प्रतीक्षा सङ्लो संसारको कविता सङ्ग्रह

पश्‍चिम सिक्किमको मानेबुङ देन्ताम निर्वाचन क्षेत्रअन्तर्गत पर्ने दाथोङ गाउँ निवासी नन्दकुमार राईको पहिलो कविता सङ्ग्रह हो-प्रतीक्षा सङ्लो संसारको। यस कविता सङ्ग्रहलाई कवि नन्दकुमार राईले त्यो वर्गलाई समर्पित गरेका छन्, जुन वर्गले शोषण, उत्पीडन तथा अन्यायमा डुबेर आफ्नो अमूल्य जीवनको अस्तित्व खोज्न सकिरहेको छैन। शोषण, उत्पीडन तथा अन्यायको चक्रव्यूह तोडदै आफ्नो अस्तित्वको निम्ति जाग्नुपर्ने आह्वान गर्दै कवि नन्दकुमार राईले आफ्नो पहिलो कृति पनि त्यही वर्गलाई नै समर्पण गरेका छन्, जुन वर्गलाई सर्वहरा वर्ग भन्दछौं। जबसम्म समानतामूलक समाजको निर्माण हुँदैन तबसम्म समाजको कुनै न कुनै पाटो अन्धकारमै रहन्छ भन्ने धरातलीय यथार्थलाई उजागर गर्दै कविले सङ्लो संसार निर्माणको परिकल्पना गरेका छन्। वर्गभेदरहित संसार निर्माण गर्नुपर्ने आग्रहपूर्ण परिकल्पनालाई कवि नन्दकुमारका कविताहरूको मूल स्वर अथवा भावभूमि मान्न सकिन्छ। विभिन्न प्रकारका विसङ्गति तथा विकृतिहरू हटाएर सङ्गतिपूर्ण र गतिशील संसार निर्माण गर्नुपर्ने कविको आह्वान छ। यस दृष्टिकोणबाट हेर्दा यस कविता सङ्ग्रहको नाम-‘प्रतीक्षा सङ्लो संसारको’ सान्दर्भिक छ।
गत वर्ष नै प्रकाशित भइसकेको यस कविता सङ्ग्रहमा जम्मा 37 वटा कविताहरू छन्। यस कविता सङ्ग्रहको भूमिका  वरिष्ठ पत्रकार तथा प्रगतिवादी कविको रूपमा परिचित अर्जुन पीयूषले लेखेका छन्। ‘कविताहरूमा नन्दकुमारको सपना’ शीर्षक राखेर भूमिकाकार अर्जुन पीयूषले नन्दकुमारका एक-एक कविताहरूको मर्मलाई छामेर कविताहरूलाई न्याय दिने  प्रयास गरेका छन्। कवि र कविताहरूलाई पाठकसमक्ष परिचित गराउँदै भूमिकाकार अर्जुन पीयूषले लेखेका छन्-‘कवि नन्दकुमारमा पाइएको अर्को विशेषता के हो भने उनका कविताहरूमा कुनै वस्तु लाञ्छित पाइँदैन, कतै विद्वेशको भावना पाइँदैन, कतै जी हजुरीका कुराहरू पाइन्न। यसैकारण उनका कविताहरू सामाजिक विषयवस्तुदेखि टाडा छैनन्। उनका कविताहरूमा समाजका समवेत विचारहरू पाइन्छन्।’
प्रतीक्षा सङ्लो संसारको कविता सङ्ग्रहमार्फत कवि नन्दकुमार राईले एउटा यस्तो संसारको परिकल्पना गरेका छन्, जुन संसारमा मानवता, सत्य, श्रम आदिको सम्मान र मूल्याङ्कन हुन्छ। सङ्लो संसार निर्माणको निम्ति कविले नयाँ सूर्यको नयाँ किरण आवश्यक ठानेका छन्। यस कविता सङ्ग्रहको पहिलो कविता ‘नयाँ सूर्यको नयाँ किरण’ मा कवि भन्छन्-
आहा! कति बलवान हुँदोरहेछ
समय र परिस्थिति
हाम्रो अभीष्ट र सामर्थ्यहरूलाई
एकाएक निलिदिएछ
हाम्रो मान्यता र आदर्शका
विशाल पर्खालहरूलाई 
भूमिगत बनाइदिएछ।
यसरी हाम्रो पहिचान र अस्तित्वका सशक्त आधार वा स्तम्भहरू कमजोर बन्दै गइरहेको आजको सोचनीय अवस्थाप्रति गहिरो चिन्ता व्यक्त गर्दै कवि नन्दकुमार अझ भन्छन्-
जीवनको सर्वस्व लुटिएपछि
पुनः जीवनलाई खोज्ने प्रबल इच्छाले
हामीलाई कहिल्यै सताएन
हामी विभाजित भयौं
हाम्रा सिर्जना र इच्छाशक्ति
एकीकृत बनेर कुनै उद्देश्यका निम्ति
सङ्घर्ष गर्न कहिल्यै तत्पर बनेनन्
हामीले अघोषित रूपमा
आ-आफ्ना निर्णयअनुसार
आत्मसमर्पण गर्‍यौं। 
कविताका यी अंशहरूलाई हेर्दा कवि नन्दकुमार राई वैचारिक रूपमा परिपक्व कवि हुन्। हाम्रो समाजको मनोविज्ञानलाई सहज तरिकाले प्रस्तुत गर्दै उनले कमजोरीहरूलाई समातेका छन् अनि समाजलाई दुर्बल बनाउने पक्षहरूको जरा उखेलेर स्वस्थ समाज निर्माण गर्नुपर्ने विचार अघि सारेका छन्। 
कवि नन्दकुमार राईका कविताहरूमा पाइने अर्को महत्त्वपूर्ण पक्ष हो- विचार र कल्पनाको उचित समायोजन। कवि नन्दकुमार राईले आफ्नो विचारलाई कल्पनाको रङले सजाएका छन् भने कविताहरूमा कल्पना नै विचारको आभूषण बनेको छ। कविले आफ्नो मनका समवेदनशील आवेगहरूलाई एउटा मूल प्रवाहमा समाहित गरेका छन्। प्रकृति, मायामोह र विरहका भावहरूलाई पनि उनले प्रगतिशील धारामै जोड्ने प्रयास गरेका छन्। प्रकृतिमाथि मानव समाजले गरिरहेको अतिक्रमण चरमचुलीमा पुगिसकेको र विसङ्गतिपूर्ण प्रेम सम्बन्धहरूले समाजलाई टुक्रा-टुक्रा पारिरहेको वास्तविकताले कविलाई जगाएको छ। यही चेतनालाई कविले समाजमा फैलाउने अठोट गरेका छन्।
कवि नन्दकुमारको स्वीकारोक्ति छ- 
प्रेमिकासँग बिछोडिएर लेखेको होइन कविता 
जिन्दगिसँग हारेर लेखेको पनि होइन
गोजी रित्तियो भनेर लेखेको होइन 
कुनै तरूणीलाई झुक्याउन लेखेको होइन कविता!

