Samay News
राज्यस्तरीय पञ्चायत सम्मेलन सम्पन्न जबसम्म सिक्किमे जनता उत्पादक बन्दैनन् तबसम्म सिक्किम उत्पादक राज्य बन्नसक्दैन ः मुख्यमन्त्री
0अर्जुन राई गान्तोक, 19 जनवरी। \"प्रत्येक सिक्किमे उत्पादक बन्नुपर्छ, जबसम्म सिक्किमे जनता उत्पादक बन्दैनन् तबसम्म सिक्किम उत्पादक राज्य बन्नसक्दैन, पूर्ण विकसित राज्य बन्नसक्दैन। जनतालाई धनी बनाउन उत्पादक बनाउनु पर्छ र यसमा प्रत्येक पञ्चायतले आफ्ना जनतालाई उत्पादक बनाउने जिम्मेवारी उठाउनुपर्छ। हाम्रो सरकारले सम्पूर्ण सिक्किमे र सिक्किमलाई धनी र विकसित गराउने उद्देश्यले काम गरिरहेको छ। हाम्रो सरकारमा पनि गल्ती हुनसक्छन्, हामीसित पनि कमी-कमजोरी हुनसक्छन्। त्यसलाई सुधार्नुपर्छ।\' उक्त मन्तव्य मुख्यमन्त्री पवन चामलिङले व्यक्त गरेका हुन्। मुख्यमन्त्री चामलिङले आज सिच्छे सब्जीमण्डीस्थित खेल मैदानमा आयोजित राज्यस्तरीय पञ्चायत सम्मेलन 2010-लाई सम्बोधन गरिरहेका थिए। राज्यमा पञ्चायतीराज व्यवस्थाको अवलोकन र पञ्चायतलाई अझ सक्षम, सुदृढ र सशक्त बनाउने उद्देश्यले आयोजित यस राज्यस्तरीय सम्मेलनमा उपस्थित राज्यका चारै जिल्लाबाट उपस्थित रहेका पञ्चायत, जिल्ला पञ्चायतहरूलाई सम्बोधन गर्दै चामलिङले सरकारको पक्षबाट पनि कतिपय गल्ती भएको हुनसक्ने बताउँदै यति त्यस्ता कुनै गल्ती, कुनै भूल भएको भए बताउनु पर्ने अनि कहॉंबाट कसले के गल्ती गर्दैछ, उसको नाम, ठेगानासहित लेखिनु पर्ने उनले बताए। मान्छेबाट गल्ती हुन्छ र त्यसलाई सुधार्न सक्नुपर्ने बताउँदै झुटा तथा किर्ते पर्चाहरू छपाएर आम जनतालाई तर्साउने काम कसैले गर्छ भने त्यो सिक्किम र सिक्किमवासीको विरोधी बुझ्नुपर्ने उनले बताए। उनले भने, त्यस्ता किर्ते पर्चा छपाएर बाड्नेहरू सिक्किम विरोधी हो, सिक्किम बिगार्ने हो। हामी सिक्किम र सिक्किमेको भविष्य बिगार्न दिने छैनौं र दिनु हुँदैन। यसमा पञ्चायतवर्ग सचेत रहनुपर्छ। हामीले रमिता हेर्नुहुँदैन। वर्ष 2009-को अक्टोबर महिनादेखि 2010-को अक्टोबरसम्मलाई केन्द्र सरकारले \"ग्रामसभा वर्ष\' को घोषणा गरेको बताउँदै मुख्यमन्त्रीले हामीले हाम्रो गाउँ कसरी बनाउनु पर्ने भन्ने कुरामा सचेत रही \"आफ्नो गाउँ आफै बनाउ\'-को भावना मनमा लिएर गाउँ विकासका काममा पञ्चायतवर्गले राज्य सरकारलाई सहयोग पुऱ्याउनु पर्ने अपील गरेका छन्। सिक्किम र सिक्किमेको उत्थानमा पञ्चायतीराजलाई कसरी कार्यन्वयन गर्नसकिन्छ भन्ने कुरालाई राख्दै चामलिङले पञ्चायतहरूको जिम्मेवारी विषय पनि बताए। सत्ता अथवा साशन विकेन्द्रिकरणका कुराहरू मात्र हामीले गरिहिड्ने बताउँदै वास्तवमा सरकारद्वारा पञ्चायतहरूलाई जिम्मेवारी सुम्पनु नै शासन विकेन्द्रिकरण तथा हस्तान्तरण हो भनी