सिक्किम पुलिस
भारतको प्राचिन इतिहासमा दण्डधारी शब्दको उल्लेख गरेको पाइन्छ। भारत वर्षमा पुलिस शासनको विकास क्रममा त्यस कालको दण्डधारीलाई वर्तमान समयमा पुलिसजनको समकक्षको रूपमा स्वीकार गर्न सकिन्छ। प्राचिन भारतको स्थानीय शासन मुख्यतः ग्रामिण पञ्चायतमा आधारित थियो। गाउँको न्याय एवं शासन सम्बन्धी कार्य, ग्रामिणद्वारा मनोनित एकजना अधिकारीद्वारा गरिन्थ्यो।
यसरी नै भारतमा वर्तमान पुलिस शासनको रूपरेखाबारे खोजी गर्दै जाँदा अंग्रेज शासनको समयमा लर्ड कर्नावलिसलाई वर्तमान पुलिस शासनको रूपरेखाका जन्मदाताको रूपमा पाइन्छ। वर्तमान समयमा हाम्रो देशमा अपराध नियन्त्रण सम्बन्धी कार्यको एकाईको दायित्व पुलिसमा छ। यसलाई थाना अथवा पुलिस स्टेशनका रूपमा पनि सम्बोधन गरिने गरिन्छ। थानामा नियुक्त अधिकारी एवं कर्मचारीहरूद्वारा यी दायित्वको पालन हुन्छ। सन् 1861 को पुलिस एक्टको आधारमा पुलिस शासन प्रत्येक राज्यहरूमा स्थापित छ। यस अन्तर्गत राज्यमा पुलिस महानिरिक्षकको अध्यक्षतामा र उपमहानिरिक्षकको निरिक्षणमा जनपदीय पुलिस शासन स्थापित छ। प्रत्येक जनपदीय वा जिल्लामा जिल्ला पुलिस महानिरिक्षकको सञ्चालनमा पुलिसले कार्य गर्छ। सन् 1861 को पुलिस एक्ट अनुसार जिल्लाधीषलाई जनपदका अपराध सम्बन्धी शासनको प्रमुख र त्यस रूपमा जनपदीय पुलिसको कार्यहरूको निर्देशक मानिएको छ।
पुलिस भन्नाले हामी कुनै पनि देश वा राज्यको आन्तरिक नागारिक सुरक्षाका लागि प्रयोग गरिने सुरक्षाबलको रूपमा जान्दछौं। जस्तो प्रकारले देशको बाहिरी अनैतिक गतिविधिहरूको रक्षाका लागि सेनाको उपयोग गरिन्छ। त्यसरी नै आन्तरिक विषयका निम्ति पुलिस प्रयोग गरिन्छ। यहाँ विषय छ सिक्किम पुलिसको 118 औं स्थापना दिवस सन्दर्भमा।
सिक्किम पुलिसले अहिले 118 औं स्थापना दिवस पालन गरिरहेको छ। विगत 118 वर्ष देखि सिक्किमे जनताको सेवामा समर्पित भएर कार्य गर्दै आएको सिक्किम पुलिसले आफ्नो स्थापना दिवसको 118 औं वर्षगाँठमा पनि रक्तदानसहित अन्य महत्वपूर्ण कल्याणकारी कार्य साथै गान्तोक भ्रमणमा आउने पर्यटकहरूका निम्ति एमजी मार्गमा चर्चित साङ्गीतिक धुन पनि सिक्किम पुलिसले प्रस्तुत गर्यो।
सिक्किम पुलिसको स्थापना विषयमा कुरा गर्नु पर्दा 27 नोभेम्बर 1897 मा एक जना हेड कन्सटेबल र 5 जना कन्सटेबललाई रिनाक नजिक आरिटारमा तत्कालिन महाराजाले एउटा प्रस्ताव पारित गराएर पठाएका थिए। यो नै सिक्किम पुलिस स्थापनाको पहिलो दिन मानिन्छ। तत्कालिन समयमा तिब्बती सेनाद्वारा निरन्तर सिक्किम माथिको आक्रमण र तिब्बतसितको झमेलाका कारण सानो र शान्तिपूर्ण सिक्किम