samaydainik.com

देशका महान्‌ वामनेता ज्योति बसूको निधन गुमायो देशले अद्वितीय नेता
समय ब्यूरो- कोलकाता, 17 जनवरी। भारतीय वामपन्थी राजनीतिका मूल स्तम्भ वरिष्ठ मार्क्सवादी नेता एवं पश्चिम बङ्गाल राज्यका पूर्व मुख्यमन्त्री ज्योति बसू अब रहेनन्‌। उनको आज बिहान 11ः47 बजे कोलकातामा निधन। गत 1 जनवरीको दिनदेखि साल्टलेकस्थित एएमआरआई अस्पतालमा उनको उपचार चल्दै थियो। उनी 95 वर्षका थिए। उनी गत 17 दिनदेखि न्यूमोनियाले पीडित थिएतथा उनका धेरै अङ्गले काम गर्न छाडिसकेका थिए। गत 6 जनवरीदेखि उनलाई वेन्टिलेटरमा राखिएको थियो। उनको परिवारमा उनका पुत्र चन्दन छन्‌ भने पत्नी कमलको चार वर्ष नै निधन भएको थियो। ज्योति बसूको निधनले देशमा शोक लहर छाएको छ भने वाममोर्चा मर्माहत बनेको छ। पश्चिम बङ्‌गाल राज्यमा दक्षिणपन्थी दलहरूको वर्चस्व तोडेर वामपन्थी शासन कायम गर्ने यी राजनेताले 23 वर्षसम्म त्यस राज्यको मुख्यमन्त्रीको पद सम्हाल्दै अनेक क्रान्तिकारी परिवर्तन पनि गरे। देशमा सबैभन्दा लामो समयसम्म कुनै राज्यको मुख्यमन्त्री बन्ने गौरव प्राप्त ज्योति बसू आजबाट भारतीय राजनीतिमा इतिहास बन्नपुगेका छन्‌। उनको अन्तिम संस्कार मङ्‌गलवार गरिनेछ। उनको पार्थिव शरीरलाई आइतबार दिउँसो पार्लर पीस हेवन लगियो जहॉं उनलाई अन्तिम दर्शनका लागि राखिनेछ तथा 19 जनवरीको दिन केवडातला शमशान घाटमा अन्तिम संस्कार गरिनेछ। ज्योति बसूले नेत्रदान गरिसकेका थिए र डाक्टरहरूले उनको आँखा निकालेर सुरक्षित रूप राखिसकेका छन्‌। पश्चिम बङ्‌गाल सरकारले दिवङ्‌गत नेताको सम्मानमा सोमवार अवकाशको घोषणा गरेको छ। ज्योति बसूको निधनको खबर फैलिनसाथ पूरै कोलकाता शोकाकुल बन्यो र आफ्ना दिवङ्‌गत नेतालाई श्रद्धाञ्जलि अर्पित गर्न मानिसहरू अस्पताल गए। केन्द्रिय गृह मन्त्री पी चिदम्बरम, मुख्यमन्त्री बुद्धदेव भट्टाचार्य, लोकसभाका पूर्व अध्यक्ष सोमनाथ चटर्जी, माकपा महासचिव प्रकाश करात र वृंदा करातसहित अनेक वाम नेता अस्पताल पुगेका थिए। राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायत अनेक राजनीतिक तथा गैर राजनीतिक व्यक्तित्वले पूर्व मुख्यमन्त्रीको निधनमा गहिरो शोक प्रकट गरेका छन्‌। राष्ट्रपति प्रतिभा पाटिलले ज्योति बसूको निधनमा गहिरो शोक प्रकट गर्दै देशले एक विशिष्ट राजनेता गुमाएको बताइन्‌। राष्ट्रपतिले आफ्नो शोक सन्देशमा भनिन्‌, बसूले आफ्नो क्षमताद्वारा सबभन्दै धेरै समयसम्म मुख्यमन्त्री बन्ने अनौठो