उपलब्धिपूर्ण बन्यो मुख्यमन्त्रीको दिल्ली यात्रा
मुख्यमन्त्री पवन चामलिङले यसपल्टको दिल्ली भ्रमणमा प्रायः जसो केन्द्रिय मन्त्रीहरूसहित देशका प्रधानमन्त्री र राष्ट्रपतिसित भेट गर्दै सिक्किमको उज्ज्वल भविष्यका निम्ति थप ऊर्जा भर्ने कार्य गरेका छन्। हुन त एसडीएफ पार्टी तथा यसका नेता पवन चामलिङले पार्टीको स्थापना कालदेखि नै सिक्किमको भविष्य सजाउन निरन्तर इमान्दार प्रयास गर्दै आएका छन्। यसपल्टको भ्रमणमा पनि मुख्यमन्त्री पवन चामलिङले सिक्किमको सामाजिक, आर्थिक र राजनैतिक मुद्दाहरूलाई जोडतोडले उठान गरेका छन्।
विशेष सिक्किममा सत्रौं ग्याल्वा कर्मापालाई रूम्तेक गुम्बामा आसन ग्रहणका निम्ति अनुमति प्रदान गर्ने, सिक्किमका छुटेका समुदायलाई जनजातिको मान्यता प्रदान गर्ने, सिक्किम विधानसभामा लिम्बु र तामाङको सीट आरक्षण गर्ने, सिक्किमको विकास र प्रगतिका निम्ति केन्द्रिय सहयोगको अनुदान, निर्माणाधीन हवाईअड्डाको समयमा निर्माणकार्य पूरा गर्न केन्द्र सरकारको सहयोग, स्वास्थ्य र शिक्षा क्षेत्रको विकासमा केन्द्रिय सहयोग, सडकहरूको विकास र सम्पर्क माध्यममा सुधार, ग्रामीण क्षेत्रको विकासलाई गति प्रदान गर्न आवश्यक सहयोग आदि महत्वपूर्ण विषयहरूमाथि मुख्यमन्त्रीले केन्द्रिय मन्त्रीसहित प्रधानमन्त्रीसमक्ष माग गरेका छन्।
यस भ्रमणमा पनि प्रायः केन्द्रिय मन्त्रीहरूले सिक्किममा भइरहेको विकासको मुग्धकण्ठले प्रंशसा गरेका छन्। ग्रामीण विकास मन्त्रीले सिक्किममा भइरहेको ग्रामीण क्षेत्रको विकास कार्यक्रम उल्लेखनीय रहेको बताएका छन् भने मानव संसाधन मन्त्रीले पनि शिक्षाको क्षेत्रमा सिक्किममा उल्लेखनीय प्रदर्शनी गरेको बताएकी छन्। महत्त्वपूर्ण विषय के छ भने यसपल्टको भ्रमणमा मुख्यमन्त्रीले सत्रौं कर्मापालाई सिक्किमको रूम्तेक गुम्बामा आसन ग्रहण गर्ने अनुमतिमा विलम्ब भए तापनि सिक्किमका भक्तजनका निम्ति कर्मापाको आशीर्वाद र दर्शनका निम्ति मात्र भए तापनि अनुमति प्रदान गर्ने जस्ता वैकल्पिक उपाय प्रस्तुत गरेका छन्।
यसरी नै सिक्किम विधानसभामा सीट आरक्षणको मुद्दालाई पनि भारतको संविधानले दिएको अधिकार वा प्रावधानअनुसार सीट आरक्षण गर्न सक्ने बलियो आधारहरू प्रस्तुत गरेका छन्। अझ महत्वपूर्ण विषय के छ भने, एसडीएफ सरकारले आफ्नो स्थापना कालदेखि नै लिम्बु र तामाङ समुदायलाई न्याय प्रदान गर्न निरन्तर सङ्घर्ष गर्दै आएको छ। यस सङ्घर्षको प्रतिवेदन स्वरूप राज्य विधानसभामा श्वेत पत्र समेत प्रस्तुत गरिएको छ। यसपल्टको भ्रमणमा पनि मुख्यमन्त्रीले एसडीएफ सरकारको स्पष्ट अडानलाई अघाडि बढाएका छन्। केन्द्रमा यूपीए सरकार पछि गठन भएको नयाँ एनडीए सरकारले परिवर्तन गरेका नीतिको परिणाम स्वरूप सिक्किमले वित्तीय क्षेत्रमा झेल्नु परेका समस्याहरूबारे पनि केन्द्रिय वित्त मन्त्री साथै नीति आयोगकी कार्यकारी अधिकारीसमक्ष स्पष्ट बनाएका छन्।
अर्को महत्वपूर्ण विषय के रहेको छ भने, सिक्किम पूर्णरूपमा देशको प्रथम जैविक राज्य भइरहेको कुरा प्रायः केन्द्रिय मन्त्रीहरूलाई अवगत भएको अनि आगामी जनवरी 2016 को अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदी स्वयं सिक्किम भ्रमणमा आएर सिक्किमलाई पूर्ण जैविक राज्य घोषणा गर्ने विषय पनि सुनिश्चित भएको छ। सिक्किमको जैविक अभियानको सफलतालाई राष्ट्रव्यापी रूपमा सन्देश फैलाउन यस उत्सवको अवसरमा प्रधानमन्त्रीले भारतभरिका कृषि सचिवहरूलाई निमन्त्रणा गरेर सिक्किममा राष्ट्रिय सभा गर्ने पनि कार्यक्रम यस भ्रमणमा तय भएको छ। मुख्यमन्त्रीको तर्फबाट राखिएका सबै मागहरूलाई केन्द्रिय मन्त्री र प्रधानमन्त्रीले सकारात्मक आश्वासन दिएका छन्।
सिक्किम र सिक्किमे जनताको उज्ज्वल भविष्यका निम्ति अहोरात्र परिश्रम गर्ने मुख्यमन्त्री पवन चामलिङले नयाँ दिल्ली गएर यसपल्ट अति नै व्यस्त कार्यक्रम बनाएर दिनरात सिक्किम र सिक्किमे जनताका निम्ति समर्पित भएको कुरा पनि यसपल्टको भ्रमणले स्पष्ट दर्शाएको छ।
Comments
Post a Comment