पशुपालनमा स्वनिर्भर बन्ने दिशातर्फ


पशुपालनमार्फत राज्यका कृषक तथा आर्थिक रूपमा कमजोर वर्गको आर्थिक उन्नति गर्न राज्य सरकारले विशेष जोर दिएर काम गर्दै आएको छ। पशुपालन र पशुधन ग्रामीण क्षेत्रमा आयको स्रोत मात्र नभएर यसले रोजगारको अवसर पनि सिर्जना गर्दछ। विशेष गरी श्रमिक, साना तथा मध्यम कृषक, युवाहरूका निम्ति यसले रोजगारको अवसर प्रदान गर्दै आएको छ। पशुपालन र पशुधनमार्फत रोजगार र आम्दानी मात्र नभएर यसले लाखौं मानिसलाई सहजै पोशिलो खानपान पनि उपलब्ध गराउँछ। राज्यमा पशुपालन, पशुधन, मत्स्यपालनमार्फत दूध, माछा, मासु, कुखुरा, अण्डाको उत्पादन गरेर  स्थानीय बजारको माग पूरा गर्न सक्नु नै महत्वपूर्ण विषय रहेको छ। 
यसर्थ सरकारले यस विषयलाई प्राथमिकता दिएर पूर्वाधारहरूको निर्माणसितै कृषकहरूलाई पशुपालन क्षेत्रमा क्षमता विकास गराउनसितै आवश्यक तकनिकी र आधुनिक सहयोग पनि प्रदान गर्दै आएको छ। जैविक कृषिमा सफलता प्राप्त गर्नुसितै पशुपालन क्षेत्रलाई पनि जैविक विधिअनुरूप अघि बढाउन महत्त्वपूर्ण पहलहरू गरिएको  छ। पशुपालन विभागले स्थानीय प्रजातिका पशुधनलाई गुणस्तर रूपमा विकसित गरेर राम्रो परिणाम ल्याउनका निम्ति विविध उपायहरू शुरू गरिसकेको छ। यसअतिरिक्त पशु चिकित्सा क्षेत्रलाई पनि उच्च प्राथमिकता दिएर राज्यमा पशु चिकित्सा सेवाको सञ्जाललाई अत्याधुनिक ढङ्गमा विकसित गर्नुसितै कृत्रिम गर्वधान केन्द्रहरूको स्थापना, रोगहरूको जाँचका निम्ति प्रयोगशाला र उपचारका विषयहरूलाई पनि ध्यान दिइरहेको छ। 
सरकारले निम्न आय भएका कृषकहरूको आम्दानी बढाउन करोडौं रूपियाँ खर्च गरेर दुधालू गाई वितरण गरिरहेको छ। यसरी नै सुँगुर पालन, पशुआहार  प्रसंस्करण एकाईको स्थापना, डेरी विकास कार्यक्रम, पशुधनको बीमा, पोल्ट्री विकास कार्यक्रम साथै मत्स्यपालन क्षेत्रको विकासमा उल्लेखनीय कार्यहरू भइरहेको छ। राज्यमा सुँगुर पालनको क्षेत्रमा कृषकहरूलाई सहयोग गर्न तीनवटा सुँगुर फार्म स्थापना गरेर यसमार्फत कृषकहरूलाई सुँगुरको बच्चा वितरण गर्ने काम पनि भइरहेको छ। दक्षिण सिक्किमको मल्लीमा जैविक पशुआहार प्रसंस्करण केन्द्र स्थापना गरिएको छ भने डेरी विकासको क्षेत्रमा पनि विभिन्न पूर्वाधारहरू विकसित गरिएको छ। राज्यमा भारत सरकारको मार्गदर्शन अनुसार पशु बीमा योजनालाई पनि शुरू गरिएको छ। 
पशुपालन क्षेत्रमा व्यापक अवसर भएको कुरालाई शिक्षित बेरोजगार युवाहरूले पनि स्वीकारेका छन्। अहिले पोल्ट्री उत्पादनमा विशेष गरी बेरोजगार युवाहरू सामेल भएर स्वरोजगार बन्नसितै यसलाई जीविकोपार्जनको माध्यमका रूपमा स्वीकारेको पाइन्छ। राज्य सरकारले पनि राज्यमा 9 वटा नमूनाको रूपमा पोल्ट्री फार्महरू स्थापना गरेको छ।  यसरी नै मत्स्यपालनको क्षेत्रमा पनि विशेष गरी ट्राउट माछा पालनमा ध्यान पुर्‍याइएको छ। यसका निम्ति ट्राउट माछा र कार्प माछाको बच्चा राज्यभित्र नै उत्पादन गरेर कृषकहरूलाई प्रदान गरिँदैछ। 
सरकारले राज्यलाई उपभोक्ता संस्कृतिदेखि मुक्त बनाएर उत्पादक संस्कृतितर्फ प्रोत्साहन गर्दै आएको छ। वास्तवमा सरकारको यस नीतिले राज्यको सामाजिक-आर्थिक विकास साथै कृषकहरूको स्वास्थ्यमा पनि सुधार गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ। यदि सरकारको सहयोगलाई सही रूपमा प्रयोग गरिए कृषि क्षेत्र सम्मान र कमाउ पेशाका रूपमा स्थापित हुने कुरालाई अस्वीकार गर्न सकिन्न। यी सबै विषयलाई हेर्दा सिक्किम जैविक खेतीसितै जैविक रूपमा पशुपालन गर्ने राज्य भएर अन्यका निम्ति उदाहरण प्रस्तुत गर्न सफल भइरहेछ।

Comments

Popular posts from this blog

भीम दाहालको उपन्यास ‘अभीष्टको खोज’- कृतिपरक अध्ययन- नवीन पौड्याल

मौरी पालन- अनुवाद