रेकार्ड बनाए। उपराष्ट्रपति हामिद अन्सारीले भने, उनको योगदान, विलक्षणता र नेतृत्व क्षमता राज्य र राष्ट्रियस्तरमा सबैका लागि प्रेरणास्रोत र मार्गदर्शक बन्नेछ। प्रधानमन्त्री मनोहन सिंहले ज्योति बसूको निधनलाई भारतीय राजनीति इतिहासको एक युगको समाप्ति बताएका छन्‌। उनले आफ्नो शोक सन्देशमा महत्वपूर्ण मुद्दामा आफूले प्राय वरिष्ठ वाम नेताबाट सल्लाह लिने गरेको र ती सल्लाह संधै व्यवहारिक हुने गरेको बताएका छन्‌। बसूलाई महान निष्ठा र धर्मनिरपेक्ष मूल्यहरूमा प्रतिबद्ध व्यक्ति बताए। पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीले बसूलाई कुशल प्रशासक र जुझारू राजनीतिज्ञ बताउँदै उनी कर्मठ व्यक्तित्वका धनी थिए भने। उनले पश्चिम बंगालमा केवल सर्वाधिक समयसम्म शासन गर्ने मुख्यमन्त्रीको रेकार्ड मात्र नबनाएर अनेक दूरगामी कदम उठाए। उनी आफ्नो विचारप्रति अडिग र गरीब तथा कमजोर वर्गका मानिसहरूका लागि सङ्‌घर्ष गर्ने व्यक्ति थिए। वाजपेयीले बसूको निधनबाट राजनीतिको एक अध्याय समाप्त भएको बताए। यसरी नै भारतीय जनता पार्टीका वरिष्ठ नेता लालकृष्ण आडवाणीले ज्योति बसूलाई एक महान नेता बताएऽ केन्द्रिय वित्त मन्त्री प्रणव मुखर्जीले ज्योति बसू जादूगरी राजनेता र महान्‌ हस्ती बताउँदै यूपीए सरकारको गठनमा उनको योगदान स्मरणीय रहने बताए। यसरी नै केन्द्रिय रेल मन्त्री एवं तृणमूल कंग्रेसकी नेता ममता बनर्जीले बसूको निधनमा श्रद्धाञ्जलि अर्पित गर्दै उनलाई वाम मोर्चा सरकारको पहिलो र आखिरी अध्याय बताइन्‌। केन्द्रिय गृहमन्त्री पी चिदम्बरमले बसूलाई देशका महान्‌ सपूत र प्रेरणाको स्रोत बताए। बिहारका मुख्यमन्त्री नीतीश कुमारले माकपा नेताको निधनमा शोक व्यक्त गर्दै देशले उनको योगदानको संधै याद राख्ने बताए। लोकसभाका पूर्व अध्यक्ष सोमनाथ चटर्जीले वयोवृद्ध माकपा नेताको निधनमा शोक व्यक्त गर्दै उनले ज्योति बसूको अवसानको रूपमा निजी रूपमा आफ्ना पितालाई दोस्रोपल्ट गुमाएको बताए। उनले भने, बसू जननेता हुन्‌। यसरी नै कम्युनिस्ट पार्टीका नेता एबी बर्धनले भने, बसू सबैभन्दा महान्‌ नेता थिए। उनी अन्तसम्म वञ्चितवर्गका लागि सङ्‌घर्षरत रहे। फारवर्ड ब्लाकका महासचिव देबब्रत विस्वासले उनको निधन पूरै वाम, श्रमिकवर्ग र प्रगतिशील आन्दोलनका लागि अपूरणीय क्षति बताए। उनले भने बसू आधुनिक बङ्‌गालका व्यवहारिक निर्माता थिए र देशमा वाम आन्दोलनलाई खडा गर्ने व्यक्तित्वका रूपमा संधै स्मरणीय रहनेछन्‌।

