पर्यावरण महोत्सवको


यस वर्षको पर्यावरण महोत्सवको उद्घाटन टाइटेनिक पार्क, एमजी मार्गबाट गरियो। यो उत्सव प्रत्येक वर्ष 15 जूनदेखि 30 जूनसम्म पालन गरिन्छ। यस उत्सवको उद्देश्य पर्यावरणबारे मानिसहरूमा जागरूकता फैलाउनु रहेको छ।
सिक्किम राज्यमा पर्यावरण दिवसलाई एक उत्सवका रूपमा पालन गरिन्छ। प्रत्येक वर्ष 5 जूनको दिन पालन गरिने विश्‍व पर्यावरण दिवसको कार्यक्रमले 10 दिनपछि उत्सवको रूप लिनेगर्छ। 
वास्तवमा वातावरण सम्पूर्ण प्राणीका लागि घर हो। वातावरणमा नै प्राणीको अस्तित्व अडिएको छ। वातावरणका प्राकृतिक श्रोतहरूको प्रयोगबाट नै जीवन प्रक्रिया अगाडि बढेको हुन्छ। मानिस आज जुन अवस्थामा छ त्यो सम्पूर्ण रूपमा वातावरणको देन हो। वास्तवमा भन्नुपर्दा वातावरणको अत्याधिक शोषणका कारण विश्‍वको यो विकास सम्भव भएको हो। मानव जीवनको अस्तित्व वातावरणमा अडिएको छ। चाहे त्यो भौतिक वातावरण होस वा अभौतिक वातावरण। व्यक्ति वा सिङ्गो समुदायको विकास प्रक्रियामा वातावरणीय परिस्थितिको महत्त्वपूर्ण भूमिका रहन्छ। वातावरणमा रहेका प्राकृतिक श्रोत र साधनको अत्याधिक शोषणले आज मानव अस्तित्व नै सङ्कटमा परेको छ।  
ओजनतहको विनाश, त्यसको परिणाम स्वरूप सूर्यबाट अत्याधिक मात्रामा परावैजनिकीरण पृथ्वीमा आउने गरेको कारण पृथ्वीमा विश्‍वव्यापी उष्णता, जलवायु परिवर्तन, मरुभूमीकरणजस्ता समस्या विश्‍वव्यापी रूपमा अत्याधिक जल्दोबल्दो समस्याको रूपमा देखिएको छ। विकासका क्रममा वातावरण प्रदुषणजस्ता समस्या तड्कारो रूपमा देखिएको छ। वायुप्रदुषण, जलप्रदुषण, ध्वनि प्रदुषणले मानिसमा क्यान्सर, मानसिक रोगलगायतका विभिन्न घातक रोगहरू निम्ताएको छ। यसैकारण जनस्तरबाट पनि वातवरण संरक्षणमा जुट्नु उत्तिकै आवश्यक छ। फोहोर मैला व्यवस्थापन, बोट विरूवा रोपण र संरक्षण, प्राकृतिक श्रोत साधनको समुचित प्रयोग, वातावरण प्रदूषणसम्बन्धी चेतनामूलक कार्यक्रम स्थानीय स्तरबाट सञ्चालन गर्न सकिन्छ। स्वच्छ वातावरण भावी पिंढीलाई हस्तान्तरण गर्नु हाम्रो कर्तव्य हो। 
स्वच्छ वातावरण हाम्रो मात्र नभई हाम्रा भावी सन्तानको समेत अधिकार हो। यस विषयमा बेलैमा सोचेनौं भने हामी त समस्याको सिकार बन्छौ नै, हाम्रा सन्तानले समेत हामीलाई सराप्ने छन्। यी कुराले सिक्किम पर्यावरण उत्सव धेरै महत्वपूर्ण भएको छ। सिक्किम राज्यका नागरिकवर्ग स्वभावले नै प्रकृतिप्रेमी भएको कारण पर्यावरण दिवसलाई यहाँ उत्सवका रूपमा लिन सहज भएको छ।
राज्य सरकारले पर्यावरण संरक्षणका निम्ति महत्त्वपूर्ण पहल गरेकै कारण आज सिक्किमको वन क्षेत्र प्रतिशतमा निरन्तर वृद्धि भइरहेको छ। सिक्किमको कूल भौगोलिक क्षेत्रमध्ये 47.80 प्रतिशत क्षेत्र वन जङ्गलले ढाकेको छ। भारतको वन सर्वेक्षण प्रतिवेदनअनुसार वर्ष 1993 मा सिक्किमको वन क्षेत्र प्रतिशत 43.95 प्रतिशत रहेको थियो। यसमा लगभग 5 प्रतिशतको वृद्धि भएको छ। यो वृद्धि देशमा नै उत्कृष्ट रहेको मानिन्छ। वन क्षेत्रका सन्दर्भमा सिक्किम राज्यको दक्षिण जिल्लामा कूल भौगोलिक क्षेत्रको 76.13 प्रतिशत वन क्षेत्र छ। राज्यको दक्षिण जिल्ला वर्ष 2013 सम्म सर्वाधिक वन क्षेत्र भएको जिल्लाका रूपमा परिचित छ। यसरी नै सोही अवधिमा राज्यको उत्तर जिल्लामा सबैभन्दा कम्ती वन क्षेत्र भएको पनि बताइएको छ।  उत्तर जिल्लामा कूल भौगोलिक क्षेत्रको 31.14 प्रतिशतमात्र वन क्षेत्र रहेको छ। सिक्किम राज्यमा वर्ष 2013 सम्म कूल वन क्षेत्र 3358 वर्ग किमि रहेको  थियो। यसरी नै सिक्किममा अति घना वन क्षेत्र 5 सय वर्ग किलोमिटर रहेको छ। यसरी नै सिक्किममा मध्यम घना जङ्गलको क्षेत्र 2161 वर्ग किलोमिटर रहेको छ।
