जनाको मृत लाश फेला पर्‍यो।
'मृत' को काम छैन।
• जनताको जनादेशको सम्मान हुनुपर्छ।
'जनादेश' भनेकै जनताको आदेश हो। त्यसैले 'जनताको' चाहिएन।

• उनको प्रतिभाको सही सदुपयोग हुन सकेको छैन।
'सदुपयोग' अर्थात् सही उपयोग। त्यसैले 'सही' भनिरहनुपर्दैन।

• मंचमा चढेर एउटा पनि गीत गाउन नसकेपछि नरेश हास्यास्पदको पात्र हुन पुग्यो।
'हास्यास्पद' भनेकै हाँसोउठ्दो वा हाँसोको पात्र हो। त्यसैले 'पात्र'चाहिंदैन।

• दुवै जना उनको कोपभाजनका शिकार हुन पुगे।
'कोपभाजन' को अर्थ हो - कोपको भागी अर्थात् क्रोधको शिकार। त्यसैले 'कोपभाजन हुन पुगे' भने पुग्छ। नत्र 'क्रोधको शिकारका शिकार हुन पुगे' भन्ने अर्थ निस्कन्छ।

• राम तुलनात्मक रूपमा श्यामभन्दा परिश्रमी छ।
'तुलनात्मक रूपमा' चाहिंदैन। 'श्यामभन्दा बढी' ले तुलनात्मकता स्वतः बुझाउँछ।

• दुई वर्षभित्र कम्प्युटर शिक्षाको पर्याप्‍त विस्तारीकरण भएको छ।
'विस्तार भएको छ।'

 अनावश्‍यक प्रत्यय, विभक्ति, नामयोगी, क्रियायोगी आदिबाट जोगिनुहोस्


• राजनीतिक घटनाक्रममा हुँदै आएको उथलपुथल र परिवर्तनले देशलाई लोकतन्त्रको राजमार्गमा ल्याइपुर्‍याएको छ।
'राजनीतिमा हुँदै आएको उथलपुथलले देशलाई...'

ब्यर्थको बोझले किचिएपछि वाक्य थला पर्छ। बोझ हटाइदिनुहोस्:

• हाल विद्यालय जान नसकिने अवस्था विद्यमान छ।
'आजभोलि विद्यालय जान सकिंदैन' भने पुग्छ।

• गैरजिम्मेवारीपूर्ण वक्तव्यको परिणामस्वरूप जनतामा उत्तेजना व्याप्‍त हुन पुग्यो।
गैरजिम्मेवार वक्तव्यका कारण जनता उत्तेजित भए।'

• झापामा विद्यमान खेतीयोग्य जमीनमा धानको राम्रो उत्पादन हुन्छ।
'झापामा प्रशस्त धान फल्छ।'

• ऊ त्यति धेरै दिनहरूमा ठीक समयमा उपस्थित हुन सकेको थिएन।
'ऊ प्राय: ढीलो आउँथ्यो।'

• ड्राइभरहरूको आन्दोलन निरर्थक देखिन थालेको तथ्यमा दुई मत हुन सक्तैन।
'...निरर्थक देखिन थालेको छ।'

• यस वर्ष अत्यधिक वर्षाका कारणले गर्दा धानको खेतीलाई बढीसेबढी नोक्सान हुन पुगेको कुरामा दुई मत हुन सक्दैन।
'यस वर्ष धेरै पानी परेकाले धानबाली निकै नोक्सान भएको छ।'

• तत्कालीन परिस्थितिमा इतिहास विषयमा अध्ययनलाई अघि बढाउनु भविष्यमा रोजगारीका लागि त्यति उपयुक्त हुन नसक्ने मेरो सोचाइ रह्यो।
'त्यसवेला मैले इतिहास पढेर जागिर पाइँदैन भन्ने ठानें।'