मुख्यमन्त्री चामलिङ, एसडीएफ र माकपाद्वारा शोक प्रकट
गान्तोक, 17 जनवरी। वरिष्ठ माकपा नेता एवं पूर्व मुख्यमन्त्री ज्योति बसूको निधनमा सिक्किमका मुख्यमन्त्री पवन चामलिङले गहिरो शोक प्रकट गरेका छन्‌। पश्चिम बङ्गालका मुख्यमन्त्री बुद्धदेव भट्टाचार्यलाई एउटा शोक सन्देश पठाउँदै मुख्यमन्त्री चामलिङले ज्योति बसूलाई उनको दृढ व्यक्तित्व र प्रतिबद्धताका लागि स्मरण गरिनेछभन्दै आज देशले एक महान नेता गुमाएको बताए। उनले पश्चिम बङ्गाल र शोकाकुल परिवारप्रति हार्दिक सम्वेदना प्रकट गर्दै सिक्किमे जनता र सिक्किम सरकार यस दुखद घडीमा साथ रहेको बताए। यसरी नै ज्योति बसूको निधनमा सत्तारुढ एसडीएफ पार्टीले शोक व्यक्त गरेको छ। आफ्नो शोक सन्देशमा एसडीएफ पार्टीले भनेको छ, बसुको देहवासन भएको घटनाले एसडीएफ पार्टीलाई मर्माहत तुल्याएको छ। भारतीय राजनैतिक परिप्रेक्ष्यमा युगको पद्‌क्षेपसॅंगै मार्क्सवादी क्रान्तिलाई निरन्तरता दिने वामपन्थी नायक ज्योति बसूको निधनले राष्ट्रलाई नै ठूलो क्षति पुगेको हामी अनुभव गर्दछौं। उनले लगातार 23 वर्षसम्म मार्क्सवादी कम्युनिष्ट पार्टीबाट निर्वाचित भई पश्चिम बङ्गाल सरकारका मुख्यमन्त्रीको पदमा रहेका थिए। सिङ्गो राष्ट्रलाई आइपरेको यो दुःखद घडीमा एसडीएफ पार्टी समस्त सिक्किमेली जनताको पक्षमा स्वर्गीय नेता ज्योति बसूको आत्माले चीर शान्ति पाउन्‌ भनी भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछ। यस दुःखद्‌ घडीमा शोकाकूल परिवारका सदस्यहरूलाई धर्यधारण गर्ने शक्ति मिलोस्‌ भनी पार्टी उनको परिवारप्रति गहिरो समवेदना प्रकट गर्दछभनी एसडीएफद्वारा जारी एक प्रेस विज्ञप्तिमा जनाइएको छ। अर्कोतिर, भारतको कम्युनिष्ट पार्टी (मार्क्सवादी) सिक्किम राज्य समितिले एक बैठक गरी कमरेड ज्योति बसूको निधनमा गहिरो शोक प्रकट गर्दै दुइ मिनटको मौन धारण गऱ्यो। आफ्नो शोक सन्देशमा माकपा सिक्किम समितिले भनेको छ, राज्य समितिले कमरेड ज्योति बसू मुख्यमन्त्री रहॅंदा गणतन्त्रको निम्ति लडाई गर्दा जुन सल्लाह र सहयोग पुऱ्याएका थिए त्यसलाई कहिले पनि बिर्सिने छैन र कमरेडले देखाएको बाटोमानै हिड्‌नुनै उनलाई सही श्रद्धाञ्जली हुनेछ साथै ज्योति बसूले नेपाली भाषाको संवैधानिक मान्यताको निम्ति जुन योगदान दिएका थिए त्यसलाई कहिले पनि बिर्सिन सकिँदैन।

Comments

Popular posts from this blog

भीम दाहालको उपन्यास ‘अभीष्टको खोज’- कृतिपरक अध्ययन- नवीन पौड्याल

मौरी पालन- अनुवाद