सम्मानका विषय बढ्दैछन्
एसडीएफ सरकारको 18 वर्षको कार्यकालमा सिक्किमलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तर गरेर लगभग 30 पुरस्कार तथा सम्मान प्राप्त भइसकेको छ। अब सिक्किमले चाँडै नै थप दर्जनौं विषयहरूमा राष्ट्रिय छवि कायम राख्ने निश्चित देखिँदैछ। हालै पर्यावरण संरक्षण, नागरिक सुरक्षा, स्वच्छता एवं जल सुरक्षासितै सर्वाङ्गीण विकासको क्षेत्रमा राष्ट्रिय स्तरको पुरस्कार पनि प्राप्त भएको छ। यहाँ महत्वपूर्ण विषय के छ भने राज्यले सर्वाङ्गीण विकासको क्षेत्रमा साना राज्यमा प्रथम पुरस्कार प्राप्त गर्नु नै महत्वपूर्ण कुरा हो। हुन त यस अघि पनि सिक्किमले पर्यटन, पञ्चायतीराज, कृषि बागवाणी, पर्या-पर्यटन, राष्ट्रिय संसाधनको संरक्षण, शिक्षा, भारत निर्माण अभियान, ई-प्रशासन, ग्रामीण सडक, स्वास्थ्य, सूचना प्रौद्योगिकी, शाहसिक पर्यटन आदि विषयहरूमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरको सम्मान प्राप्त गरिरहेको छ।
राज्य सरकारले विकासलाई निरन्तरता दिँदै माथि उल्लेख गरिएका विषयसितै अन्य प्रमुख अभियानहरू शुरु गरिसकेको छ। यी अभियानलाई 12औं पञ्चवर्षीय योजना अवधिमा मूर्त रूप दिएर तथा परिणाममूलक बनाएर सिक्किमका नागरिकलाई प्रत्यक्ष एवं परोक्ष रूपमा लाभ पुर्याउने उद्देश्य राखिएको छ। सरकारका योजनाहरू केवल राज्यहितका निम्ति नभएर राष्ट्रहितका निम्ति पनि छन्।
12औं पञ्चवर्षीय योजनाअवधिमा सिक्किम झोपडपट्टी मुक्त राज्य बनाउने लक्ष्यसितै सिक्किमलाई पूर्ण जैविक राज्य, सत-प्रतिशत साक्षरता दर, नागरिकहरूको स्वास्थ्य सुरक्षा आदि महत्वपूर्ण कार्यक्रमहरू भइरहेका छन्। यी विषयहरूले चाँडै नै राष्ट्रिय स्तरको मान्यता तथा सम्मान पाउने निश्चित देखिन्छ।
महत्वपूर्ण विषय के छ भने आम नागरिकहरूको अति आवश्यक विषय स्वास्थ्य र शिक्षालाई उच्च प्राथमिकता दिएकै कारण पनि सिक्किमलाई भौतिकसितै सामाजिक रूपमा विकास गर्ने पहलमा सफलता प्राप्त हुँदै आएको छ। यसरी नै गाउँबाट शहरतर्फ पलायन हुने क्रमलाई नियन्त्रण गर्ने उद्देश्यमा सरकारले गाउँमा नै अवसर सृजना गर्ने साथै गाउँमा शहरका मूलभूत सुविधाहरू सुनिश्चित गरेर गाउँमुखि कार्यक्रमलाई ध्यान दिएको छ। बजटको 70 प्रतिशत अंश ग्रामीण क्षेत्रमा खर्च गर्ने परम्परा पनि देशका अन्य ठूला-साना राज्यहरूका निम्ति उदाहरणीय कार्य बन्नसक्छ। यसरी नै स्वास्थ्य, पर्यावरण, जलसंरक्षण, नागरिक सुरक्षा, आर्थिक विकास तथा औद्योगीकरण, जलविद्युत परियोजना, ग्रामीण विद्युतीकरण, ग्रामीण सडक, जलापूर्ति, प्राथमिक शिक्षा आदि क्षेत्रमा उदाहरणीय कार्य हुँदै आएको छ। यी विषयहरूले पनि चाँडै नै राष्ट्रिय स्तरमा सम्मान पाउने आशा सिक्किमले गर्नसक्छ। हालै राज्यले चारवटा विषयमा पुरस्कार प्राप्त गरेपछि विगत 18 वर्षमा मुख्यमन्त्री पवन चामलिङको नेतृत्वमा रहेको सिक्किम सरकारले 30 अधिक विषयमा पुरस्कार प्राप्त गरिसकेको छ। वर्तमानमा सरकारद्वारा सञ्चालित अभियान र कार्यक्रमहरूको परिणामअनुरूप राज्यले चाँडै थप विषयमा सम्मान प्राप्त गर्नेछ भन्दा कुनै अत्युक्ति नहोला।
Comments
Post a Comment