यो आवाज हो ठगिएका मजदूरहरूको 
यो पीडा हो पीडित गाउँलेहरूको 
यो रोदन हो शोषित गरीबहरूको
यो दर्द हो-लुटिएका मान्छेहरूको। 

कसैको करले लेखेको होइन कविता 
टूला बडाको प्रचार गर्न होइन 
पुरस्कारको आशामा लेखेको होइन 
कुव्यवस्थालाई मेटाउन लेखेको कविता।

यस कवितांशमा कवि नन्दकुमारले आफ्ना कविताहरूको उद्देश्य साझा गरेका छन्। समाज सुधारको पक्षमा कविताहरूको सिर्जना हुनुपर्छ भन्ने मान्यतालाई कवि नन्दले स्वीकार गरेका छन्। कवितालाई शक्तिको पूजा गरेर आफ्नो स्वार्थ पूरा गर्ने माध्यम बनाउनु हुँदैन तर कुव्यवस्थालाई हटाएर सुव्यवस्था स्थापित गर्ने उद्देश्यमा कविताहरूको जन्म हुनुपर्छ भन्ने आग्रह कवि नन्दकुमारका कविताहरूमा पाइन्छ। समाजमा व्याप्त विकृति तथा विसङ्गतिहरूलाई कविताको आगोले डराउन सकिन्छ भन्ने विश्‍वास कविमा पाइन्छ। यही विश्‍वासले कविलाई जीवनमुखी बनाएको छ, कविताहरूलाई जीवन्त बनाएको छ, पठनीय बनाएको छ। 

