ऐतिहासिक अवसर


१२ वर्षको निरन्तर परिश्रमपछि सिक्किम जैविक कृषिको क्षेत्रमा देशलाई नेतृत्त्व दिन सक्षम भएको छ। सिक्किम राज्यले वर्ष २००३ देखि नै जैविक खेतीको निम्ति सङ्घर्ष शुरू गरेको हो। वर्ष २००३ मा नै सिक्किम विधानसभामा सिक्किमलाई पूर्ण जैविक राज्य बनाउने घोषणा गरिएको  हो। त्यसपछि जैविक कृषिको निम्ति रोडम्याप र कार्य योजनाहरू तयार गरियो। कृषकहरूलाई रसायनिक मलको प्रयोग नगर्ने सल्लाह दिँदै वर्ष २००३ देखि नै निरन्तर रसायनिक मलमा प्रदान गरिने छुट बन्द गरेर २००८ सम्ममा छुटलाई पूर्णरूपले बन्द गरियो। त्यसपछि राज्यमा जैविक खेतीका निम्ति जैविक मल बनाउन शुरू भयो। जैविक कृषिका निम्ति आवश्यक क्षमता विकासका कार्यक्रमहरू भए। यसरी नै फसलोत्तर आवश्यक पूर्वाधारहरू र बीज प्रसंस्करण केन्द्रहरू स्थापना गरियो। वर्ष २००८ मा माटो जाँचका निम्ति प्रयोगशाला स्थापना गरियो। यसरी नै २००६ देखि २००९ को अवधिमा ९ वटा भर्मिकल्चर हेचेरी स्थापना गरियो। यसरी नै पश्‍चिम सिक्किमको बीरदाङमा अदुवा प्रसंस्करण इकाईको स्थापना गरियो भने २००९ मा नै बायो फर्टिलाइजर(जैविक मल) उत्पादन एकाई स्थापना गरियो। त्यसपछि २००९ यता नै अनुसन्धानमार्फत प्राविधिक विकास शुरू गरियो। यसका निम्ति आइसीसीओए बैङलोरको परामर्श सेवा पनि लिइयो। वर्ष २०१० देखि राज्यमा जैविक खेतीको तेस्रो चरण शुरू भयो। त्यसपछि अगस्त २०१० मा सिक्किम जैविक मिशन मिशनमोडमा अघि बढ्यो। यसरी नै विभिन्न तीनवटा जीविकोपार्जन स्कूलहरू स्थापन  गरेर ८ सय अधिक शिक्षित युवाहरूलाई तालिम प्रदान गरेर उनीहरूलाई अन्तरिम नियन्त्रण प्रणाली र प्रमाणीकरणका निम्ति संलग्न गराइयो। यसरी विभिन्न चरणहरू पार गर्दै दिसम्बर २०१५ सम्ममा राज्यले ७४ हजार ३०३ हेक्टर कृषि भूमिलाई जैविक खेती भूमिका रूपमा परिणत गर्न सफलता प्राप्त गर्‍यो। यो सफलतापछि दिगो कृषिका निम्ति सङ्घर्ष गरिरहेको देशले, देशको खाद्य र पोषण सुरक्षाका निम्ति  जैविक खेती पनि एउटा महत्वपूर्ण विषय हो भन्ने कुरालाई स्वीकार गर्‍यो। यस विषयलाई अझ व्यापक बनाउँदै तथा पूर्वोत्तर राज्यहरूमा जैविक कृषिको व्यापक क्षमता भएको कुरालाई ध्यानमा राख्दै प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भएको केन्द्र सरकारले जैविक कृषिलाई राष्ट्रिय मुद्दा बनाएर अघि बढाउन सहयोग गर्ने निर्णय लियो।
यसैको फलस्वरूप १७ जनवरी २०१६ को दिन राजधानी गान्तोकको चिन्तन भवनमा शुरू हुने दिगो कृषि र कृषक कल्याण सम्बन्धित राष्ट्रिय सम्मेलनमा सिक्किमले नेतृत्व गर्ने अवसर प्राप्त गरेको छ। सिक्किमले राष्ट्रिय सम्मेलनको पहिलो तक्निकी सत्रमा जैविक कृषि र माटोको स्वास्थ्य प्रबन्धन मार्फत दिगो कृषि विषयअन्तर्गत नेतृत्व गर्नेछ। यस सत्रमा सिक्किमले १२ वर्षको अवधिमा प्राप्त गरेको सफलतालाई जैविक  खेती अप्नाउन चाहने अन्य राज्यले अनुसरण गर्ने नै छन्। सफल जैविक कृषिका निम्ति उत्पादन तक्निकीको विषयदेखि लिएर बिऊ बिजन, जैविक खेतीका नियम, बजार व्यवस्थापन, माटोको स्वास्थ्य, क्षमता विकास र उद्यमी सबै विषयमा सिक्किमले  देशसमक्ष आफ्नो अनुभव राख्ने अवसर प्राप्त गरेको छ। सिक्किम पूर्ण जैविक राज्य हुनु एउटा ऐतिहासिक विषय हो। यो सिक्किम र सिक्किमका कृषक समुदायका निम्ति गर्वको विषय हो। 

Comments

Popular posts from this blog

भीम दाहालको उपन्यास ‘अभीष्टको खोज’- कृतिपरक अध्ययन- नवीन पौड्याल

मौरी पालन- अनुवाद