राज्यका निम्ति पुलिस आवश्यक भएको थियो। यस समय सिक्किम अंग्रेज शासनको संरक्षणमा रहेको कारण तत्कालिन राजनीतिक अधिकारी जेसी वाइटले बढ्दो जनसङ्ख्यासितै अपराध बढ्ने कुरा महसुस गर्दै सिक्किममा पुलिस बलको स्थापना गर्ने कुरा आवश्यक रहेको कुरामा जोड दिएका थिए। यसरी नै तिब्बती सेनाले जलेपलामा आक्रमण गरेको कुरालाई ध्यानमा राख्दै अंग्रेज शासनले कालेबुङ-रिनाक, जलेपला-लासा व्यापार मार्गको कुनै पनि योग्य स्थानमा पुलिस आउट पोस्ट शुरू गर्ने कुरा महसुस गर्यो। यसपछि एचसी दत्तलाई पुलिस अधीक्षकको पदमा नियुक्त गरियो। एचसी दत्त नै सिक्किम पुलिसको पहिलो अधिकारी हुन पुगे। यसरी नै 1953 मा पुलिस सेवामा भर्ना हुने महेन्द्रर सिंहलाई सिक्किम पुलिसको पहिलो आयुक्त बनाइएको थियो जसले 1960 सम्म आफ्नो सेवा सम्भालेका थिए।
सन् 1897 मा एक जना हेड कन्सटेबल र 5 जना कन्सटेबलहरूबाट शुरू भएको सिक्किम पुलिसमा अहिले 5700 कर्मचारी छन् र अहिले यो एउटा शक्तिशाली पुलिसबल भएको छ। यसमा एसएपी, आइआरबी(एन) र अग्निसेवा शमन विभाग पनि सामेल छ। सिक्किम पुलिसका प्रवक्ता एवं अतिरिक्त डीजीपी सुधाकर राव अनुसार सिक्किम पुलिस बलमा लगभग 5 सय अधिकारी छन्। यसको अगुवाई एकजना डीजीपी, चारजना एडीजीपी र 3 जना आइजीपीहरूले गरिरहेका छन्। सिक्किम राज्यमा अहिले 26 वटा पुलिस स्टेशन छ भने 58 वटा आउटपोस्ट छ। यी मध्ये 50 प्रतिशत पुलिस स्टेशनलाई मोडल पुलिस स्टेशनका रूपमा स्थापित गरिएको छ भने युमे साम्दोङ, चुङथाङ र सेरेथाङमा भएको 3 वटा पुलिस स्टेशन सर्वाधिक उचाई वा हाइ अल्टीच्युटमा स्थापित पुलिस स्टेशन हुन्।
इतिहास अनुसार सिक्किमका निम्ति पहिलो राजनीतिक अधिकारी जेसी वाइटले शुरूमा पुलिस बलको कार्यलाई भु-राजस्व र भाडा सङ्ग्रह गर्नु, राजकोषको सुरक्षा गर्नु, अपराधीलाई पक्राउ गर्नु, दरबारको आदेश पालन गर्नु र नाथाङबाट ब्रिटिश ट्रुप्सको वापसी पछि सीमा क्षेत्रको रक्षा गर्नु आदि दायित्व प्रदान गरिएको थियो।
सन् 1899को सितम्बर महिनामा गान्तोकमा मेसर्स जेठमल र भोजराजले ब्याङ्क शुरू गरे पछि दुइजना अतिरिक्त पुलिस कर्मीहरूको ब्याङ्कका सुरक्षा गर्नका निम्ति नियुक्ति गरियो। यस अघि पुलिसको नियमित सेवाको आवश्यकता थिएन। तत्कालिन जमीनदार वा ठेगादार अनि काजीहरूले स्वंय नै पुलिस अधिकारीको भूमिका निर्वाह गर्दथे। सानोतिनो गल्ती गरेको खण्डमा काजी ठेकादारहरूले नै निर्णय गरेर जरीमाना तिराउने गर्दथे। इतिहास अनुसार काजी ठेकादारले सजायमा जरीमाना र कोर्रा पनि लगाउने गर्थे। यदि कसैले जघन्य अपराध गरेको भए त्यसको निर्णय राजदरबारबाट हुने