ठूलो अलैंची सङ्कटमा


जलवायु परिवर्तनको प्रभाव, अनुसन्धानका निम्ति आवश्यक स्थानको अभाव, अनुसन्धानकर्ता तथा वैज्ञानिकहरूको अभाव, गुणस्तरी अलैंचीको विरूवा उपलब्धताको अभाव, सम्बन्धित विभागमा तालमेलको अभाव बाहेक अन्य धेरै लुकेका समस्याहरूका कारण ठूलो अलैंची अहिले सङ्कटमा छ।
सिक्किमको कृषि राष्ट्रियस्तरमा चर्चामा छ। जैविक अभियानको सफलताको कुरा देशको संसदमा गुञ्जिएको छ। सिक्किमका कृषकहरू उत्साहित छन्। देशका विभिन्न स्थानबाट सिक्किमको कृषि विषयमा अध्ययन गर्ने चासो लिएर भ्रमणमा आउने कुरा पनि सुनिँदैछ। तर दुःखको कुरा के छ भने, प्रमुख नगदे बालीका रूपमा परिचित सिक्किमको ठूलो अलैंची सङ्कटमुक्त हुन सकेको छैन भन्ने कुरा गम्भीर विषय बन्नपुगेको छ।
भारत सरकारको अलैंची अनुसन्धान संस्थानको स्पाइसेस बोर्डले अलैंचीलाई उच्च प्राथमिकता दिएर अनुसन्धानको निम्ति काम गरिरहेको छ तर यस संस्थानका पनि धेरै समस्याहरू छन्। यसलाई अन्य हितधारकहरूको तालमेलको आवश्यक देखिएको छ।
अलैंची स्वभावले शीतल वा छाया मनपराउने बाली हो। सिक्किममा केही वर्ष अघिसम्म हिउँद लागेपछि पनि तीन चारपल्ट वर्षा हुने गरेको थियो तर जलवायु परिवर्तनको कारण हिउँदमा पानी पर्न छोड्यो। राज्य सरकारले गठन गरेको कार्यबल समितिको सिफारिश पनि असफल भएको सुन्नमा आएको छ। कार्यबलले गरेका सबै कुरा असफल भयो भन्ने होइन, कतिपय कुरा जस्तै छाहारिमा भएका वा शितलता, मल-जल पाउने अलैंचीको नयाँ खेती बाँच्न सकेको छ।
विगत केही दशकको तुलनामा राज्यमा ठूलो अलैंचीको उत्पादनमा 50 प्रतिशत कमि आएको भए पनि सिक्किम अझ पनि अलैंची उत्पादन गर्ने शीर्ष राज्यको स्थानमा छ। तर राज्यले कति अलैंची उत्पादन गर्छ? त्यसको सही आँकडा भने न त भारत सरकार म छ न नै सिक्किम सरकारसित, यो एउटा महत्वपूर्ण विषय रहेको छ।
उत्तर सिक्किमको जिल्ला मुख्यालय मंगन प्रवेश गर्दा एउटा साइन बोर्ड ‘ठूलो अलैंचीको राजधानीमा स्वागत छ’ भनेको पढ्न पाउँदा सबैलाई गर्व लाग्छ। तर यस गरिमालाई कहिलेसम्म बचाउने त्यो अहिले सबै हितधारकका निम्ति एउटा चुनौती भएको छ।
बागवाणि विशेषज्ञहरूको भनाइमा जलवायु परिवर्तनको चुनौतिसित लड्ने हो भने अलैंची बारीमा छाया दिने रूखपातका बिरूवा लगाउन आवश्यक छ। हिउँदे महिनामा सुखा हुने स्थानमा सिंचाइको व्यवस्था गरिनुपर्छ, निरोगी बिरूवा तयार गर्नुपर्छ, मल पनि आवश्यक छ। सबैभन्दा महत्वपूर्ण कुरा केन्द्र र राज्य सरकारका विभाग, संस्थान र हितधारक माझ तालमेल हुन आवश्यक छ। पहिला रोग लागेर अलैंची सखाप भयो भन्ने कुरामा नै वैज्ञानिक र कृषक समुदायले यसको निवारणतर्फ अधिक ध्यान दिए। यद्यपि रोग निवरणपछि जलवायुको प्रभाव र माटोका स्वास्थ्य पनि चुनौती बन्दै गयो। विश्‍वव्यापि रूपमा भारत ठूलो अलैंचीको शीर्ष उत्पादक र उपयोगकर्ता रहेको छ। यसअर्थ ठूलो अलैंचीको संरक्षण गर्न एकपल्ट सबैको ध्यानाकर्षण गराउन आवश्यक देखिन्छ।(29 June)

Comments

Popular posts from this blog

भीम दाहालको उपन्यास ‘अभीष्टको खोज’- कृतिपरक अध्ययन- नवीन पौड्याल

मौरी पालन- अनुवाद