पूर्वीय काव्यशास्त्रमा कविलाई स्वयंभू पनि भनिन्छ। संस्कृतमा भनिएको छ-
अपारे काव्य-संसारे कविरेकः प्रजापतिः
यथास्मै रचयते विश्‍वं तथेव परिवर्तते। 
अर्थात् कविको तुलना प्रजापति ब्रह्मासित गरिएको छ। ब्रह्मा सृष्टिकर्ता पनि हुन्। कविहरू काव्यको माध्यमले नयाँ लोकको निर्माण गर्न रूचाउँछन्। कवि भावना र कल्पना जगत्का स्वामी हुन्। अन्य मानिसहरूको तुलनामा कविहरू अधिक भावुक र संवेदनशील हुन्छन्। त्यसैले त जो कोही कवि बन्न सक्दैनन्।   
कवि नन्दकुमारका कविताहरूले सङ्लो संसारको प्रतीक्षा गरेको छ। यस सङ्ग्रहमा रहेका कविताहरू ठगिएका मजदूरहरूको, पीडित गाउँलेहरूको, शोषित गरीबहरूको, लुटिएका मान्छेहरूको आवाज बनेर रहनेछ भन्ने विश्‍वास गर्न सकिन्छ।
कुनै पनि साहित्यकारको प्रथम कृतिमा लछेप्रे त्रुटिहरू हुन्छन् कुरालाई धेरैले स्वीकार गर्दै आएका छन् तर कवि नन्दकुमारको कविता सङ्ग्रहले यस कुरालाई सतप्रतिशत सही होइन भन्ने प्रमाणित गरिदिएको छ। यस सङ्ग्रहमा रहेका कविताहरूभित्र भाषागत त्रुटिहरू औंल्याउन निक्कै कठीन देखिन्छ भने शब्द चयनमा पनि कवि धेरै सचेत रहेको मान्न सकिन्छ। कवि नन्दले आफ्नो अभिव्यक्तिलाई न्याय दिने शब्दहरूको प्रयोग गरेर कविताहरूलाई स्तरीय बनाएका छन्।  प्रतीक्षा सङ्लो संसारले सिङ्गो संसारलाई नै समेट्ने प्रयास गरेको हुँदा यस कृतिलाई आञ्चलिक परिधिभित्र राखेर हेर्दा अन्याय हुने देखिन्छ। आवरणलाई हेरेर पुस्तकको मूल्याङ्कन गर्न हुँदैन भन्ने सर्वव्यापी मान्यताभित्र राखेर यस कृतिको मूल्याङ्कन हुनुपर्छ भन्ने मलाई लाग्छ। यस सङ्ग्रहमा रहेका कविताहरूले सिक्किमेली समाजको मात्र नभएर विश्‍वसमाजकै  वस्तुस्थितिलाई कोट्याउने अथवा केलाउने प्रयास गरेको छ। 
कवि नन्दकुमार राईका कविताहरूमा प्रगतिवादी चेतना निक्कै सबल रहेको पाइन्छ। समाजलाई प्रगतिवादी धारबाट मात्र चियाउने हुँदै कविले समाजलाई कतै एकतर्फी दृष्टिकोणबाट मात्र हेरेका छन् कि भन्ने मलाई लागेको छ। कविले समस्याहरूलाई खुल्ला रूपमा देखाउने हिम्मत गर्नु प्रशंसनीय काम हो। कतिपय कविताहरूमा समस्याहरूको साथमा समाधानका मार्गहरू पनि कविले देखाइदिएको भए अझै उत्कृष्ट हुने थियो कि भन्ने मलाई महसुस भएको छ। 
निष्कर्षः यस कविता सङ्ग्रहलाई कवि नन्दकुमार राईको परिचय पनि मान्न सकिन्छ। साहित्यिक यात्राको पहिलो चरणमै कवि नन्दले विचारको फराकिलो यात्रा तय गरिसकेको पाइन्छ। आफ्नो सिर्जनालाई निरन्तरता दिइरहन सके निकट भविष्यमै उनी एकजना स्थापित कविको सूचीमा उभिन सक्ने सम्भावनाहरू छन्। कवि नन्दमा निहित चेतनाले समाजलाई उज्यालोतिर आकर्षित गरिरहोस्, प्रतीक्षा सङ्लो संसारको परिकल्पना विपना बनोस्- संसारको हितमा।      

Comments

Popular posts from this blog

भीम दाहालको उपन्यास ‘अभीष्टको खोज’- कृतिपरक अध्ययन- नवीन पौड्याल

मौरी पालन- अनुवाद