जल संरक्षणमा ध्यान दिनुपर्छ


हिउँले ढाकेको हिमाल, धेरैवटा हिम नदी, जलस्रोतसहित अत्याधिक वर्षा हुने सिक्किम राज्यमा पनि जल संरक्षणको विषय महत्वपूर्ण छ भन्ने कुरा अहिले चर्चाको विषय छ। वैश्‍विक तापमान वृद्धिका कारण हुने जलवायु परिवर्तनको प्रभावबाट सिक्किम अछुतो रहन सक्दैन, विकास गतिविधिलाई कार्यान्वयन गर्दा वैज्ञानिक पक्षलाई अनदेखा गर्न सकिन्न। भौगोलिक संरचनाको कारण यहाँको जलसंशाधन पनि चुनौतीपूर्ण छ। विगत केही वर्ष अघिदेखि क्रमशः एक दुई गर्दै पानीको प्राकृतिक मुहान र धाराहरू सङ्ख्या घट्दै जाने, बड्दो जनसङ्ख्या र व्यापक शहरीकरण आदि विषयले सिक्किमको जलसंसाधनलाई चुनौती दिइरहेको छ। यसकारण भविष्यमा हुने जोखिमलाई अहिले नै पहिचान गरेर यस तर्फ सुरक्षित उपायहरू शुरू गर्नु समयको आवश्यकता भएको छ। हुन त यस विषयमा सिक्किम सरकार अनभिज्ञ छैन।
सिक्किमको हिमनदीहरूलाई संरक्षण गर्न हिमनदी अध्यन आयोगको गठनसितै पर्यावरण संरक्षणका विविध योजना र कार्यक्रमहरू सिक्किममा लागु भएको छ। यसरी नै साना कार्यक्रममार्फत पनि यस तर्फ नागारिवर्गलाई जागरूक गराउने र हरसम्भव संरक्षणका उपायहरूको लाभ प्रदान गर्दै आएको छ। यस सन्दर्भमा सिक्किममा शुरू गरिएको धारा विकास र जलग्रहण क्षेत्र प्रबन्धन अनि ग्रामीण जल सुरक्षा योजना(भीडब्लुएसपी) आदि महत्वपूर्ण कार्यक्रमहरू हुन्। यसमा पनि धाराविकास कार्यक्रमले राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा ख्याती प्राप्त गर्दै आएको छ। यसरी नै वन विभाग र नावार्डले पनि जलग्रहण क्षेत्रमा जलकुण्ड र जलग्रहण क्षेत्र प्रबन्धन कार्यक्रमहरू लागु गरेर जनसाधारणलाई जल संरक्षण गर्नुसितै जलसंरक्षण गरेर राहत प्रदान गर्ने काम गर्दै आएको छ। यी महत्वपूर्ण कार्यक्रमहरूमार्फत सिक्किमको धेरै जसो गाउँमा जीवनस्तरमा सुधार भएको, पाँच छ वर्ष अधिक पानीको अभावमा खेतीपाती नभएको ठाउँमा पनि नयाँ योजनामार्फत खेतीपाती शुरू भएको उदाहरणहरू धेरै नै छन्।
यद्यपि, जलसंरक्षणको निम्ति हिमालय क्षेत्रलाई लिएर विशेष अध्ययनको अभाव अझ खट्किएको विषय बन्दैछ। हालै जलसंरक्षणका निम्ति राजधानी गान्तोकमा सम्पन्न हितधारकहरूको एउटा कार्यशालामा जलसंरक्षणका निम्ति कार्यान्वयन गरिने कुनै पनि योजनाको देखरेख वा सञ्चालन गर्ने एउटा शीर्ष समिति हुनुपर्ने निष्कर्ष आएको थियो। यस कार्यशालाको भनाईमा राज्य सरकारले  एउटा कानून नै बनाएर भविष्यमा योजना कार्यान्वयनलाई दिगो बनाउन उक्त शीर्ष समितिलाई दायित्व सुम्पिनु पर्छ भन्ने छ। यसरी नै वैज्ञानिकहरूले पनि पार्वतीय क्षेत्रका निम्ति जलसंरक्षणको मुद्दा एउटा जटिल विषय हो भन्ने भनाई छ। विशेष पार्वतीय क्षेत्रको भौगोलिक-भौतिक संरचना बुझ्नु नै दिगो कार्य गर्नु हो भन्ने वैज्ञानिक समुदायको भनाई छ।
सरकारले जलसंरक्षणका निम्ति धेरै प्रयास गरे तापनि व्यापक जनसहभागितालाई सुनिश्‍चित गर्नु एउटा चुनौती नै छ। जलसंरक्षणको निम्ति गम्भीर हुनुपर्ने समय भए तापनि स्थिति नियन्त्रणमा हुनु पनि अर्को समस्या छ। भनिन्छ, जबसम्म अभाव हुँदैन तबसम्म मानिसले यसतर्फ समय दिँदैनन्। यस्तै प्रकारले धेरै जसो क्षेत्रमा अहिले पानीको अभाव नहुनु पनि जल संरक्षण गर्न गम्भीर नभएको मानिन्छ। यहाँ अर्को उल्लेख गर्नुपर्ने विषय के छ भने, संसाधनलाई विस्तृत गर्नु भन्दा अधिक जति छ त्यसलाई उचित प्रबन्धन गर्नु मानवीय विवेकको परिचायक बन्ने देखिन्छ। राज्य सरकारले जति पनि नयाँ योजनाहरू सुचारू गरेर काम गरे तापनि त्यसको उचित प्रबन्धन नभए अवश्य महत्व घटेर जानेछ। यसैले यस्ता योजनाहरूको लाभ उठाउँदै भएको जलको उचित प्रबन्धन गर्ने बानी आज हरेक नागरिकले गर्नुपर्छ। 

Comments

Popular posts from this blog

भीम दाहालको उपन्यास ‘अभीष्टको खोज’- कृतिपरक अध्ययन- नवीन पौड्याल

मौरी पालन- अनुवाद