यसरी उपलब्धिमूलक बन्नेछ नयाँ वर्ष २०१६
नयाँ वर्ष २०१६ मा प्रवेश भइसकेका छौं। नयाँ वर्षको आगमसितै यो वर्ष सिक्किमको निम्ति कस्तो रहने हो त्यो अति नै महत्वपूर्ण विषय छ। बितेको वर्षमा घटेका विभिन्न घटनाहरू सबै नै सिक्किम र सिक्किमेको पक्षमा भएको कुरालाई हामीले स्वीकारेका छौं, अनि वर्ष-२०१६ सिक्किमको विकास, समृृद्धि र प्रगतिका निम्ति धेरै महत्वपूर्ण हुनेछ। यसका निम्ति सबैले कामना पनि गरिरहेका छन्। विकाससितै राज्यमा स्थापित शान्ति, नागरिक सुरक्षाको विषय पनि उतिकै महत्वपूर्ण, जसको कामना सबैले गरेका नै हुन्छन्।
यस वर्षको पहिलो महिनामा देशका प्रधानमन्त्री सिक्किम भ्रमणमा आएर सिक्किमलाई पूर्ण जैविक राज्य घोषणा गर्ने कुराले सर्वाधिक महत्व पाइरहेको छ। अवश्य नै यो घोषणापछि सिक्किम अवसरहरूको राज्य बन्नेछ। कृषिसितै यसले कृषि अद्योग, पर्यटनमा पनि व्यापक अवसरहरू सिर्जना गर्नेछ। कृषि उत्पादको माग बढनुसितै यसले कृषिका नयाँ उद्यम विकसित गर्न, कृषी-बजार व्यवस्थापनमा नयाँ आयाम जोड्ने, कृषि र पर्यावरणविद्हरूलाई अध्ययनका निम्ति आकर्षण गर्ने नै छ। यसले गर्दा समग्रमा सिक्किमको कृषिप्रति देश नै आकर्षित बन्ने छ, यो निश्चित छ।
कृषिपछि सिक्किमले यस वर्ष पर्यटन, सडक सम्पर्क, कौशल विकास, शिक्षा, पर्यावरण संरक्षण, पञ्चायती राज अनि शक्तिविकेन्द्रीकरण, सबैका निम्ति पक्का आवास आदि विषयमा राम्रो प्रदर्शन गर्ने सक्छ। पर्यटनमा नवीन तथा नवोन्मेशी प्रयोग गर्दै आएको राज्यले यसवर्ष बौध पर्यटनसाथै तीर्थ पर्यटनको क्षेत्रमा शुरू गरेका कार्यहरू तार्किक निष्कर्षमा पुग्ने निश्चित हुँदा यसले देशको ध्यान खिच्न सफलता प्राप्त गर्नेछ। कौशल विकासको सन्दर्भमा सिक्किमले एकलै काम गर्दै आएको थियो। देशमा अहिले यस क्षेत्रको विकास गर्न छुटै मन्त्रालय शुरू गरिएको छ। मन्त्रालले सिक्किमलाई कौशल विकासमा सहयोग गर्न थालेको छ। यसर्थ यस क्षेत्रमा पनि सिक्किमले यस वर्ष डिस्टिङसन प्राप्त गर्न सक्छ।
पर्यावरण संरक्षणमा सिक्किमले सदैव देशमा अनुकरणीय कार्य गर्दै आएको छ, बस यसलाई सही मुल्याङ्कनको आवश्यकता छ। यसरी नै पञ्चायती राज र शक्ति विकेन्द्रीकरणमा सिक्किमले गरेको कार्य पनि उतिकै महत्वपूर्ण छ। हुन त यस विषयमा सिक्किमले बितेको वर्षमा पनि धेरै पुरस्कारहरू पाइसकेको छ।
सबैकै निम्ति पक्का आवास अवश्य नै यो विषय पूर्ण जैविक राज्यपछि सिक्किमको सर्वाधिक चर्चा विषय बन्नसक्छ। हालै मुख्यमन्त्री पवन चामलिङले नागी पर्यटन उत्सवको अवसरमा आगामी मार्च महिनादेखि रहल बनाउनु पर्ने घरहरूको निर्माण गर्ने कामलाई गति प्रदान गर्ने, लाभार्थीहरू निश्चिन्त बस्नु भन्ने कुराले यस वर्ष थप खुशीयाली ल्याउनेछ। अर्को महत्वर्पूण कुरा के छ भने, सिक्किम देशको साना राज्यमा सिक्किम सर्वाधिक सडक घनत्व भएको राज्य हो। केन्द्र सरकारले प्रधानमन्त्री ग्रामीण सडक योजनाअन्तर्गत निर्माणाधीन सडक र निर्माण गरिने सडकको निर्धारित समयलाई अघि सारेको छ, यसले देशमा सडक निर्माणलाई गति प्राप्त हुनेछ। यसको लाभ सिक्किम जस्तो सानो राज्यलाई अवश्य नै हुनेछ। शिक्षाको क्षेत्र सिक्किमले गरेका कार्यहरू पनि धेरै महत्पूर्ण छन्। विशेष सामाजिक समानताका निम्ति शुरू गरिएका कार्यक्रमरू देशका निम्ति नै अनुकरणीय बनेको छ। सोझै भन्नु पर्दा कलेज र विश्वविद्यालयसम्म निशुल्क शिक्षा दिने नीतिलाई कुनै राज्यले अनुकरण गर्ने आँट गर्दैन होला।
यद्यपि, यी सबै सफलताका निम्ति सामूहिक जिम्मेवारी हुन आवश्यक छ। सरकारको सबै महत्वकांक्षी योजनालाई सफल बनाउन जन सहभागी भए यो वर्ष सिक्किमले थप प्रगति गर्ने धेरै सङ्केतहरूले ढोका ढकढक्याई रहेको छ। यसरी, वर्ष २०१६ सिक्किमको निम्ति उपलब्धिमूलक हुने छ।
Comments
Post a Comment