जैविक खेतीका विधिहरू

 


प्रस्तवना
सिक्किममा अहिले जैविक खेतीको अभियान शुरू गरिइएको छ। खेती-किसानी गर्दा खेतबारीमा रासयनिक मल प्रयोग गर्न नपाउने वा प्रयोग नगर्ने नियम बनाइएको छ। खेती-बालीमा रासयनिक मल वा फर्टिलाइजरहरू प्रयोग नगर्ने र जैविक मलहरू मात्र प्रयोग गर्ने नियम लागू गरिएको छ। यो नियम लागू गर्नुको पछाडि धेरै गहिरा कारणहरू छन्। किन रासयनिक मलहरू प्रयोग नगर्ने? किन जैविक वा प्राकृतिक मलहरू मात्र प्रयोग गर्ने? के कारणले यस्तो नियम बनाइयो? कसको हितमा यस्तो निर्णय गरियो? आदि-आदि थुप्रै प्रश्‍नहरू अहिले धेरै जनाको मनमा उब्जेको हुनुपर्छ। सर्वप्रथम हामीले यिनै प्रश्‍नहरूको जवाब खोजेर जैविक खेतीका बुनियादी कुराहरूबारे स्पष्ट बन्ने प्रयास गर्नुपर्ने छ।
रासयनिक मल किन प्रयोग नगर्नु?
अन्न-बाली वा फल-फूलहरूलाई धेरै मात्रामा फलाउनाका लागि हामी केमिकल फर्टिलाइजर वा रासयनिक मलहरू प्रयोग गर्छौं। रासयनिक मलहरूको प्रयोगले शुरू-शुरूमा धेरै अन्न-बाली, फसलहरू फलाउन सकिए तापनि लामो समयमा त्यसको असर उल्टो हुँदै जान्छ। यसले उत्पादन मूल्यलाई महँगो बनाउनुसँगै माटोको फलनशीलतालाई नष्ट गरिदिन्छ। अजैविक वा रासयनिक मलको प्रयोगले (क) बिस्तारै-बिस्तारै माटोको मलिलोपना शेष गरिदिन्छ र माटोलाई मारिदिन्छ, (ख) बोटलाई अशक्त र कमजोर तुल्याउँछ, (ग) बोटको रोग प्रतिरक्षण गर्ने क्षमता वा इम्युनिटी पावर वा रोगका किटाणुहरूसँग लड्ने शक्ति घटाइदिन्छ, (घ) बोटमा रोग लाग्छ, (ङ) उत्पादन खर्च बढाउँदै लान्छ।
माटो कसरी मर्छ?
माटोमा बोट-बिरुवालाई चाहिने जम्मा 6 प्रकारका म्याक्रो न्यूट्रियन्ट्स (स्थूल पोषणाहारहरू) अनि 8 प्रकारका माइक्रो न्यूट्रियन्ट्स (सुक्ष्म पोषणाहारहरू हुन्छन्। नाइट्रोजन, फोस्फरस, क्याल्सियम, म्याग्रेसियम, पोटासियम र सोडियम आदि म्याक्रो न्यूट्रियन्ट्स हुन्। अनि क्लोरिन, आइरन, बोरोन, म्याङ्गनिज, जिङ्क, कप्पर, मेलोब्दिनोम र निकेल आदि माइक्रो न्यूट्रियन्ट्स हुन्।
माटोमा पाइने यी न्यूट्रीयन्ट्सहरू नै रूख-पात, बोट-विरुवा अनि पात-पौधाहरूका प्राकृतिक पोषण वा आहारहरू हुन्। यी न्यूट्रीयन्ट्सहरू माटोभित्र हुने जैविक खाद्य-चक्रको कारण निरन्तर बनिरहन्छन्। जसले गर्दा रूख-पात वा उभ्दीदहरूले निरन्तर आफ्नो आहार पाइरहन्छन् र स्वस्थ रहन्छन्। कथंकदाचित त्यो प्रक्रिया रोकिएमा वा माटोबित्रको खाद्य-चक्र बन्द भएमा रूख-पात वा बोट-विरुवाले आहार पाउन छोड्छन्, र आफै मर्छन्।
माटोभित्रको खाद्य-चक्र र त्यसको महत्त्व
