पर्यटन शहरका रूपमा एमजी मार्ग


गान्तोक शहर पर्यटन शहरका रूपमा स्थापित भयो। सिक्किमको राजधानी गान्तोकको मुटु मानिने एमजी मार्गले हालैका दिनमा प्राप्त गरेको प्रंशसा र मान्यतासितै वर्तमानमा भइरहेका उत्सव र रमाइला कार्यक्रमहरूले पर्यटकहरूलाई आकर्षित तुल्याएको छ। गान्तोक शहरले अहिले विश्‍वको ध्यान खिच्न सफलता प्राप्त गरेको छ। हालै सिक्किम भ्रमणमा आएका देशका प्रधानमन्त्री नरेन्द्र मोदीले एमजी मार्गको प्रसङ्ग उठाएर यो मार्ग देशका निम्ति उदाहरणीय बनेको बताएका थिए। प्रधानमन्त्रीले गाडीको घुइँचो, फोहोर मैला र अन्य अव्यवस्थित स्थितिलाई मुख्यमन्त्री पवन चामलिङले नवोन्मेशी विचारमार्फत सुधार गर्ने पहल गर्दा धेरै विरोध भएको समेत प्रधानमन्त्रीले उल्लेख गर्दै गान्तोक शहर वर्तमानमा देशको स्वच्छ 10 शहरहरूमध्ये एक बन्न पुगेकोमा सिक्किमे जनतालाई बधाई पनि दिए। स्वच्छ भारत अभियानअन्तर्गत देशका शहरहरूलाई प्रतिस्पर्धी ढङ्गमा स्वच्छ र सुन्दर बनाउने अभियानअन्तर्गत भारत सरकारले गरेको सर्वेक्षणअनुसार सिक्किमको राजधानी गान्तोक शहर स्वच्छ शहरको शीर्ष 10 मा आउन सफल भएको छ। यो वर्ष 2016 को ताजा उपलब्धि हो। देशका प्रधानमन्त्रीलाई राजधानी गान्तोकको इतिहास र वर्तमान थाहा हुनु सानो कुरा होइन। यसअघि देशका शीर्ष नेताले यस्तो प्रंशसा र उदाहरण दिएका थिएनन्।  अर्को महत्त्वपूर्ण कुरा के हो भने,  गान्तोक शहरले वर्ष 2015 को अक्टोबर महिनामा क्लिनेस्ट हिल सिटी अवार्ड पनि प्राप्त गरिसकेको छ। 
पर्यटकहरूले गान्तोक शहरको अवलोकन गर्नसितै इच्छा अनुसारको फोटोग्राफी गरेको देखिन्छ। सबैभन्दा महत्त्वपूर्ण कुरा स्वच्छता भएको छ। यसले गर्दा कुनै पनि आगान्तुक केही क्षणका निम्ति भए पनि एमजी मार्गमा विश्राम गरेर रमाउन चाहन्छ। फूलहरूले सजिएको शहरलाई एकपल्ट अवलोकन गरेपछि सिक्किमको धन हरियो वन स्वर्गको फूलबारी भन्ने कुरा सबैले स्मरण गर्ने गर्छन्। यसलाई जीवन्त राख्न राज्य सरकारले निरन्तर प्रयास गरिरहेको छ। समय समयमा हुने उत्सव र प्रदर्शनीले पनि गान्तोक शहरलाई पर्यटन शहरका रूपमा स्थापित गर्न टेवा दिँदै आएको छ। 23 जनवरीदेखि शुरू भएको रेड पाण्डा विन्टर कार्निभलमा 108 मादलवादकहरूले मादल बजाउँदै गान्तोक शहरको परिक्रमा गरेको दृश्यले पनि सबैलाई छक्क बनायो।  विशेष गरी जाडोको मौसममा पर्यटकहरूलाई आकर्षक गर्नसितै उनीहरूमा जोश भर्न यो पहल अति नै उदाहरणीय भएको छ। 
राज्य सरकारले पर्यटनलाई  प्रमुख उद्योगका रूपमा स्वीकार गरेर शुरू गरिएका नवोन्मेशी पहलहरूले पर्यटनका हितधारकहरूलाई सन्तोषजनक लाभ प्राप्त भइरहेको छ। यसको साथै दिन प्रतिदिन राज्यमा पर्यटकहरूको आगमनमा भएको वृद्धिले व्यापर साथै अन्य कारोबारलाई पनि धेरै फाइदा भएको छ। यद्यपि, यो सफलतालाई अब राज्यको राजस्व आर्जन गर्ने विषयतर्फ सोच्नुपर्ने समय पनि आएको छ। गान्तोक शहरले जुन सफलता प्राप्त गरेको छ सोहीअनुरूप  सरकारी खातामा के कति लाभ हुँदैछ वा जोड्न सकिन्छ त्यसतर्फ सोच्नु आवश्यक बन्दै गएको छ। लाखौं करोडौंको कारोबारको व्यापार धन्धा भए तापनि यसमार्फत सामाजिक कल्याणका कार्यहरू न्यून भएको वा हुँदै नभएको कुराहरू पनि चर्चामा आउने गर्छ।

Comments

Popular posts from this blog

भीम दाहालको उपन्यास ‘अभीष्टको खोज’- कृतिपरक अध्ययन- नवीन पौड्याल

मौरी पालन- अनुवाद