गर्दथ्यो। हत्या गरे त्यस विरूद्ध पनि सजाय सुनाउने अधिकार राजदरबारमा नै थियो। त्यस समय सिक्किमा बाक्लो जङ्गल भएको कारण पुलिसको काम चुनौतीपूर्ण थियो। बाक्लो जङ्गलसितै सडकहरू नभएको मानिसहरूको बासोबास पनि न्यून अथवा छरिएर टाडा टाडामा बस्ने गर्थे। यसर्थ पुलिसको काम चुनौतीपूर्ण नै थियो। सिक्किम दरबारको वार्षिक प्रशासन प्रतिवेदन 1919-1920 मा सिक्किम पुलिसमा कूल 1 जना एसआई,दुई जना हवलदार, 6 जना हेड कन्सटेबल र 28 जना कन्सटेबल मात्र थिए। यसका निम्ति सिक्किम पुलिस विभागको वार्षिक बजेट रू.10 हजार मात्र थियो। तत्कालिन प्रशासनिक प्रतिवेदन अनुसार जमिनदारहरूले आफ्नो सीमा क्षेत्रभित्र पुलिस अधिकारीको भूमिका निरन्तर निर्वाह गर्दै आएका थिए। यदि महत्वपूर्ण घटना वा जधन्य अपराध भए मात्र त्यसको जाँच सिक्किम पुलिसले गर्दथ्यो। महाराजाको अधिनमा दुइजना सचिव थिए। यसलाई जुडिसियल सेक्ट्री र जेनेरल सेक्ट्री भनिन्थ्यो। पुलिस विभाग जुडिसियल सेक्ट्रीको अन्तर्गतमा सञ्चालित हुन्थ्यो पछि गएर यसलाई जेनेरल सेक्ट्रीको अधिनमा स्थानन्तरण गरियो। यसरी नै पुलिसको अधिनमा जेल स्थापना पनि गरिएको थियो। कैदीहरूलाई सुरक्षित रूपमा जेलमा राख्ने दायित्व पुलिसको थियो।
यसरी नै वर्ष 1922-1923 को वार्षिक प्रशासनिक प्रतिवेदन अनुसार सिक्किमलाई दुइवटा पुलिस रेञ्जमा विभाजन गरिएको थियो। पूर्वीय रेञ्जको मुख्यालय गान्तोकमा थियो। गान्तोक रेञ्जले रम्फू, रिनाक र नाथाङलाई समेट्ने गर्थ्यो भने पश्चिमी रेञ्जको मुख्यालय दामथाङमा थियो यसले सोरेङ, देन्ताम, मल्ली र माझीटारलाई नियन्त्रण गर्थ्यो। पुलिसको प्रतिवेदन अनुसार वर्ष 1922-1923 को अवधिमा आइपुग्दा पुलिस विभाग अन्तर्गत दुइजना एसआई, 8 जना हवलदार, 14 जना नायक र लेस नायक अनि 44 जना कन्सटेबल थिए। प्रतिवेदन अनुसार सिक्किम पुलिसको नायकले त्यसबेला गान्तोकको भोटिया र नेपाली बोर्डिङ स्कूलमा गएर हप्तामा दुइ दिन विद्यार्थीहरूलाई शारीरिक व्यायम (पीटी) सिकाउथे। यसरी नै कतिपय अवस्थामा पुलिसलाई अनौठो कार्य पनि गर्न लगाइन्थ्यो यसमा डाक कार्यालयको रखरखाऊ र पोस्ट मास्टरको काम पनि गर्नु पर्थ्यो। त्यस समय कन्सेटबलको पदमा पनि सोझै नियुक्ति हुँदैन्थ्यो। कन्सटेबलमा आउन भन्दा अघि उनीहरूलाई सिक्किम अक्सिलेरी फोर्समा काम गर्नु पर्थ्यो। अक्सिलेरी फोर्समा हुने जवानले रातो फेटा लगाउनु पर्थो। यसले गर्दा उनीहरूलाई लाल फेटा भनेर पनि सम्बोधन गरिन्थ्यो। कन्सेटबलमा आउन अघि कम्तीमा 1 वर्ष लालफेटा बाँधेको हुनु पर्ने नियम थियो। यसरी नै सन् 1930-31 को प्रतिवेदन अनुसार पुलिसमा दुइजना अधिकारी र 66 जना कन्सटेबल पुगेको थियो।यस समयको वार्षिक प्रतिवेदनमा केवल दुइवटा चोरीको घटना प्रकाशमा आएको थियो। यसपछि 1935 मा राजदरबारले सिक्किममा भारतीय दण्ड संहिताको धारा 367, 370, 371 र 374 लाई लागु गर्ने निर्णय गरेको थियो। यसै अवधिमा श्रमिकहरूलाई उचित ज्याला दिनु पर्ने आदेश पनि भएको थियो।
