जोखिम नियन्त्रणका निम्ति थप पहल गर्न आवश्यक



जोखिम नियन्त्रणका निम्ति थप पहल गर्न आवश्यक
पूर्व सिक्किमको रोलेपमा जुन दुर्घटना भयो यसलाई भुइँचालोपछिको पहिलो भारी वर्षाका कारण भारी नोक्सानी भएको मान्न सकिन्छ। हुन त भारी वर्षाका कारण उत्तर सिक्किममा पनि धेरै घरहरू क्षतिग्रस्त बनेका छन्‌। पूर्व कै कुरा गर्नुपर्दा विभिन्न स्थानमा पैह्रोको कारण सडक मार्ग अवरुद्ध बनेको छन्‌। यही क्रम उत्तरमा पनि व्याप्त छ। यसरी नै पश्चिम जिल्लामा पनि पैह्रोको कारण धेरै स्थानमा सडक मार्ग अवरुद्ध बनेका छन्‌। दक्षिणमा हावा-हुण्डरी र भारी वर्षाका कारण धेरै स्थानमा बिजुलीको लाइन क्षतिग्रस्त बनेको कारण केही दिन नाम्ची बजार र वरपर अँध्यारो रह्यो। तर जुन क्षति पूर्वको रोलेपमा भयो जहॉं सात जनाले आफ्नो ज्यान गुमाए त्यस्तो  अहिले अन्य जिल्लामा भएको छैन।
सिक्किमको भौगोलिक स्थिति नै यस्तो छ, जहॉंकुनै पनि बेला प्राकृतिक प्रकोपको सामना गर्नुपर्ने स्थिति आउनसक्छ। तर महत्वपूर्ण विषय के छ भने वर्षा लागेपछि विशेष ग्रामीण क्षेत्रमा बसोबासो गर्ने अधिकांश जनता त्रसित बन्नुपर्ने स्थिति वर्षौं पुरानो बिमारी बनेको छ। एकातर्फ गत वर्ष सितम्बर महिनाको भुइँचालोको त्रास भुल्दै गरेको स्थितिमा पैह्रोको त्रासले पुनः ग्रामीण क्षेत्रमा बस्ने नागरिकहरूको निद्रा खोसिएको छ।
एक त सिक्किमको भौगोलिक बनावट नै यस्तो छ जसले कुनै पनि समय प्राकृतिक आपदाको सामना गर्नुपर्ने स्थिति आइपर्छ भने भुइँचालोले यसलाई अझ संवेदनशील बनाइदिएको छ। दोस्रो  सडक निर्माणबाट निस्किएको ढुङ्गा माटोलाई सही स्थानमा जम्मा नगर्नु, सडक बनाएपछि सुरक्षा पर्खाल नबनाउनु, भल निकासीका निम्ति सही नाला प्रबन्धन नहुनु जस्ता समस्याहरू देखिँदैछ। राष्ट्रिय स्तरको पूर्वाधार विकासमा यही समस्या देखिँदैछ। पाकिम हवाई अड्डा निर्माण कार्यबाट उत्पन्न हुने भलले पनि सडक मार्गसित निजी सम्पत्तिलाई समेत क्षति पुऱ्याएको विषय प्रकाशमा आइसकेको छ। यो स्थिति अहिले राज्यको हरेक स्थानमा देख्नसकिन्छ।
प्राकृतिक प्रकोप भन्ने विषयलाई रोक्न सकिन्न। यद्यपि केही सुरक्षात्मक उपायहरू अपनाउन सके अधिक क्षति र ज्यान बचाउन सकिन्छ। यसरीनै मानव कार्यद्वारा सृजना हुने आपदालाई पनि पूर्णरूपले रोक्न नसके पनि यसलाई नियन्त्रणमा ल्याउन सकिन्छ। राज्यमा वर्षौंदेखि प्राकृतिक आपदा, विशेष पैह्रोका कारण वर्षैपिछे अकालमा मृत्यु हुने घटनाको रेकर्ड छ। यस्तो स्थितिमा पुनः एकपल्ट आपदा प्रबन्धन र जोखिम नियन्त्रण विषय राज्यले गहन अध्ययन र अनुसन्धान गर्ने आवश्यकता देखिन्छ। ग्रामीण क्षेत्रमा नै पैह्रोको अत्याधिक क्षति भइरहेको छ। यस्तो स्थितिमा ग्रामीण प्रबन्धन एवं विकास विभागले, भू-राजस्व एवं आपदा प्रबन्धन विभाग, भूगर्भ विज्ञान विभागसहित अन्य विभागहरूसित समन्वय बनाएर कार्य शुरु गर्न आवश्यक देखिन्छ। भू-वैज्ञानिकहरूको सम्भावित भविष्यवाणीलाई मान्नु हो भने भुइँचालोको दृष्टिले सिक्किम राज्यको संवेदनशीलता अझ बढेर गएको छ। यस्तो स्थितिमा भविष्यमा हुने क्षति र जोखिमलाई आजदेखि नै सतर्क भएर नियन्त्रण र कम गर्ने विषयमा सोच्नु महत्वपूर्ण मात्र नभएर बुद्धिमता पनि हो।
शुरुवाती चरणमा सरकारले पैह्रोको दृष्टिले संवेदनशील रहेका घरको सर्वेक्षण गर्नु र यसको समाधान खोज्नुपर्ने विषय अर्को महत्वपूर्ण विषय छ। जसरी धराप रुखहरूलाई काटेर वन-विभागले जोखिम नियन्त्रण गर्न पहल शुरु गरेको छ- यसलाई अन्य क्षेत्रमा अनुकरण गर्न सकिन्छ। दोस्रो भुइँचालोले क्षतिग्रस्त बनाएका घरसितै गरीब जनताको पक्का घर बनाउने कार्य भइरहेको छ। यी घरहरूको निर्माण गर्दा पनि सुरक्षित स्थान सुनिश्चित गर्न आवश्यक छ। हालैको पैह्रोले निर्माणाधीन मुख्यमन्त्री ग्रामीण आवासलाई पनि क्षति पुऱ्याएको छ, यसले गरीबको भाग्योदय हुन अझै प्रतीक्षा गर्नुपर्ने स्थिति आइपरेको छ। यसरी नै आपदा प्रबन्ध पनि जोखिम नियन्त्रण विषय व्यापक जनजागरण गराउने वर्तमानको आवश्यकता देखिँदैछ। सरकारले यसलाई पर्यावरण संरक्षण अथवा पर्यावरण विज्ञानको पाठ्यक्रममा पनि विशेष महत्वका साथ सामेल गरे सबैका निम्ति लाभदायक हुनेछ।

Comments

Popular posts from this blog

भीम दाहालको उपन्यास ‘अभीष्टको खोज’- कृतिपरक अध्ययन- नवीन पौड्याल

मौरी पालन- अनुवाद