उर्वर वा जीवित माटोमा आँखाले देख्न नसकिने अनेकौं मसिना जीवाणुहरू हुन्छन्। जसलाई माइक्रो अर्ग्यानिज्म (सुक्ष्म जीवाणु) भनिन्छ। ब्याक्टेरिया, फंगस, प्रोटोज्वा, नेमाटोड वा गडेउला आदि माटोमा पाइने अर्ग्यानिज्म (जीवाणु)-हरू हुन्। यिनीहरू आ-आफ्ना आहारका निम्ति एक-अर्कामाथि निर्भरशील रहन्छन्। ब्याक्टेरियाको आहार बोट-विरुवा वा रूखको जराको टुप्पोबाट नि:सृत (निस्किएको) ग्लुकोज वा चिनी जातिय पदार्थ भएकोले ब्याक्टेरियाहरू बोटका जरातर्फ आकर्षित हुन्छन्। वार्षिक वा आवधिक रूपमा कृषि गरिने खेतहरूमा ब्याक्टेरियाको अधिकता हुने गर्दछ, अनि दीर्घकालिक फसल लगाइएका खेतहरूमा फंगस बढी पाइन्छन्। यी ब्याक्टेरिया र फंगसहरू प्रोटोज्वाको आहार हुनाले त्यसतर्फ प्रोटोज्वा आउने गर्दछ। फेरि ब्याक्टेरिया, फंगस, प्रोटोज्वालाई नेमाटोडले खाने अनि फेरि ब्याक्टेरिया, फंगस, प्रोटोज्वा, नेमाटोड आदि सबैलाई गडेँ उलाले खाने हुँदा माटोभित्र निरन्तर गतिशीलताको प्रक्रिया चलिरहन्छ, जसले गर्दा माटोमा मलिलोपन कायम रहन्छ। त्यसको साथमा यही प्रक्रियाबीच माइको-अर्ग्यानिज्मका शरीरबाट जे-जे फोहोर-मैलाहरू उत्सर्जन हुन्छन् (वा त्याजिन्छन्), त्यो बोट-विरुवाको आहार हुनाले माटोमा यी कुराहरू हुनु अति जरूरी हुन्छ। अर्थात् जमीनमुनिका सुक्ष्म जीवाणुहरूको उपस्थिति र उनीहरूको खाद्य-चक्रले नै उभ्दीद, वनस्पति वा रूख-पातलाई पोषण र आहारको जोहो हुन्छ। त्यसर्थ यो खाद्य-चक्र निरन्तर चलिरहनु जरूरी छ, र त्यसका लागि उपयुक्त सबै माइक्रो-अर्ग्यानिज्म वा सुक्ष्म जीवाणुहरू माटोमा भइरहनु पनि त्यति नै जरूरी छ। यो प्राकृतिक प्रक्रिया हो र यसले नै बोच-विरुवा वा उभ्दीद आदिलाई आहार उपलब्धी गराएर स्वस्थ बनाइराख्दछ।
जुन माटोमा माइक्रो अर्ग्यानिज्म शेष भएको हुन्छ, त्यो माटो मरेको माटो हो। त्यसमा न त हावा छिर्छ, न पानी नै सोसिन्छ। मरेको माटोमा वषर्आ ऋतुको शुरुवाती पानी केही मात्रामा सोसिए पनि त्यो पानी शुद्ध हुँदैन। प्रदुषित हावाको कारण वर्षाको शुरूवाती पानी विषयुक्त हुनेगर्दछ। त्यस्ता विषहरू जमीनमुनिको पानीको सतहमा गएर मिसिन्छन्। र जमीनमुनिको पानीलाई पनि विषालु बनाइदिन्छ।
रासयनिक मलको दुष्प्रभाव
रासयनिक मलको प्रयोगबाट पहिलो वर्ष भरपूर मात्रामा फसल उत्पादन भए पनि जसै-जसै समय बित्दै जान्छ, तसै-तसै खेतलाई चाहिने फर्टिलाइजरको मात्रा बढ्दै जान्छ। हरेक साल रासयनिक मलको मात्रा बढाउँदै लानुपर्नेबाध्यता आइलाग्छ। केमिकल फर्टिलाइजर बोट-विरूवाको अतिरिक्त वा सम्पूरक आहार भएकोले रासयनिक मल पाएका बोट विरुवाले प्राकृतिक ढङ्गमा आहार निर्मा गर्न छोड्छ।  यसरी फर्टिलाइजरको मात्रा जति-जति बढ्दै जान्छ, फसलको बोट उति-उति कमजोर हुँदै जान्छ। त्यसरी कमजोर बनेको बोट रोगी हुनथाल्छ, अर्थात् बोदहरूमा रोग लाग्नथाल्छ। यो अवस्थामा आइपुगेपछि खेतमा पेस्टीसाइड (किक्षरा आदि मार्नेदवाई), इन्सेक्टीसाइड (किटाणु आदि मार्नेदवाई)-हरूको प्रयोग अनिवार्य हुन आउँछ, र पेस्टीसाइड, इन्सेक्टीसाइजहरूको प्रयोग शुरु हुन्छ।
पेस्टीसाइड्स वा इन्सेक्टीसाइड्सको प्रकोप