सन् 1936 -37 र 1937-38 मा सिक्किम पुलिसको खर्च क्रमश 24 हजार 4 सय र रू. 27 हजार 5 सय पुगेको थियो। 1930 को शुरूको दशकमा सिक्किम पुलिसमा उच्च पद भनेको वरिष्ठ सब इन्सपेक्टर थियो। पुलिस इन्सपेक्टरको पद 1934 मा नै सिर्जना गरिएको हो।
सिक्किमका पहिलो पुलिस अधीक्षकको पदमा नियुक्त हुने अधिकारी एचसी दत्त हुन्। उनलाई सिक्किममा पुलिस अधीक्षकको पदमा छोटो समयका निम्ति राखिएको थियो। यस पछि 1950 मा पुलिस अधीक्षकका रूपमा एस राज सिंह नियुक्त भए। उनले 1952 सम्म सेवा दिए। यसरी नै सिक्किमका पहिलो पुलिस आयुक्तको पदमा नियुक्ति हुने व्यक्ति मोहिन्दर सिंह हुन्। उनले 1953 मा यो पदमा आएर 60 सम्म पदभार सम्हालेका थिए। सिक्किम पुलिसको इतिहास अनुसार पुलिसको ट्राफिक शाखा, चेक पोस्ट शाखा, इन्टेलिजेन्स शाखा र अग्नीशमन ब्रिगेड, पुलिस आयुक्त मोहिन्दर सिंहको कार्यकालमा नै विस्तार गरिएको थियो। यस पछि आन्तरिक पुलिस आउट पोस्टमा इस्टर्न फ्रन्टियर राइफल्स अधिकारीहरूलाई डिपुटेशनमा सिक्किम पुलिस विभागमा ल्याइएको थियो।
सन 1968-70 को अवधिमा पुलिस अधिकारी एसके आनन्दले सिक्किम पुलिसको ड्रेस कोड शुरू गरेका थिए। उनकै कार्यकालमा सिक्किम पुलिसले फिङ्गर प्रिन्ट अर्थात् औलीको छाप लिने शाखा पनि शुरू गरेको हो। यसरी नै 1973 देखि 75 सम्मको कार्यकालमा पुलिस अधीक्षक रहेका एस दत्त चौधरीले सिक्किम सशस्त्र पुलिस बलको गठन गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। सिक्किम सशस्त्र पुलिस बलको स्थापना गरेको समयलाई सिक्किम पुलिसको इतिहासमा एउटा कोसे ढुङ्गा मानिन्छ। यस समय सिक्किमका छोगेल साशन विरूद्ध चारैतिर विरोध र प्रदर्शन भइरहेको थियो।
जब 1975 मा सिक्किम भारतको अभिन्न अङ् भयो तब सिक्किममा पुलिस अधिनियम 1861 लाई लागु गरियो। यसपछि पीआर खुराना सिक्किमको पहिलो पुलिस महानिरिक्षक अर्थात् आइजीपी बने। उनले 1975 देखि 1979 सम्म सेवा दिएका थिए। खुराना पछि सिक्किम पुलिस आइजीपी पदमा एमएन गार्डगिलले पदभार सम्हालेका थिए। उनले 1979 देखि 83 सम्म र राजा श्रीधरणले 1984 देखि 86 सम्म सेवा दिएका थिए। यस पछि पुलिस विभागमा 1986 मा पहिलो पुलिस महानिर्देशकको पदमा एके घातकलाई नियुक्ति गरिएको थियो। घातकले 1988 सम्म सेवा दिएका थिए।
