केवल बुख्याचा
एसडीएफ सरकारले विगत दुई दशकमा सिक्किमको समग्र विकासमा उदाहरणीय कार्य गरेको छ। सिक्किमले सामाजिक, आर्थिक, राजनैतिकलगायतका सबै क्षेत्रमा उल्लेखनीय कार्य गरेको कारण नै आज सिक्किमले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा आफ्नो नयाँ पहिचान बनाउन सफल भएको छ। सरकारले गरेका कार्यहरू प्रत्यक्ष एवं परोक्ष दुवै रूपमा छन्। अर्को शब्दमा भन्नुपर्दा एसडीएफ सरकारले देख्नसक्ने विकास गरेकै कारण बाहिरबाट आउने विभिन्न विषयका विशेषज्ञले सिक्किमले प्रगति गरिरहेको स्पष्ट देख्न सक्छन्। उदाहरणका लागि जैविक खेती गर्ने प्रणाली समग्र हितसित सम्बन्धित भएको कारण यसलाई विश्वले नै स्वीकार्छ अनि सिक्किम प्रशंसनीय बन्ने गर्छ। दोस्रो सिक्किम मात्र यस्तो राज्य हो जहाँ रू. 5 लाखभन्दा अधिक खर्च गरेर गरीब परिवारको घर निर्माण गरिएको छ। यो योजना विश्वमा नै अद्वितीय छ। सरकारले सिक्किमलाई झोपडीमुक्त राज्य बनाउने लक्ष्य राखेर शुरू गरेको यो योजनामा कुनै भेदभाव छैन। सरकारले एउटै लक्ष्य लिएको छ त्यो हो झोपडी वा कच्चाघरमुक्त सिक्किम निर्माण गर्ने। वास्तवमा प्रजातान्त्रिक प्रणालीमा विश्वास राख्ने एसडीएफ सरकारले आफ्नो नीति, सिद्धान्त र कार्यक्रममार्फत जनसेवा गर्दै आएको छ। यो सेवाप्रति सिक्किमे जनता निरन्तर खुशी छन्।
यद्यपि, विडम्बना के छ भने सिक्किमको प्रगति, सिक्किमे गरीब जनताको कल्याण, सिक्किमको समृद्धिको विरोध सिक्किमभित्रबाट नै हुने गर्दछ। एसडीएफ पार्टीलाई चुनौती दिन भनेर विपक्षी पार्टीका रूपमा उदाएका नेतृत्त्वले पनि सकारात्मक र निर्माणात्मक ढङ्गमा राजनीति नगरेर केवल सत्ता, चौकी र व्यक्तिको विरोध गर्ने राजनीति गरेको देखिन्छ। कतिपय अवस्थामा त विपक्षलाई नेतृत्त्व दिनेले प्रजातान्त्रिक प्रणालीलाई नबुझेको, प्रजातान्त्रिक प्रक्रियालाई नबुझेको अथवा बुझेर पनि नबुझेजस्तो गरेको, मुद्दा शून्य भएपछि व्यक्तिको विरोध मात्र गरेको अनि जनतालाई आफ्नो नीति, सिद्धान्त र कार्यक्रमहरू दिने स्थानमा सिक्किमकै बदनाम हुने काम गरिरहेको कुरा अर्को बिडम्बना छ। यति मात्र होइन कतिपय विपक्षी नेतृत्त्वले देशको सरकार चलाउने प्रणाली साथै कानुनी व्यवस्थाप्रति पनि अनादेखा गरेर राजनीति गरिरहेको भान हुन्छ। कुन विषय राज्य सरकार अधिनस्थ छ र कुन विषय केन्द्र सरकार अधिनस्थ हुन् भन्ने समेत नछुट्याइकन बयानबाजी गरिरहेको कुराले पनि नेतृत्त्व क्षमता खोक्रो छ भन्ने स्पष्ट गरेको पाइन्छ। दुर्भाग्यवश संस्थागत राजनीतिमा विश्वास गर्ने राष्ट्रिय पार्टीले समेत राज्यमा नेतृत्त्व गर्ने व्यक्तिलाई एउटा भीडबाट टिपेर ल्याएको जोकरलाई वा खेतबारीमा चरामुसा तर्साउन राखिएको बुख्याचा जस्तो नेतृत्त्वलाई अहिलेका शिक्षित जमातले स्वीकार्ला भन्ने एउटा विषय पनि छ।
यस्तो लाग्छ कतिपय विपक्षका नेतृत्त्वले सिक्किम र सिक्किमे जनताको लागि राजनीति नगरेर राजनीतिको नाममा टाइप पास गरिरहेका छन्। वास्तविकता यही हो सिक्किममा अहिले असल शासन भएको कारण विपक्षलाई राजनीति गर्नु कठिन छ। यद्यपि, यस कठिन कार्यलाई सहज देखेर राजनीति गर्छु भन्नेले कुनै नीति, सिद्धान्त, मौलिक मुद्दालाई अनादेखा गरेर मैदानमा उत्रिनु केवल बुख्याचा साबित हुनु मात्र हो भन्दा अत्युक्ति नहोला।
Comments
Post a Comment