वोटलाई रोगबाट बचाउन पेस्टीसाइड, इन्सेक्टीसाइडहरूको प्रयोग गर्नाले प्रकृति, हावा, पानी, माटो आदि-आदि कुराहरूमा पनि नराम्रो प्रभाव पर्नजान्छ। पेस्टीसाइड्स वा इन्सेक्टीसाइड्सहरूको प्रयोगले माटोको माइक्रो अर्ग्यानिज्मलाई नष्ट गरिदिन्छ। माटोमा भेका माइक्तो अर्ग्यानिज्महरू मरेपछि माटोको खाद्यचक्र बन्द हुन्छ। जसले गर्दा माटोको उर्वरता मरेर जान्छ। नतिजा यो हुन्छ कि विस्तारै माटोको नमी हराउँदै जान्छ वा जमीन उब्जाउ हुनछोड्छ, र जमीन बञ्जर बन्दछ। अर्थात् माटो मर्छ। फलत: बोट-विरूवा वा रूख-पात, अन्न-फसल आदिले माटोबाट प्राकृतिक खाद्य आहार पाउन छोड्छन्।
यसको साथमा, पेस्टीसाइड, इन्सेक्टिसाइडहरू प्रयोग गरिएको अन्न-बाली खानाले पेस्टीसाइड, इन्सेक्टिसाइडहरू मानिसको शरीरमा पनि पस्छन्। यसको फलस्वरूप शरीरमा विभिन्न किसिमका रोगहरूले आक्रमण गर्नथाल्छन्।
याद रहोस, केमिकल पेस्टीसाइड, इन्सेक्टिसाइडहरू नष्ट हुँदैनन्। यिनीहरू अजम्बरी हुन्छन्। जबसम्म यिनीहरूको रासयनिक सूत्र
(केमिकल फर्मुला) नष्ट गरिँदैन, तबसम्म यिनीहरूलाई नष्ट गर्नसकिँदैन।
रासयनिक दवाईहरूको प्रयोगले मौरी, पुतली, भँवराजस्ता गुणिला जीवनहरू नासिएर जान्छन्। अन्न-बाली, फल-फूल फलाउन र फुलाउन यी जीवनहरूको अति ठूलो भूमिका हुनेगर्दछ। यिनीहरूले नै उभ्दीदहरूको पराग-सेचन गर्ने काम गर्दछन्। तर रासयनिक दवाईहरूको कारण आज यी गुणिला जीवहरूको संख्या घट्दै गइरहेको हुँदा हिमाचल प्रदेशदेखि लिएर हाम्रै क्षेत्रहरूमा पनि कतिपय फसलहरूको उब्जनीमा कमी आएको देखिएको छ। यो गम्भीर चिन्ताको विषय हो।
केमिकल पेस्टीसाइड वा इन्सेक्टिसाइडहरू प्रयोग गर्दा जति नै सुरक्षाको उपाय अप्नाए पनि सासको माध्यमबाट त्यो हाम्रो शरीरमा प्रवेश गर्छै-गर्छ। जसले अनेक विमारहरू उब्जाउँछ, र फैलाउँछ। आज केमिकल पेस्टीसाइड, इन्सेक्टीसाइडहरू लागेको फल, सब्जी वा अन्न खानाले धेरै प्रकारका क्यान्सर, प्रजनन विकार, स्नायुसम्बन्धी रोग, आश्यमाजस्ता रोगहरू फैलिरहेका छन्।
त्यसो भए केमिकल फर्टिलाइजहरू किन प्रयोग गरियो त?
त्यसको ऐतिहासिक कारण छ।
दोस्रो विश्‍वयुद्धको समय संसारका सबै देशहरूमा युद्धमा होम्मिएको हुँदा त्यस समय खेतीपाती हुनसकेन। खेतीबाली नभएको हुँदा संसारमा खाद्यान्नको कमी भयो। चारैतिर हाहाकार मच्चियो। अभाव, भुखमरी र अनिकाल सबैतिर फैलियो। संसारलाई आइपरेको त्यो समस्यासित जुझ्न छिटोभन्दा छिटो धेरैभन्दा धेरै अन्न उब्जाउनु पर्ने भयो। त्यही कारणले गर्दा खेतमा कृत्रिम मल प्रयोग गर्नु जरूरी भयो, र केमिकल फर्टिलाइजर लगाइयो। यो बाहेक तत्कालै समस्या सुल्झाउने अर्को उपाय थिएन। तर वैज्ञानिकहरूको यो खोज समस्याको क्षणिक वा तात्कालिक समाधान मात्र भयो। दीर्घकालमा यो आपै घातक र नोक्सानदायी सिद्ध हुँदै गयो। आज मान्छेको विनाशको कारण यही भएको छ, र यदि कुनै दिन यो पृथ्वीबाट मानव जाति विलुप्त र विनाश भएमा यसैको कारण हुनसक्ने डरलाग्दो स्थिति आज सिर्जना भएको छ।
के गर्ने त?
