सम्पर्क माध्यमको सुधारमा सकारात्मक पहल
सिक्किमको सम्पर्क माध्यम सडक, रेलमार्ग र हवाई मार्गलाई सुधार गर्ने विषयमा राज्य सरकारले निरन्तर पहल गर्दै आएको छ। यसपल्ट केन्द्रमा प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्त्वमा रहेको सरकार सिक्किमको सम्पर्क माध्यमलाई सुधार गर्न गम्भीर रहेको कुरा अहिले विभिन्न केन्द्रिय मन्त्रीहरूले दिएको बयानले स्पष्ट गरेको छ। 8 जनवरीको दिन नयाँ दिल्लीमा आयोजित पत्रकार सम्मेलनको अवसरमा पूर्वोत्तर क्षेत्र विकास (डोनर) मन्त्री डा. जितेन्द्र सिंहले सिक्किमको पाकिममा निर्माणाधीन ग्रीन फिल्ड हवाई अड्डाको निर्माणकार्य प्रगतिमा रहेको र यो वर्ष 2017 देखि सञ्चालन हुने बताएका छन्। डा. जितेन्द्र सिंहले पाकिम हवाई अड्डाको निर्माणकार्य पुरा भए पछि सिक्किम क्षेत्रको एउटा अति नै सुन्दर गन्तव्यका रूपमा उदय हुने पनि बताए। अझ महत्त्वपूर्ण विषय के छ भने, डा. जितेन्द्र सिंहले नरेन्द्र मोदीको नेतृत्त्वमा रहेको केन्द्र सरकारले चाँडै नै सिक्किमलाई भारतको रेल मानचित्रमा सामेल गर्ने बताएका छन्। उनले प्रधानमन्त्री नरेन्द्र मोेदी केन्द्र सरकारमा आउन साथ मेघालय र अरूणाचल प्रदेशलाई भारतको रेल मानचित्रमा सामेल गरिसकेको र अब पालो सिक्किमको भएको स्पष्ट गरेका छन्। यो सितै डा.जितेन्द्र सिंहले सिक्किमका निम्ति पश्चिम बङ्गालबाट गान्तोकसम्म वैकल्पिक राष्ट्रिय राजमार्ग र रोप्वेको योजना पनि उल्लेख गरेका छन्।
स्मरण गराइन्छ, मुख्यमन्त्री पवन चामलिङले 3 दिसम्बर 2015 को दिन केन्द्रिय सडक परिवहन तथा राजमार्ग मन्त्री नीतिन गडकरीसितको भेटका अवसरमा बाख्राकोट-नथुला सीमामाझ दुई लेनको वैकल्पिक राजमार्ग हुनु पर्ने विषयसितै राज्यको सडक मार्गहरूको निर्माण र मरम्मति साथै अन्य विषयमा बातचीत गरेका थिए। जवाफमा केन्द्रिय मन्त्री नीतिन गडकरीले सिक्किमको सडक सम्पर्कलाई विश्वस्तरमा विकसित गर्ने, बागडोग्रादेखि सिक्किमसम्म चार लेन सडक निर्माण चाँडै गर्ने र सिक्किमको राज्य राजमार्गलाई राष्ट्रिय स्तरको मानकमा मरम्मति गर्ने वचन दिएका छन्।
अर्को महत्त्वपूर्ण विषय के छ भने, केन्द्र सरकारको पर्यटन मन्त्रालय अन्तर्गत पूर्वोत्तर भारत सर्किट क्षेत्र अन्तर्गत स्वादेश दर्शन योजनाको लाभ पनि सिक्किमलाई प्राप्त भएको छ। यस योजना लाभले सिक्किमको सडकलाई विश्वस्तरमा विकसित गरिने छ। यस योजना अन्तर्गत रम्फू प्रवेशद्वारदेखि रोडाथाङ, आरिटार, फदमचेन, नाथाङ, सेरेथाङ, छङ्गु, गान्तोक, फुदुङ, मगन, लाचुङ, युमथाङ, लाचेन, थाङ्गु, गुरूदोङमार, मगन, गान्तोक, तुमिन लिङ्गी भएर सिङताम सडकसम्मको सडकलाई विकसित गरिनेछ।
केन्द्रिय मन्त्री र सम्बन्धित मन्त्रालयहरूको माथि उल्लेखित बयानहरूसितै केन्द्र सरकारले रम्फूसम्म ब्रोडगज रेल लाइन बिछ्याउने सम्बन्धमा जमिन अधिग्रहण गर्ने सूचना समेत प्रकाशमा आएपछि चाँडै नै सिक्किमले आफ्नो सम्पर्क माध्यमलाई सुधार गर्ने विषयमा गर्दै आएको पहललाई सफलता प्राप्त हुनेछ।
Comments
Post a Comment