सामाजिक दायित्व सबैले लिन आवश्यक


सिक्किम हाम्रो हो, सिक्किम राम्रो भए सबैलाई राम्रो हुन्छ, सिक्किमको विकास प्रगति र समृद्धिसितै सुनाम फैलिँदा त्यसको लाभ प्रत्येक नागारिकलाई प्राप्त हुँदछ। यो विचार प्रत्येक नागारिकमा हुँदा नै सिक्किमको प्रगति निश्‍चित छ अनि सिक्किमको छविलाई अझ उचाईंमा पुर्‍याउन सकिन्छ। विगत केही दिनको अवधिमा सिक्किम राज्यमा भएका छुटपुट घटनाले राज्यको छविलाई धमिल्याउने नकारात्मक विषयहरू दर्शाएको छ। सिक्किम अहिले पूर्ण जैविक राज्यको उत्सवसितै देशका प्रधानमन्त्री नरेन्द्र मोदीको आगमनलाई लिएर तयार भएको छ। यसका निम्ति राजधानी गान्तोक वरिपरि साथै जैविक उत्सवको प्रमुख स्थलहरूलाई सजाउने काम भएको छ। यद्यपि, कतिपय नकारात्मक सोच भएका व्यक्तिले फूलको गमलाहरू फुटाएको गमलाहरू चोरेको कुराहरूले आफ्नोपनको भावना नभएको तथा कतिपय नकारात्मक शक्तिले सिक्किमको छविलाई धमिलो बनाउने प्रयास गरेको दर्शाउँछ।
यस्ता छुटपुट घटनाहरूमा कतिपय स्थानमा स्ट्रीट लाइट फुटाउने, प्रचार प्रसारका ब्यानरलाई ढुङ्गा हिर्काउने, पटेका पढ्काउने, फोहोर मैला जताततै फ्याँक्ने गरेको पनि देखिन्छ। हालै सिङताममा सार्वजनिक सम्पत्तिलाई नष्ट गरिएको घटना पनि प्रकाशमा आयो। वास्तवमा हेर्दा यी साधारण घटना भए तापनि यसलाई समाजले मूल्याङ्कन गरेर नियन्त्रण गर्न नसके भविष्यमा यसले सिक्किमको छविलाई धमिल्याउन सक्छ। जैविक राज्यको घोषणा पछि सिक्किमलाई प्राप्त हुने लाभ अथवा प्रधानमन्त्रीको भ्रमणबाट सिक्किमलाई प्राप्त हुने लाभको पनि ईर्ष्या कसलाई हुँदैछ त्यो एउटा गम्भीर प्रश्‍न छ। अहिले जैविक उत्सवको तयारीमा पुलिस प्रशासनलाई सर्वाधिक महत्व उत्सव परिसरमा भएको सम्पत्तिलाई जोगाइ राख्न एउटा चुनौतीपूर्ण विषय बनेको छ। यी विषयहरूले प्रशासनलाई अझ गम्भीर भएर सा-साना घटनाहरूबाट शिक्षा लिएर त्यसलाई ठूलो हुन र राज्यलाई बद्नाम हुन नदिन आवश्यक छ।
राजधानी गान्तोककै कुरा गर्नु पर्दा फुटपाथको रेलिङलाई काटेर व्यक्तिगत सुविधा मात्र हेर्ने गरिएको तर सामुहिक हित र राजधानीको सुन्दरतालाई अनदेखा गरिएको विषय पनि उत्तिकै गम्भीर छ। विगत दुई दशकदेखि राज्यमा स्थापित गरिएको शान्ति, शहरहरूको सुन्दरीकरण, स्वच्छता आदि विषयले सिक्किमको छवि राम्रो भएको छ। यद्यपि, यसलाई सुरक्षित राखेर सिक्किमको छविलाई सदैव राम्रो बनाउन केवल पुलिस र सरकारको मात्र दायित्व हो भन्ने कुराबाट समाजमुक्त हुन आवश्यक छ। समाजका नकारात्मक गतिविधिलाई नियन्त्रण गर्न समाज नै अघि आउनु पर्ने सिक्किम बाहिर वर्तमानमा भइरहेका नकारात्मक गतिविधिहरूले पनि इसारा गरिरहेको छ।
विगत दुई दशकमा सिक्किमले सीमा राज्यको परिभाषालाई नै परिवर्तन गर्न सफलता प्राप्त गरेको छ। कतिपय नकारात्मक सोच भएका व्यक्तिले सिक्किमको छविलाई धमिलो बनाउन नकारात्मक शक्तिलाई आश्रय दिन सक्छन् वा शान्तिपूर्ण राज्यलाई आश्रय लिने सुरक्षित स्थानका रूपमा पनि चयन गर्न सक्छन् भन्ने कुरा गम्भीर छ। देशको आतङ्की गतिविधिलाई पूर्णरूपले निर्मूल पार्न सेना-सुरक्षाकर्मी, पुलिस प्रशासनसितै नागारिकवर्गको पनि सामुहिक दायित्व हुनुपर्छ भन्ने विषयलाई उच्च प्राथमिकता दिइदैछ।
यहाँ सिक्किमलाई विकसित र समृद्ध राज्यका रूपमा स्थापित गराउन भौतिक प्रयाससितै वैचारिक परिवर्तनको आवश्यकता खट्किन्छ। यद्यपि, अहिले स्थिति त्यत्ति गम्भीर नभए तापनि सिक्किमको सुनामलाई सुरक्षित राख्न नागारिक समाजले पनि एकपल्ट गम्भीर भएर सोच्नु पर्ने समय छ।

Comments

Popular posts from this blog

भीम दाहालको उपन्यास ‘अभीष्टको खोज’- कृतिपरक अध्ययन- नवीन पौड्याल

मौरी पालन- अनुवाद