भोटिया-लेप्चा भाषा अर्को उँचाइमा
भोटिया र लेप्चा भाषाको अध्ययन अध्यापन अब विश्वविद्यालय स्तरसम्म हुने निश्चय भयो। केन्द्रिय मानव संसाधन विकास मन्त्री स्मृति इरानीले सिक्किमको धेरै लामो समयदेखि थाँतीमा रहेको भोटिया- लेप्चा भाषालाई स्नातकोत्तरसम्म पढाउनका लागि भारत सरकारको मानव संसाधन विकास विभागले अनुमोदन गरेको बताएकी छन्। यो अनुमोदनसितै सिक्किमका अन्य भाषाहरूले पनि विस्तारै राष्ट्रिय स्तरबाट संरक्षण प्राप्त गर्ने र सम्बन्धित जातिको भाषा संस्कृतिसितै जाति-समुदायको संरक्षण हुने कुरामा विश्वास सिर्जना गरेको छ।
सिक्किम सरकारले राज्यका प्रमुख भाषाहरूलाई अघिबाटै सीबीएसई बोर्डको पाठ्यक्रममा सामेल गराउन गरेको प्रयासमा सफलता प्राप्त गरिसकेको छ। नेपालीबाहेक लेप्चा, भोटिया, लिम्बू, गुरूङ, राई, शेर्पा र तामाङ आदि भाषाहरूलाई स्कूलहरूमा अध्ययन अध्यापनसितै यसलाई सीबीएसईको पाठ्यक्रममा सामेल गराउन सरकार सफल भएको छ।
राज्य सरकारले जातिको संस्कृतिलाई संरक्षणलाई उच्च प्राथमिकता दिँदै आएको छ। यसका निम्ति सरकारले विभिन्न भाषामा सिक्किम हेरल्ड प्रकाशित गर्दै आएको छ भने स्कूलमा पनि सम्बन्धित भाषाका शिक्षकहरूको नियुक्ति गर्दै आएको छ। सरकारले भोटिया र लेप्चासितै लिम्बू भाषालाई पनि स्नातकोत्तर स्तरसम्म पढाउन केन्द्र सरकारसित धेरै अघिदेखि माग गर्दै आएको थियो। अहिले भोटिया र लेप्चा भाषालाई मन्त्रालयले अनुमोदन गरिसकेको कुराले लिम्बूसहित क्रमशः सिक्किमका अन्य भाषाले पनि यो स्तरसम्म पुग्ने एउटा उत्साह प्राप्त गरेको छ।
एसडीएफ सरकारले राज्यको समग्र विकास र सामाजिक समानताका निम्ति शिक्षालाई उच्च प्राथमिकता दिएको छ। केन्द्रिय विश्वविद्यालयको स्थापनासितै सिक्किम सरकार र सिक्किम विश्वविद्यालयले केन्द्रिय मानव संसाधन विकास मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगसमक्ष भोटिया, लेप्चा र लिम्बू भाषालाई अनुमोदन गराउन पहल शुरू गरेको हो। महत्त्वपूर्ण विषय के छ भने यी तीनवटै भाषालाई युनिस्कोले लोपोन्मुख भाषाको रूपमा सूचीबद्ध गरेको छ। यी तीनैवटा भाषाको अध्ययन अध्यापन अहिले सरकारी स्कूल र सिक्किमका महाविद्यालयहरूका स्नातकसम्म भइरहेको छ।
मानव संसाधन मन्त्रालय भारत सरकार र विश्वविद्यालय अनुदान आयोगको अनुमोदनपछि सरकारले गरेको पहल एउटा निष्कर्षसम्म पुग्न सफल भएको मान्न सकिन्छ। यसले सिक्किमजस्तो सानो राज्यको मागलाई पनि केन्द्र सरकारले गम्भीररूपमा लिने गर्दछ भन्ने कुरातर्फ सङ्केत दिँदछ। यो सङ्केत सकारात्मक मान्नुपर्दछ।
अर्को महत्त्वपूर्ण विषय के छ भने भोटिया र लेप्चा भाषाको पाठ्यक्रम पीजी-स्तरमा शुरू हुनसाथ सिक्किम विश्वविद्यालय देशको एकमात्र विश्वविद्यालय हुनेछ जसमार्फत यी दुवै भाषाको संरक्षण हुने विश्वास गर्न सकिनेछ। यसरी नै यी दुवै भाषाका विद्यार्थीहरूले पनि आफ्नै घर ठाउँमा मातृभाषामा उच्च शिक्षाको अध्ययन अध्यापनको लाभ प्राप्त गर्न सक्नेछन्। यसरी नै स्थानीय भाषामा विश्वास गरेर अहिलेसम्म आफ्नो जीवनलाई समर्पित गर्नेहरूका लागि पनि यो एउटा उत्साह, प्रेरणा र अवसर लिएर आउने निश्चित छ।
Comments
Post a Comment