सडक योजनाका राज्यसितै राष्ट्रको हितमा
यसपल्टको नयाँ दिल्ली भ्रमणमा सिक्किमका मुख्यमन्त्री पवन चामलिङले केन्द्रिय सडक परिवहन तथा राजमार्ग मन्त्री नीतिन गडकरीसित भेट गर्दै सिक्किममा विभिन्न सडक पूर्वाधार विकास गर्न तथा नयाँ सडक योजनाका निम्ति रू.१०,२७० करोड सहयोग केन्द्र सरकारले दिनुपर्ने माग उठाएका छन। यो माग राज्यसितै राष्ट्रको हितमा छ। सिक्किम तीन अन्तरराष्ट्रिय सिमाले घेरिएको राज्य हो। हवाई र रेल दुवै क्षेत्रमा सिक्किम देशको पछौटे राज्य हो। सम्पर्क माध्यममा सडक मार्ग नै अहिलेसम्म प्रमुख रहेको छ। पूर्व सिक्किमको पाकिममा निर्माणाधीन हवाई अड्डा सञ्चालन शुरू हुन बाकी नै छ। अझ रेल मार्ग निर्माण कार्यले धेरै समय लिने स्पष्ट देखिँदैछ। यसर्थ राज्यको जीवनरेखा नै सडक मार्ग हो। यसमा राष्ट्रिय राजमार्ग अझ महत्वपूर्ण छ, यसले राज्यलाई राष्ट्रिय धारासित जोड्ने गर्छ।
केन्द्रिय सडक परिवहन तथा राजमार्ग मन्त्री नीतिन गडकरी यसपल्ट सिक्किमको सडक सम्पर्क माध्यम विषयमा गम्भीर भएको देखियो। वास्तवमा सिक्किमको सडक मार्गलाई धेरै अघि नै अन्तरराष्ट्रिय मानकको बनाइनुपर्ने हो तर यसअघिका केन्द्र सरकारले राष्ट्रिय सुरक्षाको दृष्टिले सिक्किमको सडक कति महत्वपूर्ण छ भन्ने कुरामा त्यति वास्ता गरेनन्। न नै यहाँको पर्यटनमा विश्व स्तरको क्षमता छ भन्ने कुरामा नै चासो देखाए। यो हाम्रो राष्ट्रको विडम्बना पनि हो। तर यसपल्ट प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भएको राष्ट्रिय जनतान्त्रिक गठबन्धन (राजग) सरकारले राष्ट्रहितका निम्ति धेरै उदाहरणीय कार्यक्रम शुरू गरेको छ। सिक्किमसितै पूर्वोत्तर राज्यहरूलाई देशको अष्ट लक्ष्मी स्वीकार गरेर पूर्वोत्तर भारतको विकासलाई प्राथमिकता दिएर देशको मूल धारामा सामेल गर्ने पहल गरिरहेको छ। पर्यटनलाई आर्थिक विकासको मेरूदण्ड मानेर सोही अनुरूप विकास गर्न पर्यटन मन्त्रालय भारत सरकारले यसपल्ट कुल योजना आवन्टनको १० प्रतिशत पूर्वोत्तर राज्यहरूका निम्ति अलगै राखिदिएको छ। यसले अवश्य नै पूर्वोत्तर भारतको रूपान्तरण गर्न मद्दत पुग्नेछ। ‘स्वादेश दर्शन’ सर्किट अन्तर्गत पनि पूर्वोत्तर भारतको विकास गर्ने योजना केन्द्र सरकारले शुरू गरेको छ।
देश हितका निम्ति सिमा राज्यमा के-कस्ता कार्यक्रम गर्न आवश्य छ भन्ने कुरामा अवगत भएको केन्द्र सरकारले सिक्किमलाई विश्व स्तरको सडक सुविधा दिने र बाघडुग्रादेखि सिक्किमसम्मको चौमार्गीय सडक पूर्वाधारको कुरा हुनसाथ केन्द्र र राज्य सरकारप्रति नकारात्मक प्रतिक्रिया पनि आउन थालेको छ। यद्यपि केन्द्रिय मन्त्रीले मुख्यमन्त्रीलाई दिएको वचन राष्ट्रिय हितमा आवश्यकताको दृष्टि अनौठो र असम्भव छैन, अपितु यो अतिआवश्यक भने अवश्यै हो। अझ महत्वपूर्ण कुरा के छ भने, १५ अक्टोबरको दिन चौथो अन्तरराष्ट्रिय पर्यटन मार्ट उद्घाटन गर्न केन्द्रिय पर्यटन राज्य मन्त्री डा. महेश शर्मा सिक्किम आएको समयमा सिक्किमको पर्यटनमा विश्व स्तरको क्षमता भएको तथा सिक्किमलाई विश्व पर्यटनको अति सुन्दर गन्तव्य भएको बताएका थिए। उनले सडक पूर्वाधार पर्यटनका निम्ति ठूलो बाधा बनेको कुरा स्वीकार गर्दै आफ्नो तर्फबाट पनि सडक परिवहन एवं राजमार्ग मन्त्रालयमा सम्पर्क गरेर सिक्किमको सडक पूर्वाधारलाई विश्व स्तरको बनाउने कुरामा चर्चा गर्ने वचन दिएका थिए। यसर्थ यो विषयमा केन्द्र सरकार गम्भीर भएको कुरा केन्द्रिय मन्त्रीद्वयको वचन कुनै अनौठो र आश्चर्यको विषय होइन भन्ने स्पष्ट छ।
अर्को महत्वपूर्ण कुरा के छ भने, भारी वर्षा र पैह्रो साथै भौगोलिक संरचनाका कारण हिमाली राज्य सिक्किमको सडकलाई सधैंभरि सुव्यवस्थित राख्न कठिन हुने गर्छ। अझ वर्ष २०११ मा आएको भुइँचालोले राज्यको सडक पूर्वाधारलाई दयनीय बनाएको छ। संसाधनको अभाव झेलिरहेको समयमा केन्द्र सरकारको सहयोग नभए राज्य एक्लैले सडक पूर्वाधार विकास गर्न कठिन नै छ। यसर्थ केन्द्रीय मन्त्रीले दिएको वचन सिक्किम राज्यको विकास प्रगतिको निम्ति राम्रो विषय हो। आशा गरौं सिक्किमको सडक चाडै नै विश्व स्तरको हुनेछ।
Comments
Post a Comment