पूर्वोत्तरको भाग्य उदय हुने आशा
पूर्वोत्तरको भाग्य
उदय हुने आशा
दिल्ली चुनाउको समयमा पूर्वोत्तर भारतका नागरिक विषय लिएर गरिएको नकारात्मक टिप्पणी र विवाद पछि अहिले केन्द्र सरकारले यस विवादित र नकारात्मक टिप्पणीलाई सुधार्ने प्रयासमा पहल शुरू गरेको छ। पूर्वोत्तरका विद्यार्थीका निम्ति दिल्लीमा छात्रावास, केन्द्रिय मन्त्रीहरूलाई पूर्वोत्तर भारतको नियमित भ्रमण गर्ने विषयमा प्रधानमन्त्रीको निर्देश पछि अहिले प्रधानमन्त्री पूर्वोत्तर भारतको विकासका निम्ति विषय योजनाहरूको घोषणा गरेका छन्।
देशको विकासमा ‘मेक इन इन्डिया पहल’ शुरू गरेको र पूर्वोत्तर भारतका निम्ति ‘मेक इन पूर्वोत्तर अभियान’ चलाउन जुन निर्देश डोनर मन्त्रालयलाई भएको छ त्यसले अवश्य नै पूर्वोत्तर भारतको विकासमा कायपलट हुने सम्भावनालाई अस्वीकार गर्न सकिन्न। मेक इन इन्डिया पहलले देशमा निवेशको अवसरलाई सरलीकरण गर्ने, निवेशकहरूका निम्ति आवश्यक वातावरण सिर्जना गर्ने, यसमार्फत आवश्यक पुर्वाधार विकास गर्ने, रोजगार सिर्जना गर्ने, पर्यावरणलाई क्षति नपुर्याइ दिगो विकास गर्ने आदि विषय सितै समग्रमा देशको विकास गर्नु रहेको छ। यसरी नै पूर्वोत्तर भारतको निम्ति ‘मेक इन पुर्वोत्तर अभियान’ चलाइएमा समग्र पूर्वोत्तर भारतको विकास सम्भव हुनेछ अनि यस लक्ष्यमा कार्य गर्ने सङ्केत केन्द्र सरकारले दिइसकेको छ।
पूर्वोत्तर भारतको सम्पर्क साधन अतिनै दयनीय अवस्थामा छ। सडक, रेल, हावाई, टेलिफोन-इन्टरनेट सबै क्षेत्रले विकासको प्रतीक्षा गरिरहेको छ अनि प्रधानमन्त्रीले यसै विषयलाई प्राथमिकता दिएर पूर्वोत्तर भारतको सम्पर्क साधनको विकास गर्नु नै राष्ट्रको विकास हो भन्ने कुरालाई स्वीकार गर्नु पूर्वोत्तर भारतका राज्यहरूका निम्ति सकारात्मक सङ्केत मान्नु पर्छ।
पूर्वोत्तर भारतको कृषि क्षेत्रलाई अद्वतीय परिचय गराउने विषयमा पनि केन्द्र सरकारले प्राथमिकता दिएको छ। यसका निम्ति 6 वटा कृषि महाविद्यालय स्थापना गर्ने, जैविक कृषिलाई प्रोत्साहन गर्ने जस्ता विषयलाई सामेल गरिएको छ। पुर्वोत्तर भारतका नागरिक रोजगार र शिक्षाको निम्ति देशका अन्य स्थानमा पलायन हुने गर्छन। कतिपय स्थान र अवस्थामा पूर्वोत्तर नागरिक देशका अन्य राज्यमा अपमानित हुने र आफ्नै देशभित्र असुरक्षित अनुभव गर्ने गर्छन्। किनारीकृत महशुष गर्ने गरेका छन्।
यद्यपि, पूर्वोत्तर भारतको संसाधनलाई स्थानीय स्तरमा नै विकसित गरेर यसमार्फत स्थानीय स्तरमा नै रोजगार र अवसर सिर्जना गरेमा शिक्षित वेरोजगारलाई आफ्नै ठाउँमा रोजगारको अवसर प्राप्त हुने र यसले रोजगारको निम्ति पलायन हुने र प्रवासमा असुरक्षा अनुभव गर्नु नपर्ने अवस्था सिर्जना गर्ने पहललाई पनि स्वीकार गर्नुपर्छ।
विगतमा छिमेकी राष्ट्रको भयका कारण उत्पन्न विकासको अवरोधलाई तोडदै विकासको गतिलाई अघि बढाउने जुन अठोट लिएर केन्द्र सरकारले अहिले जुन काम गर्दैछ त्यसको परिणाम आउन समय लाग्छ। तर पनि विकास गर्ने योजना र सम्पर्कसाधन, पर्यटन, कृषि, उद्योग-कलकारखाना, शिक्षा नीति र यसको सार्थकतालाई हेर्दा पूर्वोत्तरको भाग्य उदय हुने आशा राख्न सकिन्छ।
Comments
Post a Comment