• वर्तमान परिप्रेक्ष्यमा जहाँसम्म अनुशासनको सवाल छ, हाम्रा शिक्षण संस्थाहरूमा अध्ययनरत अधिकांश विद्यार्थीवर्गमा अनुशासनको उपयुक्त मात्रा विद्यमान नरहेको अवस्थालाई आज कसैले पनि नकार्न नसक्ने वस्तुतथ्य हामी सबैसामु छर्लङ्गै छ।

'आजभोलि विद्यार्थीहरू त्यति अनुशासित छैनन्' भन्दा बढी यस वाक्यमा केही भनिएको छैन।

अनावश्‍यक प्रत्यय, विभक्ति, नामयोगी, क्रियायोगी आदिबाट जोगिनुहोस्:

• आपसमा वैमनस्यता होइन सामञ्जस्यता बढोस् भनेर हामीले गाम्भीर्यतापूर्वक प्रयास गर्नुपर्छ।
वैमनस्य, सामञ्जस्य, गाम्भीर्य मात्र भने पुग्छ,'ता' लगाउनुपर्दैन।

 स्पष्‍टताको मूल्यमा शब्द घटाउन वा वाक्य छोट्याउन भने हुँदैन


यस्तैः माधुर्य, चातुर्य, सौन्दर्य, धैर्य, बात्सल्य, प्राधान्य, बाहुल्य, सामर्थ्य, आधिक्य, ऐक्य, साम्य, औचित्य, सौजन्य, तादात्म्य, आतिथ्य, नैराश्य, सामीप्य, सान्निध्य जस्ता शब्दमा पनि 'ता' लगाउन हुँदैन। त्यसो गर्दा अशुद्ध हुन्छ।

• सरकारमा देशप्रति बफादारिता र जनताप्रति जबाफदेहिता हुनु जरूरी छ।
यहाँ पनि 'बफादारी' र 'जवाफदेही' भने पुग्छ,'ता' लगाउनुपर्दैन।
यसै गरी इमानदारी, जिम्मेबारी, बेरोजगारी जस्ता शब्दमा पनि 'ता' थप्नु गल्ती हुन्छ।

• उहाँले मेरो प्रस्तावलाई स्वीकार गर्नुभयो।
— रेखाचित्र मार्फत आफ्ना भावनालाई व्यक्त गर्न उनी सिपालु छिन्।
दुवै वाक्यमा 'लाई' को काम छैन।

• अध्ययनलाई आफ्नो अहङ्कार बढाउनमा प्रयोग नगर।
'मा' चाहिंदैन।

• म तपाईंहरूको मागमाथि पुनर्विचार गर्छु।
— समस्या समाधान गर्ने जिम्मेवारी शिक्षकमाथि रहेको छ।
दुवै वाक्यमा 'माथि' को सट्टा 'मा' राख्‍नु राम्रो हुन्छ।

• सम्पूर्ण विद्यार्थीहरू दुइटा हलहरूमा अटाएनन्।
दुवै 'हरू' को काम छैन।

सँगसँगै आएका अन्य शब्द वा प्रसङ्गले एकभन्दा बढी / धेरै भन्ने अर्थ स्वतः स्पष्ट हुन्छ भने त्यहाँ 'हरू' को बोझ बोकाउनुहुँदैन। सोचाइ, भावना, रचनात्मकता जस्ता भाववाचक शब्दमा पनि सामान्यतः 'हरू' लगाइरहनुपर्दैन।

• तामाङ समुदायले स्वायत्तताको माग गरेका छन्।
— उत्तेजित भीडले प्रहरीमाथि ढुंगा प्रहार गरे।
समुदाय, भीड, समूह, जुलुस जस्ता शब्द समूहवाचक हुन्। एकवचनमा रहेर नै यिनले धेरै भन्ने अर्थ बुझाउँछन्। त्यसैले यिनमा बहुवचनको क्रियापद लगाउनुपर्दैन। '...स्वायत्तताको माग गरेको छ', '...ढुंगा प्रहार गर्‍यो' भन्नुपर्छ।

स्पष्‍टताको मूल्यमा शब्द घटाउन वा वाक्य छोट्याउन भने हुँदैन:

