अब सिटी टुरिजम (SIKKIM CITY TURISM)
‘सिक्किमको धन हरियो वन स्वर्गको फूलबारी।’ यही विषयलाई चरितार्थ बनाउन एसडीएफ सरकारले निरन्तर सङ्घर्ष गर्दै आएको छ। सिक्किमको हरियाली संरक्षणसितै यसलाई आयको स्रोत बनाउन तथा विश्वलाई सिक्किमको परिचय हरियाली र वन तथा पर्यावरण संरक्षणमार्फत दिने काम एसडीएफ सरकारले गरेको छ। सिक्किमको वन क्षेत्रको प्रतिशत निरन्तर बढदै गएको र विश्वको 100 हरित गन्तव्य मध्ये एक-मा नाम दर्ता गर्न प्राप्त गरेको सफलताले यसको पुष्टि गर्दछ।
पर्यावरण संरक्षण गर्दै यस सम्पदालाई प्रमुख आय स्रोत बनाउन पर्यटनसित जोडने नीति बनाएर पर्यावरण संरक्षणको निम्ति दिगो पहल गरिएको छ। पर्यावरण संरक्षणसितै स्थानीय समुदायको जीविकोपार्जनलाई दिगो उपायमार्फत सुरक्षा गर्ने पहल अनुकरणीय बन्नपुगेको छ।
सिक्किमको वन्य सम्पदालाई पर्यटन उद्योगसित जोडन सिक्किममा धेरै वर्ष अघि पर्या-पर्यटन नीति तयार गरिएको हो। राज्यको आफ्नै पर्यटन नीति छ। शुरूमा यो विषयलाई पर्यटनका हितधारकहरूले त्यत्ति महत्व नदिए पनि अहिले यो विषयलाई महत्व दिन शुरू भएको छ। पूर्व सिक्किमको पाङथाङ तीनजुरेले इको टुरिजम उत्सव आयोजन गर्ने तयारीले यसको महत्वप्रति सिक्किमका पर्यटनका हितधारकहरू जागरूग भएको पुष्टि पनि हुन्छ।
वास्तवमा सिक्किम सरकारले पर्यटनमा नवोन्मेशी प्रयोग शुरू गरेको कारण नै छोटो समयमा सिक्किमको पर्यटन उद्योगले नयाँ उच्चाई प्राप्त गर्न सक्यो। विश्वका पर्यटकका निम्ति आवश्यक पूर्वाधारको विकाससितै पर्यटनका आवश्यक तत्वलाई ध्यान दिइएको कारणले पनि वर्ष 2014-को उत्कृष्ठ पर्यटन गन्तव्यका रूपमा विश्वको चर्चित संस्थाले सिक्किमलाई विश्वमा परिचित गराउने काम गर्यो। यसमा एकान्तवास, ग्रामिण पर्यटन र होम-स्टे पर्यटन, साहसिक पर्यटन र धार्मिक पर्यटन आदि क्षेत्रमा उदारणीय काम हुँदै आएको छ।
उल्लेखनीय कुरा के छ भने विकसित राष्ट्रहरूमा भइरहेका विषयलाई टिपेर छिटो छिटो सिक्किमे जनतालाई फाइदा दिने काम सिक्किममा हुने गर्छ। यसो गर्दा देशका अन्य राज्यहरूको तुलनामा सिक्किमका जनताले कतिपय क्षेत्रमा धेरै अघि फाइदा प्राप्त गरिसकेका हुन्छन। यसको एउटा उदाहरणका रूपमा हालै मुख्यमन्त्रीले अब सिक्किममा सिटी टुरिजम शरू गर्नुुपर्ने कुरा उठाएको विषयलाई लिन सकिन्छ। यसका निम्ति सरकारले सबै शहर-बजारलाई सुन्दरीकरण गर्ने, पर्यटनका पूर्वाधार विकास गरेर पर्यटकलाई सुविधा दिने तथा सबै पर्यटन स्थललाई पर्यटनको सञ्जाल र मानचित्रसित जोडने काम गर्दै आएको छ।
भौगोलिक अडचन र बाधा, प्राकृतिक प्रकोप आदि सहँदै पनि सिक्किमले अहिलेसम्म पर्यटनको क्षेत्रमा जति गरेको छ त्यो पूर्वोत्तर तथा भारतका निम्ति उदाहरण बन्न पुगेको छ। यसले सिक्किमको इज्जत र ऊर्जा बढेको छ। यसलाई निरन्तरता दिनु र समयअनुसारको विकासलाई अगि बढाउनु सिक्किमको निम्ति एउटा चुनौती छ। तर पनि सिक्किम अब सिटी टुरिजमका निम्ति तयार भइरहेको सन्देश दिन सक्नु सिक्किमको निम्ति गौरवको विषय हो।
Comments
Post a Comment