प्रकृतिमा दुष्ट किरा-फट्याङ्गाहरू पनि हुन्छन् भने इन्सेक्टिसाइड वा पेस्टीसाइड प्रयोग नगरी धरै छैन रहेछ भन्ने धारणा पनि कतिपय मानिसहरूका मनमा उब्जनसक्छ। तर त्यो सही होइन। जसरी भद्र-भलादमीहरूको गाउँ-ठाउँमा चोर-डाकु पसे सहजै पक्रनसकिन्छ, त्यसरी नै गुणिला जीवाणुहरू अधिक संख्यामा भएको माटोमा पनि दुष्ट किटाणुहरू बाँच्नसक्दैनन्। त्यसैले गुणिला जीवाणुहरूलाई अधिक संख्यामा बढाउनु हाम्रो पहिलो कर्त्तव्य हो। यसो गर्नाले उभ्दीद, वनस्पतिहरूले सबै पोषण र आहार पाउँछन्, उनीहरूको रोग प्रतिरक्षण क्षमता बढ्छ, स्वस्थ रहन्छन्। जैविक खेती गर्नु भनेको यिनै गुणिला जीवाणुहरूको संरक्षण र सुक्षा गरेर खेती-बालीलाई स्वस्थ-सबल तुल्याउनु हो।
यी सबै कुराहरूलाई मध्यनजरमा राखेर सिक्किम सरकारले जैविक खेती गर्ने अभियान शुरु गरेको हो। यो अभियानले सिक्किमको धरती मातालाई रक्खे गर्नेछ, अनि सिक्किमका नागरिकहरूलाई निरोगी, स्वस्थ र दीर्घजीवी बनाउनेछ।
त्यसैले,-सिक्किमको माटोमा भएका सुक्ष्मातिसुक्ष्म जीवाणुहरू (माइक्रो-अर्ग्यानिज्म) लाई रक्षा गर्नु हाम्रो धर्न र कर्त्तव्य हो। किनभने जीवित र स्वस्थ माटो कायम राख्नु जैविक अभियानको पहिलो आवश्यकता हो।
-केमिकल फर्टिलाइजर, युरिया, पेस्टीसाइड, इन्सेक्टिसाइडहरूको प्रयोग गरेर माटोको मलिलोपन शेष गर्नु ठूलो पाप हो। किनभने बञ्जर भूमिमा मानिसको जीवन र अस्तित्व सम्भव छैन।
-केमिकल पेस्टीसाइड, इन्सेक्टिसाइडहरूको प्रयोग गरेर गुणिला कीटपतङ्ग र जीवाणुहरूलाई नाश गर्नु महापाप हो। किनभने यसले प्रकृति वा परितन्त्रको सन्तुलनलाई नष्ट गरिदिन्छ।
-हावा, पानी, माटो सबै शुद्ध राखेर सिक्किमलाई धरतीको स्वर्ग बनाउने पहिलो कर्त्तव्य सिक्किमे किसान र सबै नागरिकहरूको हो। किनभने शुद्ध हावा, शुद्ध पानी र शउद्ध वा जीवित माटो नै स्वस्थ जीवन र स्वच्छ समाजका आधार हुन्।
यति कुराहरू गरिसकेपछि अब केही उपयोगी व्यवहारिक कुराहरू पनि गरौं।
रासयनिक मल वा केमिकल फर्टिलाइजरहरूको बढी प्रयोगले माटोपलाई क्षतिग्रस्त पार्ने र अन्तमा मृत बनाउने कुरा हामीले गरिसक्यौं। अधिक मात्रामा रासयनिक मल प्रयोग गरिएको जमीन वास्तवमा बमबारी गरिएको कुनै शहरजस्तै क्षत-विक्षत भइसकेको हुन्छ। यस्तो अवस्थामा हामीले सबैभन्दा पहिले उद्धार, पुनरुद्धार र पुनर्वासको व्यवस्था तुरन्तै गर्नुपर्नेहुन्छ।
जैविक खेती भन्नासाथ हाम्रा बाजे-बराज्यूहरूले उहिले नै गर्ने खेती-बालीको तौर-तरिका भनेर बुझ्नु गलत हुनेछ। जहाँसम्म खेती-बालीमा रासयनिक मलहरू प्रयोग नगर्ने कुरो छ, त्यहाँसम्म यो कुरो सही भए पनि पूर्ण रूपमा भने यो सोचाई सही होइन। किनभने हाम्रा बाजे-बराज्यूहरूको समयको माटो, पानी र हावा आज छैन। त्यो समयको तुलनामा आज खाद्यान्नको आवश्यकता पनि धेरै गुणा बढेर गइसकेको छ। त्यसैले आजको जैविक खेती पारम्पारिक खेतीभन्दा गुणात्मक रूपमा नै उन्नत, समयसापेक्ष र वैज्ञानिक हुनुपर्नेछ। त्यसैले माटोको गुणवत्ता बढाएर उत्पादन बढाउनु आजको जैविक खेतीको पहिलो लक्ष्य र उद्देश्य हुनुपर्दछ।
