विकासमा शान्ति महत्त्वपूर्ण
राष्ट्र एवं राज्यको सर्वाङ्गीन विकासका निम्ति शान्ति एवं सुरक्षा एक महत्त्वपूर्ण आधार हो। जहाँ शान्ति र सुरक्षा कायम छ त्यहाँ विकास र प्रगति हुन्छ। शान्ति र सुरक्षा स्थापित हुनका निम्ति त्यहाँको राजनैतिक स्थिति र प्रशासनिक व्यवस्था सही र पारदर्शी बन्न सक्नुपर्छ। गणतान्त्रिक देश भारतको संविधानलाई सबै राज्यहरूले अनुशासनात्मक रूपमा पालन गरेका छन्। केही राज्यमा भारतीय संविधान र गणतन्त्रको गरिमालाई आँच आउने कार्य पनि भइरहेको पाइन्छ। विगत धेरै वर्षदेखि जम्मू कश्मिरमा यस्ता कार्यहरू भएको उदाहरणहरू पाइन्छन्, जसमा जम्मू कश्मिर भारतको एक अभिन्न अङ्ग भए तापनि कतिपय प्रतिक्रियावादीहरूले त्यहाँ पाकिस्तानको राष्ट्रिय झण्डा अनि आइएसआइएसको झण्डा लिएर प्रदर्शन गर्ने जस्ता कार्यहरूले विश्वमा भारतको छविलाई धमिल्याउने कोशिष भइरहेको छ। यस विषयमा केन्द्र सरकारको विदेश नीति र सम्झौताहरूमाथि गहन छानबीन एवं गम्भीर चर्चा भएर एक चुडान्त निष्कर्षमा पुग्ने आवश्यकता खट्किने गर्छ।
जसरी जम्मू कश्मिर अन्तरराष्ट्रिय सीमाले घेरिएको राज्य हो, ठीक त्यसरी नै सिक्किम पनि अन्तरराष्ट्रिय सीमाले घेरिएको राज्य हो। तर यी दुईवटा राज्यमा आकाश पातालको फरक छ। संविधानले दुवै राज्यलाई विशेष छुट्टै अधिकारको प्रावधान पनि राखेको छ। यो विशेष अधिकारलाई सिक्किमले सदुपयोग गरेको छ। यतिमात्र नभएर उत्तरपूर्वी राज्यहरूमा पनि आन्तरिक प्रतिक्रियावादी संस्थाहरू सक्रिय छन्, तर सिक्किममा भने पारदर्शी प्रशासनिक व्यवस्थाले गर्दा राज्यमा सरकारको नीति, सिद्धान्त र कार्यक्रमले गर्दा यस प्रकारको सोच फस्टाउने अवसर सिर्जना हुन पाएको छैन।
सिक्किम राज्य सन् 1975 पछि भारतको अभिन्न अङ्ग बनेको हो। यसपछि भारतीय प्रशासनिक पद्धतिद्वारा सिक्किमको शासन व्यवस्था र प्रशासनिक व्यवस्था सञ्चालित हुँदै आएको छ। राज्यमा प्रजातान्त्रिक प्रणालीअन्तर्गत जिम्मेवार सरकार अनि पारदर्शी प्रशासनिक व्यवस्थाले गर्दा यस्ता प्रतिक्रियावादी तत्वहरू सक्रिय हुन सकेका छैनन्। यद्यपि, कतिपय स्थिति र परिस्थितिमा राजनैतिक स्वार्थका निम्ति कतिपय व्यक्तिले जात र धर्मलाई अघि ल्याएर जनतालाई भ्रममा पार्ने कोशिष गरे तापनि यहाँको सामाजिक संरचनाले त्यसलाई समयमै धरासयी बनाउँदै आएको छ। एसडीएफ पार्टीको सरकारले राज्यमा जुन प्रकारले सामाजिक न्याय र सत्ता हस्तान्तरण अनि शासन विकेन्द्रीकरणको प्रणाली सुनिश्चित गरेको छ यसले गर्दा राज्यमा यस्ता प्रतिक्रियावादीहरू जनतामा पुग्न अघि नै धारासयी बन्ने गरेका छन्। जहाँ जनताले न्याय अधिकार एवं सुरक्षा पाइरहेका छन् त्यहाँ हिंसा र अशान्तिको स्थान हुँदैन। सिक्किम राज्यमा सरकारले जुन प्रकारले सामाजिक, आर्थिक, राजनैतिक अनि लैङ्गिक स्तरमा जनतालाई हक र अधिकार प्रदान गरेको छ, त्यसको परिणाम नै राज्यमा स्थापित शान्ति र सुरक्षा हो।
राज्यमा स्थापित शान्ति र सुरक्षाले गर्दा विकास र प्रगति भइरहेको छ। जनताको आकांक्षाअनुसार सरकारले मागहरू पूरा गर्दै आएको छ। राज्यमा शान्ति र सुरक्षाको कारण विकास र प्रगति भइरहेको छ त्यसको परिणामले राज्यमा अवसरहरू पनि उत्तिकै सिर्जना भइरहेका छन्। अब राज्यको चुनौती भनेको शिक्षित युवाहरूलाई सिर्जित अवसरहरूमा समावेश गर्ने र त्यसको भरपूर फाइदा उठाउन सक्ने बनाउनु रहेको छ। यसमा पनि सरकारले विभिन्न योजनाहरू तयार गरी सञ्चालन गर्दै आएको छ। अब शिक्षित युवाहरूले यस्ता सिर्जित अवसरहरूमा सहभागिता जनाई लाभ उठाउनु पर्नेछ।
विश्वमा बेरोजगारी समस्या जुन दरमा बढेर गइरहेको छ त्यसको तुलनामा सिक्किम राज्यमा धेरै अवसरहरू सिर्जना भए तापनि युवा जमातको काम गर्न नचाहने मनस्थितिलाई परिवर्तन गर्न आवश्यक देखिएको छ। जब राज्यमा युवा जमातमा श्रमप्रतिको नैराश्य बढेर जान्छ भने त्यहाँ बेरोजगारी समस्या पनि उत्तिकै बढ्नेछ अनि समाजमा प्रतिक्रियावादी शक्ति पनि ऊर्जावान बन्दै जानेछ। यसलाई नियन्त्रण गर्न शिक्षित युवा जमातले स्वयं जिम्मेवारी उठाएर काम गर्न आजको आवश्यकता हो। राज्यमा विकास भइरहेछ, शान्ति, सुरक्षा कायम छ, अवसरहरूको सिर्जना भइरहेको छ, पारदर्शी प्रशासनिक व्यवस्था छ। यसको सकारात्मक फाइदा उठाउन जिम्मेवार नागरिकको कर्तव्य हो। यसो नभए भविष्यमा युवा जमात स्वयं भ्रममा पर्ने र त्यही भ्रमका कारणले सामाजिक हिंसाहरूले आश्रय पाउने अनि प्रतिक्रियावादी तत्वहरू पनि समाजमा बढेर जाने हुनाले यसलाई आजैदेखि युवा जमातले गम्भीर भएर बुझ्न आवश्यक छ। यसमाथि युवाहरूले आजैदेखि कामगरि सकारात्मक भविष्यको निर्माणमा योगदान पुर्याउन सक्नुपर्छ। यसरी राज्यमा स्थापित शान्ति शृङ्खलालाई अक्षुण्ण राख्न युवाहरूले पनि आफ्नोस्तरबाट योगदान दिन सक्नुपर्छ।
Comments
Post a Comment