विभिन्न सूचकाङ्कका सन्दर्भमा सिक्किम
विगत दुई दशकदेखि राज्यमा स्थापित शान्ति उदाहरण बनेको छ। यस विषयमा गहन अध्ययन गर्नु हो भने सिक्किम शान्ति सूचकाङ्कमा देशमा नै प्रथम स्थानमा आउने कुरालाई कसैले नकार्न सक्दैन। शान्तिबाहेक मानव विकास सूचकाङ्क, प्रसन्नता सूचकाङ्क, सामाजिक प्रगति र आर्थिक प्रतिस्पर्धा, शिक्षा, स्वास्थ्य, समानता, मानव अधिकार, पर्यावरण आदि क्षेत्रमा पनि सिक्किम राज्यले उदाहरणीय कार्य गरेको छ। यसलाई देशले नै स्वीकार गरेको छ। विभिन्न राष्ट्रिय स्तरका पुरस्कारले पनि यस कुरालाई पुष्टि गर्दछ। सिक्किमका कतिपय कार्यक्रमलाई देशका विभिन्न राज्य साथै छिमेकी देश भुटान र नेपालले पनि अनुकरण गर्ने प्रयास गरिरहेको छ। ग्रामीण विकासमा भएको नवोन्मेशी प्रयोगलाई नेपाल र भुटान साथै पूर्वोत्तर भारतले अनुकरण गर्ने र यसका निम्ति सम्बन्धित स्थानका विशेषज्ञहरूले सिक्किम भ्रमणमा आएर अध्ययन गरेको कुरा प्रकाशमा आईरहेको छ। भुटानले सिक्किममा प्रयोग गरिएको धारा विकासलाई अध्ययन गरेको छ भने नेपालले भुइँचालोरोधी घर निर्माण गर्ने वा भुइँचालोपछिको पुनर्निर्माण गर्ने कार्यको अध्ययन गरिसकेको छ।
हुन त यी विभिन्न सुचकाङ्कहरूमा भारत अन्य देशहरूभन्दा धेरै पछि छ। हालै जारी गरिएको एउटा रिपोर्टअनुसार वैश्विक शान्ति सूचकाङ्कमा भारत 141औं स्थानमा छ। यो स्थान विगत एक दशकको अवधिमा लगभग 5 प्रतिशत तल झरेको मानिन्छ। हुन त यस वर्ष वैश्विक शान्ति सूचकाङ्कमा भारत दुई स्थानको सुधार गर्दै 141औं स्थानमा आउन सफल भएको तथा अन्य देशहरूले गरेको प्रदर्शनभन्दा भारतको प्रदर्शन राम्रो भएकोले पनि सम्भव भएको हो। छिमेकी राष्ट्र भुटान वैश्विक शान्ति सुचकाङ्कमा उत्कृष्ट प्रदर्शन गर्दै 13औं स्थानमा छ। दक्षिण एशियाको मामिलामा भारतको पाचौं स्थान छ। यस मामिलामा भारतले पाकिस्तानलाई पराजित गरेको छ। भारत आतङ्कवादी गतिविधि र पाकिस्तानसितको साझा सीमामा सुरक्षा खतरालाई लिएर संवेदनशील भएको छ। रिपोर्टअनुसार विगतका वर्षमा बाहिरी सङ्गठित आतङ्की आक्रमणका कारणले भारतमा मृत्युका मामिलाहरूमा बढोत्तरी भए। यसरी नै श्रीलङ्काले भारतसित सम्बन्धमा सुधार गरेर क्षेत्रमा शान्तिको स्थितिलाई सुधार गर्न उत्कृष्ट प्रदर्शन गरेको छ।
अर्को महत्त्वपूर्ण कुरा के छ भने सिक्किमले देशमा पहिलोपल्ट मानव विकास सूचकाङ्क (ह्युमन डेभलोपमेन्ट इन्डेक्स) प्रकाशन गर्न शुरू गरेको छ। यो सूचकाङ्कले पनि राज्यको जीवन प्रत्याशा, शिक्षा र प्रतिव्यक्ति आयमा उल्लेखनीय सुधार गरेको कुरालाई स्पष्ट गरिसकेको छ। पर्यावरण क्षेत्रमा सिक्किमले प्रत्येक वर्ष प्रगति गरिरहेको र लगभग दुई दशकमा वन क्षेत्र प्रतिशतलाई 5 प्रतिशतसम्म वृद्धि गर्न सफल भएको कुराले पनि सिक्किम देश तथा विश्वमा नै पर्यावरण सुरक्षा उपायका सूचकाङ्कमा पनि शीर्ष स्थानमा आउन सकेको छ।
विगत दुई दशकमा शिक्षा, स्वास्थ्य, मानवाधिकारका विषयमा पनि सिक्किमले उत्कृष्ट प्रदर्शन गरेको कारण मानव विकास वा प्रसन्नता सूचकाङ्कमा पनि उत्कृष्ट प्रदर्शन गरेको छ। यद्यपि, यस विषयमा अझ पारदर्शी र प्रभावी अध्ययन हुनसके सिक्किमले देशका निम्ति अन्य धेरै क्षेत्रमा उल्लेखनीय प्रदर्शन गरेको छ भन्ने कुरा प्रकाशमा आउन सक्छ। संस्कृतिको संरक्षण गर्नु विज्ञान एवं तक्निकीलाई समाजोपयोगी बनाउने , जलवायु परिवर्तनको प्रकोपलाई नियन्त्रण गर्ने उपाय, राज्यलाई समृद्धितर्फ अघि बढाउनु, स्वास्थ्यलाई जनउपयोगी बनाउने आदि विषयमा सिक्किम राज्यले उत्कृष्ट प्रदर्शन गरेको देख्न सकिन्छ। स्वास्थ्य, आवास, स्वच्छता, समानता, समावेशीकरण, सद्भाव र व्यक्तिगत स्वतन्त्रता तथा सुरक्षा आदि विषयको प्रगतिमार्फत सामाजिक विकासको सूचकाङ्क जारी गरिन्छ। यसअतिरिक्त अन्य धेरै मानकहरू छन् जसलाई सिक्किमले प्रत्येक मानकमा उत्कृष्ट प्रदर्शन गरिरहेको कुरालाई पनि मानव विकास प्रतिवेदनमार्फत प्रकाशमा ल्याउने प्रयास गरिएको छ। यी विषयहरूले सिक्किमलाई विभिन्न सूचकाङ्कमा शीर्ष स्थान प्राप्त हुने कुरालाई कसैले पनि नकार्न सक्दैन।
Comments
Post a Comment