सरकारी तौरबाट आज जे-जति सहयोग, मद्दत, सुविधा र सहुलियतहरू दिइँदैछन्, ती यिनै पुनरुद्धार र पुनर्वासका कदमहरू हुन्। सिक्किमलाई पूर्ण रूपमा जैविक भूमि बनाउनलाई अझ धेरै कामहरू हामीले गर्नुपर्नेछ। यसका निम्त्ति कतिपय घरेलु र व्यवहारिक उपचार विधिहरू हामी आफैले अप्नाउनसक्नेछौं।
रासयनिक मललाई प्रयोग नगरेर जैविक र प्राकृतिक मलहरू मात्र प्रयोग गर्नुसँगै माटोको उर्वरतालाई बढाउन र माटो स्वस्थ, जीवित बनाउन हामीले टीकम्पोष्टहरू प्रयोग गर्नसक्नेछौं। टी-कम्पोष्टिङका कतिपय साधारण विधिहरू छन्, तिनलाई अप्नाएर हामी माटोलाई पुनर्जागृत गर्नसक्नेछौं।
कम्पोष्ट तयार पार्ने घरेलु विधि
पहिलो विधि
5 किपलो गोबरको मल र 5 किलो भर्मी कम्पोष्टलाई कपडामा बाँधेर 100 लीटर पानीमा भिजाएर रातभरि राख्नुपर्दछ। यसरी राखिएको वर्त्तनभित्र एक्केरियममा प्रयोग गरिने पाइप लगाएर हावामा भएका अक्सीजन, नाइट्रोजन आदि ग्यासलाई पानीमा घुलिन दिँदा अझ राम्रो कम्पोष्ट बनिन्छ। यसरी रातभरि भिजाइए मलको झोलालाई निकालेर त्यसको रस खेतमा छरिदिनालरे माटोको मलिलोपन बढेर जान्छ। यो रसमा सामान्य मात्रामा गुँड मिसाइएमा त्यो झन् प्रभावकारी हुन्छ। बोटले यदि माटोमा चिनी नि:स्राव (निकाल्ने काम) गरेको छैन भने सो गुँडले सहायकको काम गरिदिन्छ। अर्थात् ब्याक्टेरिया वा फंगस बढाउने काममा त्यसले सहयोग गर्छ।
फसलमा एन.पी.के. प्रयोग गरेजस्तै 15/15 दिनमा टी-कम्पोष्ट फीडिङ गर्नु उचित हुन्छ।
टी-कम्पोष्ट तयार गर्दा सरकारी पिउने पानी प्रयोग गर्नु हुँदैन। सो पानीमा क्लोरिन प्रयोग गरिएको हुन्छ। त्यसले माइक्रो अर्ग्यानिज्मलाई मारिदिन्छ। यस्तो काममा धाराको पानी उपयुक्त हुन्छ।
दोस्रो विधि
बजारमा बिक्री गरिने एक मुठा सिस्नुसँग चार-पाँचबटा केराका बोक्रा वा छिल्का अनि 6 वटा अण्डाका बोक्रा मिसाएर पानीसित मिक्सर-ग्राइण्डरमा पिस्नुपर्छ। त्यसरी पिसिएको मिश्रणलाई 100 लीटर पानीमा घोलेपछि कम्पोष्ट तयार हुन्छ। यो कम्पोष्टलाई बोट-विरुवामा लगाउनाले माटोको गुणवत्ता बढ्छ। सिस्नुबाट नाइटट्रोजन, फलाम, म्याग्रोसियम, केराबाट पोटासियम, अनि अण्डाबाट फोस्फोरस र क्याल्सियम उपलब्ध हुनेहुनाले यो कम्पोष्ट एनपीके मलको तुलनामा धेरै उपयोगी हुनेहुन्छ।
कतिपय रोग, समस्या र तिनका निवारण
क- टमाटरको बोटमा लाग्ने अर्लीब्लाइट रोगको निवारणको निम्ति अमेरिका आदि देशहरूमा कप्पर पाउडर वा तामाको पाउडर छर्किने चलन पनि छ। तर यो पाउडर पनि बेसी मात्रामा प्रयोग भएमा उल्टा हानीकारक हुने गरेको छ। तथापि यो हाम्रो सन्दर्भमा व्यवहारिक छैन। किनभने खेतीमा छर्किने परिमाणको तामाको पाउडर उपलब्धी गर्नसकिंदैन। यसको साटो तामाको गाग्रीमा राखिएको पानी लगाउनाले सो रोगको निवारण हुनसक्दछ।
