सिक्किमलाई पछ्याउँदैछन् देशका ठूला राज्यले
गुट्का, पान मसला, पान पराग आदिको सेवन प्रौढको तुलनामा विद्यार्थीहरूले अधिक गर्ने गरेको पनि एउटा अध्ययनले पुष्टि गरेको छ। आजका विद्यार्थीनै देशको भविष्य हुन् तर यी देशका भविष्य मानिने विद्यार्थीले दिनौं स्वास्थ्यको निम्ति घातक पदार्थको सेवन गर्न देशको निम्ति खतरा हो भन्ने विषयलाई आज देशका अधिकांश राज्यले स्वीकार गर्दै आएका छन्।
यहॉं महत्वपूर्ण विषय के छ भने सिक्किम सरकारले २७ मार्च २००२-मा नै खाद्य अपमिश्रण ऐन, १९५४ (३४)-को आधारमा सिक्किम खाद्य अपमिश्रण ऐन १९९१-लाई संशोधन गर्दै राज्यमा गुट्का अथवा सुर्तीजन्य पदार्थको बेच-विखानमा पूर्णरूपले प्रतिबन्ध लगाएको छ। यसरी नै सरकारले २ अक्टोबर २००८-देखि सार्वजनिक क्षेत्रमा धुम्रपान गर्न निषेध गर्ने विषयलाई पनि प्रभावकारी ढङ्गमा कार्यान्वयन गरेको छ। यस अतिरिक्त सम्बन्धित ऐनविरुद्ध जाने व्यापारीलाई पहिलोपल्ट पक्राउ परेको खण्डमा रू. ५००/- जरिमाना, दोस्रोपल्ट दोब्बर जरिमाना साथै व्यापार लाइसेन्स जफत् गरिने प्रावधान पनि छ। यद्यपि कतिपय समाजविरोधी तत्त्वहरूले यस कल्याणकारी पहललाई निष्क्रिय बनाउने पहलसमेत गर्ने गरेको घटना वर्तमानमा देखिने गरिन्छ।
राष्ट्रिय राजधानी दिल्लीमा पनि अब सुर्तीजन्य पदार्थ गुटका बेच्न प्रतिबन्ध लगाइएको छ। मानव विशेषगरी बाल-बालिकाको स्वास्थ्यको निम्ति यी सुर्तीजन्य पदार्थ धेरै घातक रहेको स्वास्थ्य विशेषज्ञहरूको दाबीलाई ध्यानमा राख्दै दिल्ली सरकारले गुट्का प्रतिबन्ध लगाउने निर्णय लिएको छ। सरकारले जुन निर्णय लिएको छ, त्यो ढिलो भए पनि स्वागतयोग्य मान्नुपर्छ। विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले वर्ष २००१-मा भारतलाई स्वास्थ्यको क्षेत्रमा सतर्क गराउँदै, भारतमा सूर्तीजन्य पदार्थको बेच-विखन तथा उद्योगबाट जति आय हुन्छ, त्यसभन्दा दोब्बर खर्च सुर्तीजन्य पदार्थबाट उत्पन्न हुने घातक रोग क्यान्सरको उपचारका निम्ति खर्च हुने बताएको थियो। यहॉं उल्लेखनीय विषय के रहेको छ भने भारतमा धेरैजसो क्यान्सरका रोगी सूर्तीजन्य पदार्थले नै हुने गरेको र यसको उपचारमा करोडौं रुपियॉं खर्च गरेर रोग निको नहुनेहरूको प्रतिशत अधिक छ। यसरी नै सूर्तीजन्य पदार्थ जस्तै, पान पराग, पान मसाला, तुलसी सिक्किमको तुलनामा अन्य राज्यका बुद्धिजीवीहरूले आफ्नो राज्यमा सूर्तीजन्य पदार्थलाई प्रतिबन्ध लागउन धेरै सङ्घर्ष गर्नुपरेको पनि देखिन्छ। यद्यपि भौगोलिक रूपमा सिक्किम सानो भए पनि सिक्किमले स्वास्थ्य र पर्यावरणको क्षेत्रमा दशकौं अघि शुरु गरेका कार्यक्रमलाई आज देशका ठूला राज्यहरूले अनुकरण गर्दै आएका छन्, यो सिक्किमका निम्ति गौरवको विषय मान्नुपर्छ। अवश्य नै सिक्किमले देशमा पहिलोपल्ट सूर्तीजन्य पदार्थको बेच-बिखानमा प्रतिबन्ध लगाएको थियो- यसपछि अहिले गुजरात र दिल्ली सरकारले पनि प्रतिबन्ध लगाउने निर्णय लिएको छ। यसरी नै यी दुइ राज्यबाहेक उत्तर प्रदेश, पञ्जाब, हरियाणा, राजस्थान, बिहारसमेत पूर्वोत्तरका अन्य राज्यले पनि गुट्काको बेचबिखानमा प्रतिबन्ध लगाइसकेका छन्।
अर्को महत्वपूर्ण विषय के छ भने सिक्किम सरकारले मानव स्वास्थ्यपछि पर्यावरणलाई स्वच्छ राख्ने उद्देश्यमा प्लास्टिक (पोलिथिन) को प्रयोगमा पनि प्रतिबन्ध लगाइसकेको छ। राज्यका मुख्यमन्त्री पवन चामलिङले वर्ष १९९४-मा सिक्किमको सत्ता सम्हालेपछि अर्थात् वर्ष १९९६ देखि नै राज्यमा प्लास्टिकको प्रयोग गर्ने प्रतिबन्ध लगाउने निर्णय लिएका थिए। जब सन् १९९६ मा गान्तोकको सिच्छेमा विषम पैह्रो गयो, त्यसको मूल कारण पोलिथिन ब्यागको प्रयोग नै भएको ठहर गर्दै पोलिथिनको प्रयोगले पर्यावरणको विनाश गर्दछ भन्ने सन्देश सिक्किमभरि फैलिएपछि आज यसको प्रयोगमा पूर्ण प्रतिबन्ध सम्भव भएको छ। पर्यावरणको संरक्षणमा पोलिथिनको प्रयोग निषेध गर्ने विषयलाई पनि स्वीकार्दै भारतका अन्य राज्य अनुकरण गर्न आज सङ्घर्षरत् छन्।

Comments

Popular posts from this blog

भीम दाहालको उपन्यास ‘अभीष्टको खोज’- कृतिपरक अध्ययन- नवीन पौड्याल

मौरी पालन- अनुवाद