शासन व्यवस्थाको उत्कृष्ट प्रणाली
प्रजातान्त्रिक प्रणालीलाई विश्वले शासन व्यवस्थाको उत्कृष्ट प्रणालीको रूपमा स्वीकार गरेको छ। हुन त यस विषयमा विभिन्न देशको आ-आफ्नो विचार र स्वीकारोक्ति भए तापनि भारत, अमेरिका लगायत अन्य देशहरूले प्रजातान्त्रिक प्रणालीको शासन व्यवस्थालाई उत्कृष्ट प्रणालीका रूपमा स्वीकार गरेर विश्वसमक्ष छुट्टै पहिचान र उदाहरण प्रस्तुत गरेका छन्। यद्यपि, यस व्यवस्थामा नकारात्मक पक्षहरूले पनि छन्, जसलाई यस व्यवस्थाको चुनौती मानिन्छ। भनिन्छ, प्रजातान्त्रिक प्रणालीमा गैरजिम्मेवारी व्यक्तिले राजनीति गरे वा राजनीतिक पार्टीको नेतृत्त्व गरे नीति,कार्यक्रम र सिद्धान्त नभएको राजनीतिक पार्टी, भोट जित्नको लागि मात्र राजनीति गरे त्यो राजनीति प्रजातन्त्रको निम्ति नै घातक बन्ने गर्छ। यस प्रकारको चुनौतीलाई सामना गर्न वा प्रजातान्त्रिक प्रणालीलाई जीवन्त राख्न प्रजातन्त्रवादीहरूले अनेकौं प्रयास गरिरहेका हुन्छन्। विभिन्न संवाद र तर्कहरूमार्फत आग्रह गरिरहन्छन्।
राष्ट्रिय राजनीतिमा हेर्दा विशेष गरी संसदमा भएको वहस र हंगामा देखेर कहिले कहीं प्रजातन्त्रवादी व्यक्तित्वसमेत हतास भएको देख्ने गरिन्छ। यद्यपि, जतिबेला देशको सुरक्षा, एकता, अखण्डताको प्रश्न आउँछ त्यस समय राष्ट्रियस्तरका कुनै पनि पार्टी होस्,् त्यसको नेतृत्त्व एउटै मञ्चमा आउने गर्छन्। देशको एकता, अखण्डता र सुरक्षालाई सुनिश्चित गर्न सबैको स्वर एउटै हुने गर्दछ। यतिबेला सबैलाई प्रजातान्त्रिक प्रणालीप्रति आस्था जाग्ने गर्दछ।
यसरी नै राज्यस्तरमा हेर्नुपर्दा कतिपय गैरजिम्मेवार व्यक्तिले राजनीतिमा हात हालेर राज्यको अस्तित्वलाई नै खतरामा बनाउने प्रयास गरेको पाइन्छ। केही दिनअघि आफ्नो राजनैतिक स्वार्थको लागि राज्यलाई नै घात गर्ने वा राष्ट्रविरोधी बयान दिएको कुराले सिक्किमे जनतालाई नै आघात गरेको, सिक्किमले धेरै लामो समयदेखि देशप्रतिको योगदान र देशबाट प्राप्त गरेको सम्मानलाई नै हानी पुर्याउने प्रयास भएको छ। सिक्किमे जनताको इच्छाले सिक्किम भारतजस्तो महान प्रजातान्त्रिक देशको अभिन्न अङ्ग भएको हो। प्रजातान्त्रिक प्रणालीको महान व्यवस्थामा सिक्किमले छोटो अवधिमा नै धेरै प्रगति र सुनाम स्थापित गरेको छ। यसको परिणामस्वरूप सिक्किम देशको सबैभन्दा शान्तिपूर्ण, स्वच्छ,हरित, रासायनमुक्त साथै तीव्र गतिमा विकास गर्ने राज्यको रूपमा पहिचान बनाउन सफल भएको छ। सिक्किम अन्तर्राष्ट्रिय सीमाले घेरिएको राज्य हो। यद्यपि, एसडीएफ सरकारको अथक परिश्रम र प्रयासले अन्य सीमा राज्यको तुलनामा सिक्किमको छुट्टै पहिचान बनाउने सफलता सिक्किमलाई प्राप्त भएको छ। सिक्किमले प्राप्त गरेको यस महत उपलब्धिलाई निरन्तरता दिनु नै सिक्किम र सिक्किमे जनताको भविष्य सुरक्षित हुनु हो। यद्यपि, विडम्बना के छ भने पटक-पटक झरिच्याउ जस्तो देखापर्ने गैरजिम्मेवार व्यक्तिले सिक्किमको राजनीतिमा हात हालेर सिक्किमलाई नै बदनाम गराउने कार्य सिक्किमको लागि गाडेघाउ भएको छ।
यस्ता गैरजिम्मेवार व्यक्तिले सिक्किमको बदनाम मात्र नगरेर सिक्किमेको अस्तित्व नै मेटाउने, सिक्किमेको अधिकारलाई नै मास्ने राजनीति गरिरहेको धेरै उदाहरणहरू छन्। राजनीति विज्ञानसम्मत हुनुपर्छ भन्ने कुरालाई धेरैले स्वीकार गरेका छन्। यसरी नै प्रजातान्त्रिक व्यवस्थालाई सुरक्षित राख्नु नै सर्वोत्तम हुन्छ। यसर्थ, यस प्रकारको गैरजिम्मेवार, राज्य तथा राष्ट्रविरोधी बयानबाजी गर्नेलाई जनताले समयमा चिन्न सक्नु पर्दछ। यसो भएन भने भविष्यमा पश्चाताप हुन्छ।
Comments
Post a Comment