यसको साथमा टमाटरको बोट तीन सेण्टीमीटरको भएपछि त्यसमा कप्पर वायर वा तामाको तार छेडेर राख्नाले अनि बोटका काला पातहरू नियमित रूपले टिपेर गाड्नाले सो रोगबाट टमाटरलाई पूर्ण रूपले बचाउन सकिन्छ।
ख- टमाटरको बोटमा लाग्ने अर्को रोग पाउडरी मिल्ड्य पनि हो। यो रोळग लागेपछि टमाटरको पातमा पाउडरजस्तो देखिने सेतो दाग देखा पर्न थाल्छ। यो रोग हावाबाट र्फिजिने हुनाले यो रोग लाग्न थालेको हप्ता-दिनभित्र नै बगान सखाप पारिदिनसक्छ।
उपचार-आधा लीटर दूधमा 4 लीटर पानी मिसाएर मिश्रण बनाई त्यसमा एक चम्मच सोडा (बेकिङ पाउडर) घोलेर बगानमा छर्किए यो रोगलाई निर्मुल पार्नसकिन्छ।
ग- कोहपी, आलू आदिको जरामा धेरै मा6ामा कमिला लाग्नेगर्दछ। यसको कारण के हो भने कोपी, आलू आदिको जरा कलिलो हुँदै मशानेकिरा वा रूटफ्लाईले आक्रमण गर्दछ, र त्यसमा चोट पारेर अण्डा छोडिराख्छ। त्यो बिस्तारै लार्भामा परिणत हुँदैजान्छ। मशानेकिराको यो लार्भा कमिलाको आहार भएकोले झुण्डाको झुण्ड कमिला त्यहाँ जम्मा हुन्छन्।
उपचार: आलु, कोपी आदि सब्जीहरूलाई मशानेकिराको आक्रमणबाट बचाउनसकियो भने यो समस्या रहँदैन। त्यसको निम्ति खेती लगाउनासाथ हप्ता दिनसम्म मशाने किरा नछिर्ने जाली बिछ्याइएमा मशानेकिरा लाग्दैन र कमिला पनि लाग्दैन।
यसको साथै, विरूवाको डन्ठीको फेदमा कागजलाई काटेर त्यसको क्याप लगाइदिएर पनि रूटफ्लाईलाई रोक्न सकिन्छ।
घ- टमाटरमा लाग्ने हर्नवर्म टमाटरको पत्ता खाने हरियो रङ्गको झुसुलेकिरालाई हर्नवर्म भनिन्छ, जसलाई हामी सामान्य भाषामा बोक्सी पुतली पनि भन्छौं। यो बोक्सी पुतलीले टमाटरको पत्तापछाडि अण्डा पार्छ, जसबाट लार्भा निस्कन्छ। यसैले पत्ता खान्छ र अलिक हुर्केपछि माटोमुनि जान्छ। पूर्णरूपमा हुर्किएपछि यसले फेरि पत्तामा अण्डा पार्छ। यसलाई नियन्त्रण गर्न 3/4 बिरा लसुन, एउटा प्याज, एउटा डल्ले खोर्सानी, दुई चम्मच डिटर्जेण्ट 2 लीटर पानीसित मिसाएर पातको दुवैतर्फ अनि माटोमा छर्किनाले यो मर्छ।
ङ- लीफ माइनर वा पत्ता खोतल्ने किरा बोट-विरुवाको पातभित्र पसेर भित्र-भित्रै पात खाने किरालाई लीफ माइनर भनिन्छ। यो किराले पातभित्र अण्डा पार्छ। त्यो अण्डाबाट काडिएको बच्चाले पातको भित्री गुदी खान्छ। त्यो बच्चा लार्भाबाट प्यूपा हुँदै जाँदा भुइँमा झर्छ। त्यो प्यूपा ठण्डा महीनाभरि माटोमा बस्छ। फेरि त्यो छिप्पिन्छ, र ग्रीष्मकालमा पत्तामा अण्डा पार्छ। लीफ माइनर लागेको बोटमुनि कागज वा कपडा राखिए, त्यसको लार्भा खसेको देखिन्छ।