• मैले दुई सयको टिकट किनें।
'दुई सय' भनेको के ? भन्नुपर्छ ― 'दुई सय रुपैयाँको ।'

• नार्कका दुई वैज्ञानिक हिजो अमेरिकातर्फ लागेका छन्।
के हो 'नार्क' भनेको ? श्रोताले कसरी बुझ्ने? त्यसैले शुरुमा एकचोटि भन्नैपर्छ ― 'राष्ट्रिय कृषि अनुसन्धान परिषद - नार्क ।'

• पीपीआरबाट खसीबाख्राको मृत्यु ।
'पीपीआर नामक रोगबाट खसीबख्राको मृत्यु ।'

• कब्जा सम्पत्ति चाँडै फिर्ता गरिने।
'कब्जा सम्पत्ति' बाट कुरो बुझिंदैन। भन्नुपर्छ ― 'कब्जा गरिएको सम्पत्ति चाँडै फिर्ता गरिने।'

• सडक अवरुद्ध स्थानमा रेस्टुराँ नहुँदा यात्रुहरू थप अपठ्यारोमा परेका छन्।
भन्नुपर्छ ― 'सडक अवरुद्ध भएको स्थानमा.....'


 साहित्य र पत्रकारिताको भाषा फरक हुन्छ किनभने दुवैको उद्देश्य तथा प्रकृति फरक छ।

साहित्यको सृजना मूलतः आत्माभिव्यक्ति र आत्मसन्तुष्‍टिका निम्ति गरिन्छ भने पत्रकारिता लक्षित समूह वा आम जनतासम्म सूचना तथा विचार सम्प्रेषणका लागि गरिन्छ र उनीहरूकै सन्तुष्‍टि यसको लक्ष्य हुन्छ।

साहित्य कल्पनाको संसार हो, पत्रकारिता यथार्थको सञ्चार:

साहित्यकार आफ्नो मर्जी अनुसार चल्ने भएकाले उसले भाषामा अनेक प्रयोग गर्न सक्छ, विशेषण र अलंकारको लर्को लगाउन सक्छ अनि व्याख्यात्मक―सूत्रात्मक, घुमाउरो―जटिल जुनसुकै शैली समात्‍न सक्छ।

पत्रकारिता भने आम पाठक/दर्शक/श्रोताको मर्जीलाई सर्वोपरि मान्दै, कुनै पनि किसिमको लहडी प्रयोगबाट मुक्त सोझो, सपाट र स्पष्‍ट―सरल―सम्प्रेषणीय भाषा―शैली मार्फत अघि बढ्छ। बढ्नुपर्छ।

• "भोक, प्यास र निद्राले पानीको चुटाइमा लुत्रुक्क परेको बाघजस्तो म मरेको बिरालो काखी च्यापेर ठिमीको उकालो हिंड्न बाध्य भुच्चुक जस्तै भएर उहाँहरूको डेराभित्र लोथ्रयालोथ्रयाक पस्न पुगें।"

डा. तारानाथ शर्माको 'पाताल प्रवास' बाट उद्धृत यो वाक्यांश साहित्यिक शैलीबाट पत्रकारिताको शैलीमा ल्याउँदा यस्तो हुन पुग्छ:

 पत्रकारिता भने आम पाठक/दर्शक/श्रोताको मर्जीलाई सर्वोपरि मान्दै, कुनै पनि किसिमको लहडी प्रयोगबाट मुक्त सोझो, सपाट र स्पष्‍ट―सरल―सम्प्रेषणीय भाषा―शैली मार्फत अघि बढ्छ। बढ्नुपर्छ


म भोक, प्यास र निद्राले लखतरान भएर उहाँहरूको डेरामा पुगें।

• "न्यूयोर्क महानगरी पुग्न लाग्दा हडसन नदी पारि चित्रमा देखे जस्तै तर औधि छोइने पाराले म्यानह्याटन देखियो। म्यानह्याटन न्यूयोर्कको केन्द्र हो।

