अपराध नियन्त्रण गर्न आवश्यक


सिक्किम देशको सबैभन्दा शान्तीपूर्ण राज्यको रूपमा स्थापित छ। विगत केही दशकदेखिनै सिक्किममा शान्ति कायम रहेको कारण अन्तरराष्ट्रिय सीमा राज्यमा पनि शान्ति कायम हुनसक्छ भने कुरालाई सिक्किमले प्रमाणित गरेको छ। तर यो शान्तिलाई निरन्तर दिन सकिन्छ भन्ने कुरा अहिले केही घटनाहरूले प्रश्‍न उठाएको छ। विशेष राज्यमा व्यापक रूपमा सामाजिक अपराधका घटनाहरू बढ्दै जानु एउटा चिन्ताको विषय बनेको छ। सडक किनारमा राखेका वाहन बिहान उठेर हेर्दा नहुनु, धेरै सङ्ख्यामा मोटर वाइक र वाहनहरू हराउनु, वाहन राखेको ठाउँमा तोडफोड गर्नु वा आगो सलकाउनु, मादक पदार्थको अवैध कारोबार निरन्तर बढ्दै जानु, चोरीका घटनाहरू बढ्नु जस्ता कुराले सिक्किमको सामाजिक जनजीवनमा अशान्ति सृजना गर्नसक्छ भन्ने कुरा नकार्न सकिँदैन।
हालैमा सिक्किममा वाहन चोरीको घटना बढ्दै गएको कुरा प्रकाशमा आएको छ। विशेष पार्किङको अभावमा सडक किनारमा राखिएको वाहनलाई कुनै पनि समयमा चोरले उठाउने आशंका बढेको छ। राज्यमा बाहिरबाट कामको खोजीमा सिक्किम आउनेले कतिपय स्थानीयलाई समेत संलग्न गराएर छोटो समयमा नै धेरै धन कमाउने लालचमा पनि अपराधका घटनालाई परिणाम दिइरहेको कुरा पनि प्रकाशमा आएको छ। राज्यको चेकपोष्टमा सुरक्षा व्यावस्था ठीक छ के? भन्ने प्रश्‍न पनि उठेको छ।
यस्तो स्थितिमा अपराधका घटनालाई नियन्त्रण गर्ने विषयसित सम्बन्धित नियम कानूनमा सरकारले एकपल्ट गम्भीर भएर समीक्षा गर्न आवश्य देखिन्छ। वाहनहरूको व्यवस्थित पार्किङका निम्ति पेड पार्किङ स्ट्यान्डहरूको ठाउँ-ठाउँमा निर्माण गरिनुपर्ने, राज्य बहिराबाट कामको खोजीमा सिक्किम आउनेलाई अनिवार्य इनरलाइन पर्मिट जारी गर्नुपर्ने, किरायको घरमा बस्ने किरायदारहरूको पञ्जीकरण अनिवार्य सम्बन्धित क्षेत्रको थानामा गराउनुपर्ने, चेकपोस्टहरूमा सीसीटीभी प्रणाली मार्फत सुरक्षा गर्न उपयाहरूलाई सुनिश्‍चित गर्दै तकनिकी र मानव सुरक्षा दुवैलाई प्रथमिकता दिनुपर्ने, घरमा धेरै नगद र गहना नराखेर ब्याङ्कमा सुरक्षित बचत गर्ने विषयमा जागरुक गराउने विषय पहल गर्नुपर्ने अवश्यकता देखिन्छ। अपराधीहरूका निम्ति वैकल्पिक मार्गहरू पनि छन् त? यस विषयमा पनि गहन अध्ययन गरिनुपर्ने अवश्यकता देखिन्छ।
पुलिस प्रशासनले सक्रिय भएर कार्य गर्नसक्छ भन्ने कुरा कतिपय कठिन अपराधको गहन जाँच गरेर सकारात्मक परिणाम दिरहेको विषयले स्पष्ट गर्दछ। पुलिसलाई आवश्यक अत्याधुनिक उपकरण मार्फत सशक्त बनाइए पनि धेरै अपराधलाई नियन्त्रित गर्न सकिन्छ भन्ने कुरालाई सबैले स्वीकार गरेका छन्। सिक्किममा शान्ति र नागरिकहरूको सुरक्षालाई सुनिश्‍चित गर्न सरकारले गरेको प्रयासलाई विफल बनाउन के-कस्ता शक्ति सक्रिय हुँदैछन्? त्यस विषयमा पनि गहन अध्ययनको तन्त्र विकासित गर्न आवश्यक छ। कतिपय अपराधीले सिक्किमलाई सुरक्षित लुक्ने स्थान बनाउने गरेको कुरा यस अघि पनि प्रकाशमा आइसकेका छन्। छोटो समयमा धेरै धन कमाउने लालच दिएर फर्जी वित्तीय कम्पनीहरूले पनि सिक्किमका नागरिकबाट करोडौं रुपियाँ लुटे। अहिले अपराधीहरूले अचल सम्पत्तिनै लुट्ने जमर्को शुरू गरेका छन्। यस विषयमा नागरिकलाई सर्तक गराउन ग्राम प्रशासन स्तरमा पनि जनचेतना अभियान चलाउन अवश्यक देखिन्छ।

Comments

Popular posts from this blog

भीम दाहालको उपन्यास ‘अभीष्टको खोज’- कृतिपरक अध्ययन- नवीन पौड्याल

मौरी पालन- अनुवाद