उपतार- जमीन खन्दा गहिरो खनिएको खण्डमा लीफ माइनर पुरिएर मर्छ। किनभने यो माटोको माथिल्लो तहमा मात्र बाँच्न सक्छ। तरै पनि यदि यो फैलिएको खण्डमा बोक्सी पुतलीको लार्भालाई झैं 3/4 बिरा लसुन, एुटा प्याज, एउटा डल्ले खोर्सानी, दुई चम्मच डिटर्जेण्ट 2 लीटर पानीसत मिसाएर पातको दुवैतर्फ अनि माटोमा छर्किनाले यो मर्छ।
च- कोपी, रायोसाग आदि सब्जी, जसलाई ब्रासिका परिवारको उभ्दीद मानिन्छ, जसमा एकप्रकारको फंगस लाग्दछ। यो फंगसलाई फास्मोडियोफोरा ब्रासिका भनिन्छ। यस किसिमको उभ्दीद वा फसलको जरामा यो फंगस पसेर प्वाल पार्दछ। जसले गार्द फसलको जरामा गाँडजस्तो विकृति पैदा हुन्छ। यो रोगलाई क्लब रूट भनिन्छ। सामान्य रूपमा बोट जिउँदै भए पनि घाम लाग्दा वा सुक्खा अवस्था हुँदा बोट मुर्झाउँछ। यस्तो किन हुन्छ भन्दा उक्त फंगसले बोटमा चाहिएको पानीको बाटो रोकिदिन्छ। बोटले पानी पाउनछोड्छ र बोट बढ्नसक्दैन, अनि मर्छ। यो फंगस अत्यन्त खतरनाक फंगस हो, किनकी एकचोटि लागेपछि यो फंगसलाई शेष गर्ने कुनै उपाय नै छैन। हामी केवल त्यस रोगबाट बोट वा विरुवालाई जोगाउने उपाय मात्र गर्नसक्छौं।
उपचार-एसिडिक वा अम्लयुक्त माटोमा नै फंगस हुनेगर्दछ। ब्रासिका परिवारका साग-सब्जी रोप्दा बोटको फेदमा एक मुट्ठी डोलामाइट लाइम पाउडर छर्किएर मल लगाई बोट रोप्नाले यो रोगबाट विरुवा वा बोटलाई बचाउन सकिन्छ
छ- टमाटर आदि फसलहरूमा लायो-किरा (एफीड) लाग्ने गर्दछ। यो किराको विशेषता यो हो कि यो जन्मदै गर्भधारणा गरेर जन्मन्छ, र यसले प्रत्येक छ दिनमा बच्चा काढ्छ। त्यसैले यो रोगको किगरा अति छिटो-छिटो फैलन्छ, र बाली स्वाहा पारिदिन्छ।
उपचार- 2 लीटर पानीमा एक चम्मच खाने तेल र चार चम्मच लुगा धुने पाउडर (डिटरजेन्ट पाउडर) मिसाएर बोटमा छर्किनाले यो किराको आक्रमणबाट छुटकारा पाउनसकिन्छ। प्रत्येक 6 दिनमा यसले बच्चा काढ्ने हुंदा पाँच-पाँच दिनको अन्तरालमा यो घोल छर्किनु जरूरी छ।
ज- बन्दाकोपी, फूलकोपी, ब्रोकाउलीजस्ता सब्जीहरूमा पत्ता खाने हरियो झुसुलेकिरा लाग्छ। यी सब्जीहरू रोपेर उम्रेपछि कल्कलाउँदा हुँदै प्वाँखमा कालो दाग भएको सेतो पुतली आउँछ, र पत्ताको पछाडिपट्टि अण्डा पारिराख्छ। केही दिनमा त्यो झुसुलेकिरा बनिन्छ। त्यसले नै पत्ता खान्छ।
उपचार-प्लास्टिकका झिल्झिले टुक्राहरू वा अडियो-भिडियो क्यासेटका टेप (रिबन)हरू खेतमा टाङ्गिदिनाले त्यो पुतली भाग्छ। यदि अघिबाटै पुतलीले अण्डा पारिसकेको वा किरा लागिसकेघको अवस्था छ भने 2 लीटर पानीमा 2 चम्मच नून फिटेर छर्किदिनुपर्छ। त्यसो गर्दा किरा मर्छ। यसको साथमा 3,4 बिरा लसुन, एउटा प्याज, एउटा डल्ले खोर्सानी, दुई चम्मच डिटजेण्ट 2 लीटर पानीसित मिसाएर पातको दुवैतर्फ अनि माटोमा छर्किनाले यो मर्छ।
झ- गुलाबको फूलमा रेड स्पाइडर माइटः गलाबको फूलमा यो विषालु किराले आक्रमण गरिरहन्छ, र यसले फूललाई स्वाहा पार्दछ। यद्यपि यसको जीवनकाल केवल 6 दिनको हुने गर्दछ र यसलाई सुक्खा वातावरण जरूरी हुँदछ तर यसको प्रकोप अति व्यापक हुन्छ ।
