अरूलाई सरप्राइज दिने हुँदा आफै सरप्राइज नबनौं


फर्जी ई-मेल, फोन र एसएमएसप्रति  देशका प्रधानमन्त्री नरेन्द्र मोदीले सतर्क गराएका छन्। 31 जुलाईको दिन प्रधानमन्त्रीले आकाशवाणीमार्फत आफ्नो मनकी बातमा जनतालाई सम्बोधन गर्दै  विशेष फर्जी मेल र एसएमएसदेखि बाँच्ने सल्लाह दिएका छन्। हुन त प्रधानमन्त्रीले ओलम्पिकका खेलाडीलाई शुभकामना दिनसितै स्वास्थ्य र विज्ञानमा नवोन्मेशीको विषयमा पनि सम्बोधन गरेका छन्।
फर्जी मेल, एसएमएस तथा फोनले देशका लाखौं जनताबाट अरबौं रूपियाँ लुटिरहेको छ। यो महालुटलाई  नियन्त्रण गर्न देशका लागि धेरै कठिन भएको छ। देशमा यस प्रकारको अपराधलाई नियन्त्रण गर्ने कुनै तकनिकी व्यवस्था सम्भव नभएको कारण पनि यो देशकै निम्ति चुनौतीपूर्ण भएको छ।
यस सन्दर्भमा भारतीय रिजर्भ ब्याङ्क (आरबीआइ) र अन्य ब्याङ्कहरूले पनि हात उठाएका छन्। हुन त आरबीआइ तथा अन्य ब्याङ्कहरूले यस विषयमा आफ्ना ग्राहकहरूलाई निरन्तर सतर्क गराउँदै आएको छ। प्रिन्ट तथा इलेक्ट्रोनिक मीडियाहरूमा पनि धेरै सतर्क गराउने विज्ञापनहरूको प्रचार प्रसार भइरहेको छ। तर पनि देशले यो समस्यादेखि छुटकारा पाउन सकेको छैन। फर्जी मेलमा विशेष लटरी फसेको र त्यो रकम पाउनका लागि आबकारी तथा अन्य शूल्कहरू ब्याङ्कमा जमा गर्ने सल्लाह, विदेशमा एक्लो भएको  व्यक्तिले उसको सम्पत्तिलाई तपाईंको नाममा गर्ने इच्छा र यसलाई भारत ल्याउँदा केही ट्याक्स तिर्नुपर्ने रकम पहिला ब्याङ्क खातामा जमा गर्नुपर्ने, तपाईंको ब्याङ्क खाता अपडेटको लागि खाताको विवरण र पिनकोड दिनुपर्ने, एटीएम कार्ड ब्लक भएको र यसलाई सुचारू गर्न पिन नम्बर दिनुपर्ने जस्ता फर्जी कल आउने गर्छन्। कतिपय उपभोक्ताले अनजानमा फर्जी कललाई विश्‍वास गरेर आफ्नो सबै गोप्य सूचनाहरू फोनमा बताउने गर्दछन्। ई-मेलमा आफ्नो सबै व्यक्तिगत विवरण पठाउने गर्दछन्। यसले गर्दा थाहै नपाई आफ्नो ब्याङ्क खाताबाट भएजति सबै पैसा गुमाएको घटना प्रकाशमा आउने गर्छ। 
वास्तवमा यस प्रकारको फर्जी कल अथवा  पैसा बुझाउनु पर्ने अथवा  ब्याङ्क खातासित सम्बन्धित फोन कल आउँदैन। आएको खण्डमा फोनमा सबै विवरण नदिएर यस विषयलाई लिएर ब्याङ्कमा जानु पर्ने हो। बारम्बार बीमा रकम भुक्तान अथवा एटीएमको लक खोल्ने  फोन आए त्यो फोन नम्बर लिएर पुलिसमा जानु पर्ने हो। महत्त्वपूर्ण  कुरा के छ भने, फर्जी ई-मेल आएपछि चाँडै धनी हुने सपना देखेर कल्पनामा वास्तविकतालाई भुल्ने अवस्थाले धेरै मानिसलाई  सङ्कटमा पारेको छ। 
सिक्किम राज्यकै कुरा गर्नुपर्दा कतिपय व्यक्तिले यस्तो फर्जी मेललाई सही मानेर आफ्नो परिवारलाई सरप्राइज दिन कसैलाई पनि नभनिकन फर्जी मेलले अथवा फोनले के भन्छ त्यही मान्ने भूल गरेका छन्। जब  लुटिन्छ तबमात्र यस विषयमा परिवारका सदस्यलाई भन्ने अथवा धेरै ढिलो गरेर पुलिसमा पुग्ने अवस्थाले पनि लुटिएका छन्। जुन सङ्ख्यामा सिक्किम राज्यका मानिस यसरी फर्जी मेल र फोन तथा एसएमएसबाट लुटिन्छन् त्यो सबै  उजुरी  पुलिसमा दर्ता हुँदैन। यसको पछि आफ्नो व्यक्तिगत छवि धमिलो बन्ने वा बदनाम हुने डरले लुकाउने चलन छ। वास्तवमा समाजका अन्य व्यक्ति आफूजस्तो नठगिउन् भनेर आफ्नो कथा व्यथालाई प्रचार प्रसार गर्नु वा पुलिसमा उजुरी गर्नु पर्ने हो तर त्यस्तो हुँदैन। फर्जी ई-मेलमा पनि ब्याङ्क सम्बन्धित  सबै हुबहु वा हेर्दा सक्कली लाग्ने प्रमाण पत्रहरू पठाएर पीडितलाई आकर्षित गर्ने गरिन्छ। यसले गर्दा एउटा व्यक्तिले जीवनभर कमाएको आफ्नो धन-सम्पत्ति थोरै धन वा उपहारको लोभमा गुमाउने गरेको छ। यसै कारण यसबाट देशलाई बचाउन  सबैभन्दा ठूलो उपाय नै जागरूकता भएको छ।  देशमा फर्जी ई-मेल, फोन,एसएमएसलाई नियन्त्रण गर्ने व्यवस्था नभएको कारण सतर्क भएर एउटाले अर्कोलाई जागरूक अथवा यस प्रकारको कुनै सम्पर्क आफूलाई आए त्यसप्रति अरूलाई पनि भन्ने गर्नु नै उचित हुन्छ।

Comments

Popular posts from this blog

भीम दाहालको उपन्यास ‘अभीष्टको खोज’- कृतिपरक अध्ययन- नवीन पौड्याल

मौरी पालन- अनुवाद