यसरी स्थापित भएको सिक्किम पुलिसमा अहिले 27 वटा पुलिस स्टेशन र 45 वटा आउटपोस्ट स्थापना गरिएको छ। यी पुलिस स्टेशन र आउट पोस्टहरू विभिन्न स्थानमा छन्। कतिपय पुलिस आउटपोस्ट समुद्रतलदेखि 18 हजार फीटको उचाईसम्ममा अवस्थित छन्। सिक्किम पुलिसले राज्य भित्र हुने साना देखि ठूलो अपराधको नियन्त्रण सितै अन्तरराष्ट्रिय सीमाबाट हुने अवैध प्रवेश र अन्य अपराधलाई नियन्त्रण गर्ने दायित्व लिएर राज्यसितै राष्ट्रको सेवाम समर्पित भइरहेको छ। देशका अन्य राज्यहरूको तुलनामा सिक्किम न्यून अपराध हुने राज्यको रूपमा स्थापित छ। सिक्किम पुलिसले यसको श्रेय शान्तिप्रेमी सिक्किमे जनता र 35 सय अधिक शक्तिशाली सिक्किम पुलिसका जवानलाई दिँदै आएको छ। अहिले सिक्किम राज्यमा पुलिसको साङ्गठनिक ढाँचा 12 विभिन्न स्तरमा पहिचान गरिएको छ। राजधानी गान्तोकमा पुलिस मुख्यालय बाहेक चारैवटा जिल्ला उत्तर, दक्षिण, पूर्व र पश्चिममा जिल्ला पुलिस कार्यालय स्टेट रिजर्व लाइन, स्पेशल ब्राञ्च, क्राइम ब्राञ्च, होम गार्ड र सिभिल डिफेन्स, सञ्चार तथा कम्प्युटर अग्निशमन सेवा, सिक्किम सशस्त्र पुलिस प्रशिक्षण, चेक पोस्ट र इन्डियन रिजर्भ बटालियन (आइआरबी) आदि सामेल छ। आइआरबीको गठन सन् 1996 मा गरिएको हो। यस अनुभागमा नियुक्ति प्राप्त गर्ने कर्मचारीलाई धेरै जसो राज्यबाहिरको सेवामा विस्तार गरिएको छ। सिक्किम पुलिसले राज्यमा कानुन एवं व्यवस्थाको देख़रेख गर्नु बाहेक मानवीय दृष्टिकोणमा पनि उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको छ। विशेष गरी प्राकृतिक आपदमा नागारिकहरूको सहयोग गर्नु बाहेक खेल तथा पर्वातारोहण क्षेत्रमा पनि विशेष पहिचान बनाएको छ। रक्षा र सेवा सिक्किम पुलिसको आदर्श वाक्य हो। देशको कानुनलाई लागु गर्नु, कानुनको संरक्षकको रूपमा नागारिकहरूको बिनाशर्त सेवा दिनु सिक्किम पुलिसको मिशन रहेको छ। अपराधलाई नियन्त्रण गर्नुसितै अपराधीहरूलाई पक्रनु, अपराधको छानबीन गर्नु, देशको आन्तरिक सम्पत्तिको रक्षा गर्नु र अपराधीको अपराधलाई प्रमाणित गर्नु पर्याप्त साक्ष जुटाउनु पनि सिक्किम पुलिसको दायित्व रहेको छ। आफ्नो सर्वव्यापी सेवासितै समुदायहरूसित साझेदारी राखेर शान्ति बनाई राख्नका सिक्किम पुलिसको सेवा उल्लेखनीय छ। 118 वर्ष अघि एक जना हेड कन्सटेबल र 5 जना कन्सटेबलबाट सुरू भएको इतिहासले अहिलेसम्मको यात्रामा सबै अत्याधुनिक तकनिकी र विशेषज्ञता हासिल गर्दै 21 औं शदीको निम्ति आवश्यक चुनौतीहरूसित जुझ्न सक्षम बन्दै निरन्तर अघि बडी रहेको छ।
Comments
Post a Comment