सिक्किमको क्षमता विकास कार्यक्रम चर्चामा
सिक्किम सरकारले वर्ष 2002-मा नै क्षमता विकास कार्यक्रम शुरू गरेको हो। यस विषयमा सिक्किम देशमा नै अग्रपंक्तिमा रहेको छ। वर्ष 2007 को 26 मार्चको दिन मुख्यमन्त्री पवन चामलिङले राज्यमा क्षमता विकास निर्देशालय खोल्ने घोषणा आफ्नो बजेट भाषणमा गरेका थिए। मुख्यमन्त्रीले पञ्चायती राज संस्थान र सबै विभागहरूलाई आफ्नो बजेटको दुई प्रतिशत भाग क्षमता विकास कार्यका निम्ति प्रयोग गर्ने निर्देश पनि दिएका थिए। यस पछि 31 अक्टोबर 2009-मा राज्य मन्त्रीमण्डलले सबै समष्टिहरूमा जीविकोर्पाजन स्कूल खोल्ने निर्णय गरेको थियो।
शिक्षित युवाको बढ्दो सङख्या र बेरोजगारीको समस्या विश्वको समस्या हो। यो विषयबाट सिक्किम अछुतो छैन। तर यस विषयलाई सम्बोधन गर्न सिक्किम सरकारले विषेश नवीन प्रयोगमार्फत नीति र कार्यक्रम शुरू गर्यो। सिक्किमले शुरू गरेको कार्यक्रम राज्यसितै राष्ट्र कै निम्ति अनुकरणीय भएको कुराको शुरूमा मुल्याङ्कन नगरिए तापनि अहिले सिक्किमले शुरू गरेको कुराको मुल्याङ्कन हुन थालेको छ।
सरकारले शुरूमा क्षमता विकास कार्यक्रम विभागमार्फत सञ्चालन गरेको थियो। पछि यसलाई छुट्टै निर्देशालय र संस्थानमार्फत सञ्चालन गर्न थालिएको हो। सरकारले राज्यका युवाहरूलाई राष्ट्रिय र अन्तरराष्ट्रियस्तरमा सिर्जना हुने अवसरको फाइदा उठाउन सकुन भनेर नै कार्यक्रमहरू बनायो। यसले क्षमता विकासमा सहभागी बन्ने युवा अहिले राज्यसितै राष्ट्रियस्तरमा सिर्जना हुने अवसरको लाभ उठाउन सफल भए। यसको आँकडा सम्बन्धित संस्थानमा उपलब्ध छ। अझ महत्वपूर्ण कुरा के छ भने सरकारले राज्यभित्र हुन नसक्ने तालिमका निम्ति राज्य बाहिर पठाएर पनि क्षमता विकस गराएर युवाहरूलाई आत्मनिर्भर बनाउने काम गरेको छ। युवाहरू आत्मनिर्भर बन्नु नै सिक्किम आत्मनिर्भरको दिशामा अघि बढनु हो। अर्को कुरा बजारको मागअनुसारको तालिम दिन क्षमता विकास संस्थानले देशको नामी संस्थानको सहयोगमा पाठ्यक्रम तयार गरेर स्तरीयतालाई कायम राख्न सफल भएकै कारण सक्षम युवाहरू रोजगारका निम्ति योग्य बन्दैछन। यस कार्यक्रममा सिक्किमले विस्तारै मान्यता पाउन थालेको छ। राष्ट्रिय अध्ययन टोलीले अध्ययनको निम्ति सिक्किमलाई चयन गर्नु सिक्किमको निम्ति ठूलो उपलब्धी पनि हो।
केन्द्रमा प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा नयाँ सरकार आएपछि क्षमता विकासको क्षेत्रमा छुट्टै विभाग र मन्त्रालय शुरू गर्ने निर्णय लिएर यसलाई उच्च प्राथमिकता दिएको छ। केन्द्र सरकारले यस विषयलाई अझ प्रभावकारी रूपमा अघि बढाउन अध्यायन, अनुसन्धान शुरू गरिसकेको छ। सिक्किममा पहिला नै शुरू भएको क्षमता विकास कार्यक्रम देश तथा विशेष गरी पूर्वोत्तर भारतका निम्ति अनुकरणीय भएको कुरालाई ध्यानमा राखेर अध्यायन गरिएको छ। सिक्किमले आफ्नो कार्यक्रमलाई राष्ट्रियस्तरमा प्रस्तुत गर्ने अवसर प्राप्त गरेको छ। यसले सिक्किम सरकाले शुरू गरेको कार्यक्रमलाई थप बल प्राप्त हुने निश्चित भएको छ।
Comments
Post a Comment