उपचार- आधा कप मही, चार कप मैदा र 20 लीटर पानी हालेर 4,5 दिनको अन्तरालमा एक महीनासम्म छर्किएमा यो कुरा समाप्त हुन्छ।
 खेतीबारे केही उपयोगी कुराहरू
क) टमाटरको जरामा लाग्ने रोगलाई निवारण गर्न खेतबारीको बीच-बीचमा सयपत्री रोप्नु जरूरी छ।
ख) बारीमा 8/10 फीटको दूरीमा एलिसम फूल रोप्नाले मौरीहरू आकर्षित हुन्छन्, रे धेर पराग-सेचन गरी उत्पादन बढी गराउन मद्दत गर्दछ।
ग) फल-फूलहरूमा परागसेचन गराउन सबैभन्दा प्रमुख भूमिका मौरीले खेल्दछ। भनिन्छ, संसारबाट मौरी नासिएको केही वर्षभित्रमा नै मानव जाति पनि लुप्त हुनेछ। किनभने पराग सेचनको अबावमा मानिसलाई चाहिने खाद्यवस्तुहरू फल्न वा उब्जन सक्दैनन्। आज कीटनाशक दवाईहरूको अधिक प्रयोगले मौरीको संख्या काफी मा6ामा घटिसकेको छ।
घ) मकैबारीमा सोयाबीन वा भटमास रोप्नाले पनि माटोको नाइट्रोजन बढाउनसकिन्छ।
ङ) बारीमा लसून रोप्नाले पनि दुष्ट किटाणुहरूलाई खेतदेखि टाडा भगाउनसकिन्छ। लसुनको झोल बनाएर खेतमा छर्किनाले पनि फायदा हुन्छ।
च) बहु-फसल लगाउनाले पनि माटोको उर्वरतालाई बढाउँछ।
छ) चाक्रिक रूपमा फसल लगाउनाले पनि माटोको उर्वरता बढ्छ। एउटै खेतमा भिन्न-भिन्न फसल लगाइरहनाले किटाणुहरू झुक्किन्छन्।
रासयनिक मल लगाएर अजैविक खेती गरिरहेका कृषकहरूलाई एकाएक जैविक खेतीमा लाग्दा कतिपय अप्ठ्यारो पनि महसूस हुनसक्दछ। तत्काल धेरै फसल उठाइरहेका किचसानहरूले यो असुविधा नि अनुभव गर्नसक्नेछन्। तर यो केवल अल्पकालिन असुविधा मात्र हो। एकचोटि माइक्रो अर्ग्यानिज्मको खेती गरिसकेपछि वा जैविक खेतीको लागि भूमितयार भइसकेपछि यो असुविधा सामान्य हुनजानेछ। किनभने जैविक खेती दीर्घकालीन खेती हो। एकचोटि जैविक खेती थालनी भएपछि (क) फर्टिलाइजर, पेस्टीसाइड, इन्सेक्टीसाइड आदिमा लगाउनुपर्ने खर्च वर्षेनी लगाइरहनुपर्दैन, (ख) बजारमा जैविक खेतीबाट हुने उब्जनीको दाम अजैविक खेतीको तुलनामा अधिक हुन्छ, (ग) जैविक खेतीमा माइक्रो अर्ग्यानिज्मको संख्या बढाइसकेपछि केवस त्यसलाई कायम राख्न मल मात्र लगाउनु पर्ने हुँदा जैविक खेतीको उत्पादन खर्च बर्षेनी घट्दै जान्छ र (घ) समय बित्नुसँगै उत्पादन खर्च कम हुँदै जाने रबजार-भाउ बढ्दै जाने हुँदा यसबाट लाभ (नाफा) को मात्रा धेरै हुन्छ।
आफ्नो बारीको माटोलाई जिउँदो राख्न,
प्राणघातक बिमारीबाट बच्न अनि बचाउन,
उपचार, डाक्टर र दवाई-पानीको समस्याबाट बच्न र खर्च जोगाउन,
आफ्नो, आफ्नो परिवार र सबैको स्वास्थ्य कायम राख्न,
पुस्तौं-पुस्तासम्म माटोको उर्वरता कायम राख्न,
अनि , सधैं मुनाफा धेरै कमाउन,
जैविक खेती नै अप्नाऔं।

Comments

Popular posts from this blog

भीम दाहालको उपन्यास ‘अभीष्टको खोज’- कृतिपरक अध्ययन- नवीन पौड्याल

मौरी पालन- अनुवाद