कृषिको क्षेत्रमा समयसापेक्ष पहल


एक गाउँमा एक बाली उत्पादन गर्ने नीति राज्यलाई उपभोक्तावादी संस्कृतिदेखि उत्पादकतर्फ विकसित गर्ने एउटा महत योजना हुने कृषिका हितधारकहरूले स्वीकार गर्न थालेका छन्। कृषि हितधारकहरूको विचारअनुसार एउटा गाउँमा गाउँविशेष कुनै एउटा बाली उत्पादन गर्नका निम्ति कृषकहरूको समूह गठन हुन्छ। यो समूह गठन भएपछि कृषकहरूमा सामाजिक एकता बड्नुसितै उत्पादन गर्ने विषयमा पनि प्रतिस्पर्धा हुनेछ। यसको परिणाम उत्पादनको मात्रामा बढोत्तरी हुनेछ। महत्त्वपूर्ण विषय के छ भने, सरकारले कृषकहरूलाई स्वनिर्भर बन्न तथा उनीहरूको जीविकोपार्जनको माध्यमलाई सुधार गर्न विभिन्न प्रकारको बिऊ बिजन, मल, तकनिकी सहयोग, मूल्यसमर्थन र बजार व्यवस्थापन गरे तापनि कतिपय कृषकहरूले यस सहुलियतलाई दुरूपयोग गरेको पाइन्छ। यद्यपि, सरकारले समूह आधारमा अथवा गाउँ विशेष खेती गर्न गाउँ र बालीको पहिचान गरेपछि सहुलियतको देखरेख पनि कृषक स्वयंले गर्ने कुरा स्पष्ट छ। 
यससितै सम्बन्धित विभागले पनि यसको देखरेख गरि नै रहेको हुन्छ। अर्को महत्त्वपूर्ण विषय के छ भने, कुन स्थानमा कुन खेती गर्नुपर्ने हो वा मौसम अनुसारको खेती गर्ने निर्णय लिन कृषि, बागवानी तथा नगदेबाली विकाससितै कृषि वैज्ञानिकहरूले पनि सहयोग गर्नेछन्। यसले गर्दा कृषकहरूलाई सहज पनि हुनेछ। यसरी नै सरकारले खेतीका निम्ति प्रोत्साहन गरेपछि गाउँमा जमीन बाँझो राख्ने परम्परालाई पनि नियन्त्रण गर्न सकिन्छ भन्ने कृषिको हितधारकहरूको भनाइ छ। सरकारले गाउँ विशेषको खेतीसितै स्थानीय रूपमा उत्पादन हुने खाद्यान्न, तेलजन्य, दालजन्य र सागसब्जीसितै फलफूलको बिऊ बिजन स्थानीय रूपमा नै उत्पादन गरिनुपर्छ भन्ने नीतिलाई लागू गरिसकेको छ। 
यस विषयलाई पनि गाउँ विशेष खेती वा बाली उत्पादन गर्ने प्रणालीले राज्यको मागलाई पूरा गर्न सक्छ भन्ने आशा गर्न सकिन्छ।  यस अतिरिक्त समूहआधारित खेतीले कृषकहरूको कल्याण हुनका साथै स्थानीय बजारमा कृषि उत्पादको मागलाई पनि पूरा गर्न सहायक बन्न सक्छ। अहिले सम्बन्धित विभागले अदुवाको बिऊ वितरण गरिरहेको छ। अदुवा, हर्दी, अलैंची लगायतका मसालाजन्य उत्पादको माग स्थानीयसितै अन्तरराष्ट्रिय बजारसम्म धेरै छ।  यसरी नै कोदो र फापरको पोषणतत्व र औषधीय गुणका कारण दिन प्रतिदिन अन्तरराष्ट्रिय बजारमा माग बढ्दै गएको छ। कोदो जलवायु परिवर्तनका कारण हुने प्रभावको अवस्थामा खेती गर्न योग्य र सर्वाधिक पोषणतत्व पाइने खेतीका रूपमा पहिचान भएको कारण यसको माग पनि दिनप्रतिदिन बढ्दै गएको छ। दालमा पनि गहतको औषधीय गुणका कारण माग बढ्दै गएको छ। 
यसरी नै फलमा किवी, मेवा, नस्पति, अम्बक आदिको माग पूरा गर्न सरकारले यसको उत्पादन गर्न पनि कृषकहरूलाई सहयोग गरिरहेको छ। यी सबै विषयहरूलाई ध्यानमा राख्दै सरकारले शुरू गरेको नवोन्मेषी सोच अनुरूप एउटा गाउँ एउटा खेती गर्ने  परम्पराले राज्यलाई उत्पादक राज्यका रूपमा स्थापित गर्ने लक्ष्य प्राप्तिका निम्ति धेरै सहयोगी बन्ने आशा गर्न सकिन्छ। 

Comments

Popular posts from this blog

भीम दाहालको उपन्यास ‘अभीष्टको खोज’- कृतिपरक अध्ययन- नवीन पौड्याल

मौरी पालन- अनुवाद