बताए। गाउँको विकास तथा जनताका कामहरू सुचारू रूपले होस् भन्ने उद्देश्यले काम, कर्मचारी र वित्त (फङ्सन, फङ्सनरी र फण्ड) अथवा \"थ्री एफ\' पञ्चायतलाई सुम्पिएको बताउँदै यसबाट मात्रै पञ्चायती राजको कार्यन्वयन हुने उनले बताए। यद्यपि, आज सिक्किमका पञ्चायतहरूले अन्य राज्यका पञ्चायतहरूसित तुलना गरेर हेर्नु आवश्यक रहेको पनि उनले बताए। गाउँका मानिसहरूको काम गाउँमा होस् भनेर गाउँ-गाउँमा ग्राम प्रशासनिक केन्द्र बनाइएको बताउँदै यी केन्द्रहरूमा प्रत्येक अधिकारीहरू बिहान 10 बजेदेखि बेलुकी 4 बजेसम्म जनताको काममा नबसे पञ्चायतले प्रश्न गर्न सक्नु पर्ने बताएका छन्। प्रत्येक पञ्चायतले आफ्नो गाउँलाई \"मेरो गाउँ\' सम्झिएर काम गर्नुपर्ने बताउँदै पञ्चायत भनेको स्वीट्जरल्याण्डको नगरपालिका जस्तो स्वयं चल्नसक्ने हुनुपर्छ। पञ्चायत स्वयं सरकार हो। पञ्चायत आफै पनि स्वीट्जरल्याण्डको जस्तो हुनुपर्छ अनि मात्र हाम्रो सिक्किम पनि स्वीट्जरल्याण्ड जस्तो हुनसक्छ, कारण राज्यको विकासमा पञ्चायतको सबैभन्दा ठूलो भूमिका हुन्छ। कसैको एक्लो प्रयासले यहॉं सफलता पाइदैन। मलाई तपाईंहरूको साथ चाहिएको छ। सिक्किमको विकासमा पहिलो चरण सकिएको बताउँदै अबको विकास भनेको दोस्रो चरणको विकास हुने उनले बताए। पहिलो चरणको विकासले सिक्किम जहॉं पुगेको छ त्यसलाई हामीले सुरक्षित राख्न सक्नुपर्ने बताउँदै बिगार्न जति सजिलो छ, त्यति नै बनाउन गाह्रो पर्ने बताए। दोस्रो चरणको राज्यको विकासमा अब गुणस्तरीय पूर्वाधार योजनाहरू राखेर काम गर्नुपर्ने बताउँदै राज्यको शिक्षा, स्वास्थ्य, सेवा, विद्युत, सडक निर्माण हरेक कामलाई गुणस्तरीय बनाएर लानुपर्ने कुरोमा मुख्यमन्त्रीले बल दिए। वर्तमान सरकार गरीब वर्गको पक्षमा रहेको बताउँदै यसमा कुनै जात-जाति, धर्मसित सम्बन्ध नराखेर सबैलाई समान रूपमा ल्याउनु सरकारको मुख्य उद्देश्य रहेको बताए। गाउँका प्रत्येक काममा बाधा नहोस् भन्ने उद्देश्यले शासन विकेन्द्रीकरण तथा हस्तान्तरण गरिएको र गाउँ-गाउँमै ग्राम प्रशासन केन्द्र बनाइएको बताउँदै जनताको कुनै पनि कामको लागि पञ्चायतले सिफारिस गरेर क्षेत्र विधायक समक्ष पठाइदिनुपर्ने बताउँदै विधायकले सो कामको लागि कहॉं जानुपर्ने त्यही सिफारिस गरी पठाइदिने बताए। यदि कुनै काम विशेषले मुख्यमन्त्रीलाई नै भेट्नु पर्ने भए मात्र विधायकले सिफारिस गरिदिने बताउँदै यसो गर्नाले सबै काम पनि सूचारू रहने अनि जनताले दुख पनि नपाउने खुलस्त पारे। पञ्चायतहरूको गुनासो विषय बोल्दै कतिपय ग्राम विकास सहायक (आरडीए)-ले आफ्नो काम नगरेकोमा विभागले निरीक्षण गर्ने बताउँदै कोही पनि व्यक्तिले समाज विरोधी काम गरिरहेको भए त्यस्तालाई चामलबाट ढुङ्गा