"त्यसको मध्य भागमा गोलाकारमा चुच्चिंदै गएको विश्‍वप्रसिद्ध एम्पायर स्टेट बिल्डिङ, पुछारमा आकाशै छेडौंला जस्तो उचालिएका जम्ल्याहा वर्ल्ड ट्रेड सेन्टर र जताततै अरू गगनचुम्बी भवनहरू तँछाड र मछाड गर्दै उचालिएका थिए।

"भवन निर्माण कलाको सम्पूर्ण सीप खन्याएर उभ्याइएको विश्‍वको राजधानी न्यूयोर्कलाई वास्तविक रूपले आफ्ना आँखाले पिउन पाउँदा म गद्‍गद् भएँ।

"आकाशबाट ठ्याक्क दूरी मिलाएर खिचेको चित्र भन्दा पनि राम्रो जिउँदो म्यानह्याटन मध्यान्ह पछिको न्यानो घाममा अपूर्व सुन्दरता बोकेर त्यसै त्यसै मडारिएको जस्तो मलाई लाग्यो। ...संसारमा यति राम्रो शहर अरू छैन।

"संसारमा यति धेरै मान्छेहरू एक ठाउँ भेला कतै हुँदैनन्। संसारमा यसरी फैलिएको शहर अरू कुनै छैन। संसारमा यति थुप्रै गगनचुम्बी महलहरू कुनै शहरमा पनि छैनन्।

"मर्नुभन्दा अगाडि एकपल्ट मलाई न्यूयोर्क अँगाल्ने रहर थियो र आज त्यो पूरा हुँदै थियो।"

उही पुस्तकबाट उद्धृत, पहिलोपल्ट न्यूयोर्क पुग्न लाग्दाको यो शब्दचित्र पत्रकारिताको भाषामा प्रस्तुत गर्दा यस्तो हुन जान्छ:

न्यूयोर्क पुग्नु अघि टाढैबाट त्यसको केन्द्र म्यानह्याटन देखियो। गगनचुम्बी भवनहरूले भरिएको त्यस ठाउँको बीचमा एम्पायर स्टेट बिल्डिङ र पुछारमा वर्ल्ड ट्रेड सेन्टरका जम्ल्याहा भवन सबैभन्दा अग्ला देखिन्थे। न्यूयोर्क संसारको सबैभन्दा राम्रो, ठूलो र व्यस्त शहर हो। त्यहाँ घुम्ने मेरो रहर आज पूरा हुँदै थियो।

 यो फिल्ममा बीबीसीका विशेष संवाददाता एलन लिटलले स्पष्ट र आधिकारिक रेडियो लेखनबारे उनको धारणा प्रस्तुत गरेका छन्।

उनका अनुसार खासगरी दुईवटा बुँदामा ध्यान दिनुपर्छ: के भन्ने हो त्यसमा स्पष्टता हुनुपर्यो; र त्यसलाई सरल भाषामा भन्न जान्नुपर्यो।

एलन भन्छन् यदि तपाईं राम्रो लेख्‍न चाहनुहुन्छ भने तपाईंले धेरै पढ्नु पर्छ र जे जति पढ्नु हुन्छ ती सबैमा कस्तो भाषाको प्रयोग उपयुक्त र कस्तो चाहीँ अनुपयुक्त हुँदोरहेछ, विशेष ध्यान दिनुपर्छ।

तपाईंले के उद्देश्य हासिल गर्न खोजेको हो भन्नेमा पनि प्रष्ट हुन जरुरी छ: घट्नाको वर्णन गर्दा, वातावरणको चित्रण गर्दा र जटिल विषयलाई प्रस्तुत गर्दा, सबैको आ-आफ्नै शैली हुन्छ।

 

Comments

Popular posts from this blog

भीम दाहालको उपन्यास ‘अभीष्टको खोज’- कृतिपरक अध्ययन- नवीन पौड्याल

मौरी पालन- अनुवाद