छाने जस्तै छानेर निकाल्नु पर्ने मुख्यमन्त्रीले बताएका छन्। यस्तो काममा पञ्चायतले सधै अग्रसर रहनु पर्ने बताउँदै गाउँकै हो, आफन्त हो भनेर छोड्नु नहुने पनि बताए। मुख्यमन्त्री चामलिङले पञ्चायतहरूलाई अझ सक्रिय बनाउने उद्देश्यले भारतमै पहिलोपल्ट यसपालिदेखि सामान्य कोष (खर्च) दिइने घोषणा पनि गरे। यसरीनै प्रत्येक समष्टिमा 50-50 जनालाई सब्जीखेतीको लागि ग्रीन हाउस दिने बताए भने सुन्तोला र ठूलो अलैंचीको लागि नर्सरी दिने अनि सुन्तोला खेतीको लागि जैविक मल पनि निशुल्क दिने बताए। राज्यको आवश्यकता र आपूर्तिमा हामी स्वनिर्भर बन्नु पर्ने बताउँदै इच्छुक युवाहरूलाई सम्बन्धित विभागले पनि सहयोग दिने सुझाउ मुख्यमन्त्रीले राखेका छन्। यसरीनै युवावर्गलाई स्वनिर्भर बनाउने उद्देश्यले राज्य सरकारले विभिन्न योजना तयार पारेको पनि बताएका छन्। मुख्यमन्त्री चामलिङले स्वास्थ्यको क्षेत्रमा धेरै काम गरिरहेको बताउँदै एमडीआरका रोगीहरू अथवा क्षय रोगीहरूलाई अनुमानित 3-3 लाखसम्मको औषधी निशुल्क वितरण गरिने बताए भने केही रोगीलाई आफ्नै बाहुलीबाट औषधी वितरण पनि गरे। गाउँले जनताहरूको लागि आगामी फरवरी महिनाको अन्तिम सातातिर जनता मेला आयोजन गरिने बताउँदै यसपालिको जनता मेलामा कूल 30 हजार गरीब जनताले सहुलियत पाउने बताए। यद्यपि, जनता मेलामा गरीब जनतालाई सहुलियत दिनु भनेको सधै यतिकै रहोस्, सहुलियत मागी रहुन् भनेर होइन तर उनीहरू पनि माथि उठुन् भनेर दिइने बताएका छन्। उक्त सहुलियत राज्यमा स्थायी रूपमा बसोबासो गर्ने तर मतदान पत्र हुने अनि गरीब रेखामुनिका जनताले नै पाउनु पर्ने बताउँदै यी सहुलियतहरू सही व्यक्तिले पाओस् भनी पञ्चायतहरूले सहयोग पुऱ्याउनु पर्ने पनि बताएका छन्। कार्यक्रममा मुख्यमन्त्रीले दक्षिण सिक्किम रङ्बुल जीपीयूका पञ्चायत सभापति सुमित्रा राई, पश्चिम सिक्किमको चुमबुङ जीपीयूका पञ्चायत सभापति सुवास चन्द्र राई, उत्तर सिक्किमको टुङनागे जीपीयू पञ्चायत सभापति दोर्जी छिरिङ लेप्चा र पूर्व सिक्किमको सुदुङलाखा जीपीयूका पञ्चायत सभापति हेमलाल गिरीलाई यस वर्षको पञ्चायतश्री पुरस्कारले सम्मान जनाए भने कार्यक्रममा पञ्चायत महिला एवं युवा शक्ति सङ्गठनले मुख्यमन्त्रीलाई पनि अभिनन्दन जनाएका थिए। कार्यक्रमलाई ग्रामीण प्रबन्धन विकास मन्त्री सीबी कार्कीले पनि सम्बोधन गरेका थिए भने जिल्ला पञ्चायत अध्यक्ष विमल दवाडीसहित विष्णुकुमार चामलिङ, सुश्री राजकुमारी थापा, देवीप्रसाद अधिकारी, लोब्जाङ लेप्चा आदिले पनि आफ्नो मन्तव्य राखेका थिए। कार्यक्रममा मुख्यमन्त्रीको बाहुलीबाट रूपराज गुरुङ र सन्ध्या गुरुङको गुरुङ भाषाको गीति एल्बमको विमोचन पनि गरिएको थियो।
Comments
Post a Comment