खुल्ला वन क्षेत्रको सन्दर्भमा सिक्किममा 697 वर्ग किलोमिटर। पूर्व जिल्लामा वन क्षेत्र 699 वर्ग किलोमिटर रहेको छ भने यस जिल्लामा अति घना वन जङ्गलको क्षेत्र 162 वर्ग किमि रहेको छ। पूर्व जिल्लामा 411 वर्ग किमिमध्ये घना जङ्गल रहेको छ भने खुल्ला वन क्षेत्र 126 वर्ग किमि छ। यसरी नै पूर्व जिल्लाको कूल भौगोलिक क्षेत्रमा वन प्रतिशत 73.27 प्रतिशत रहेको छ। यसरी नै पश्‍चिम जिल्लामा वर्ष 2013 को आँकडाअनुसार 772 वर्ग किलोमिटर क्षेत्र छ। पश्‍चिम जिल्लामा 110 वर्ग किलोमिटर अति घना जङ्गल रहेको छ भने मध्यम घना जङ्गलको क्षेत्र 489 वर्ग किलोमिटर रहेको छ। यस जिल्लामा 173 वर्ग किलोमिटर खुल्ला जङ्गल रहेको छ। यसरी पश्‍चिम जिल्लामा कूल भौगोलिक क्षेत्रको 66.21 प्रतिशत  वन क्षेत्र रहेको छ। सिक्किम राज्यले दुई दशकको अवधिमा लगभग 5 प्रतिशत वन क्षेत्रमा वृद्धि गर्न सफलता प्राप्त गरेको छ। यो सफलता विश्‍वमा नै अद्वितीय रहेको बताइन्छ।
राज्यले विश्‍वकै निम्ति अनुकरणीय पर्यावरणमैत्री नवोन्मेशी कार्यक्रम शुरू गरेको छ। यसले राज्यलाई पर्यावरणको क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नै पहिचान दिलाउन सफल बनाएको छ। मुख्यमन्त्री पवन चामलिङले पहिलोपल्ट 1999 मा भारतका ग्रीनेस्ट मुख्यमन्त्रीको पुरस्कार प्राप्त गरिसकेका छन्। सिक्किममात्र देशको एउटा यस्तो राज्य हो, जसले पहिलोपल्ट वैश्‍विक तापमान वृद्धि र जलवायु परिवर्तनका लागि आयोग गठन गरेको छ। यसपछि राज्यले हरित अभियान, प्लास्टिक र अन्य नकुहिने सामग्रीहरूको प्रयोगमा निषेध, पृथ्वीका लागि दश मिनट, स्मृति वन, गौचरणमा निषेधलगायत अन्य धेरै कार्यक्रमहरू शुरू गरेको छ।
सरकारले 1995-96 मा हरित क्रान्ति दशक घोषणा गरेर व्यापक रूपमा बिरूवा रोप्नका निम्ति निशुल्क रूपमा बिरूवा वितरण गरियो। यस प्रकारका महत्त्वपूर्ण अन्य कार्यक्रममा पर्यावरण संरक्षणका निम्ति सरकारले पटेका पड्काउन गरेको निषेध र कृषिमार्फत सिर्जना हुने पात पतिङ्गर र घस्यौटा डढाउन निषेध गर्ने कार्यक्रमले पनि कार्बन उत्सर्जनलाई नियन्त्रण गर्न सहयोग पुगेको छ। राज्यले स्कूलको पाठ्यक्रममा पर्यावरण शिक्षालाई अनिवार्य गरेको छ भने स्कूलहरूमा इको क्लब गठन गरेको छ। यस अतिरिक्त प्रत्येक वर्ष शीर्ष स्कूलहरूलाई ग्रीन स्कूल अवार्डले पनि पुरस्कृत गरिँदैछ। यस अतिरिक्त राज्यका वन संरक्षण गर्ने पर्यावरण प्रेमीहरूलाई प्रोत्साहन गर्नका निम्ति राज्य सरकारले राज्य वन संरक्षण एवं पर्यावरण पुरस्कार पनि शुरू गरेको छ। सरकारले धार्मिक महत्त्वलाई प्राथमिकता दिँदै कञ्जनजङ्घा पर्वतसहित विभिन्न लेकहरूलाई पनि पवित्र स्थान घोषणा गर्दै चढाई गर्न निषेध गरेको छ।
सरकारले  वन संरक्षणका लागि एलपीजी वितरण गर्ने कार्यक्रम शुरू गर्‍यो। यसले गर्दा दैनिक खान पकाउनका निम्ति दाउराको प्रयोगलाई  घटाउनसितै महिलाहरूमा हुने फोक्सोको क्यान्सरलाई नियन्त्रणमा ल्याउन सकिएको दावी सरकारले गर्दै आएको छ। सरकारले प्रत्येक सडकलाई इको सडक वा हरियाली सडकका रूपमा विकसित गर्ने कार्यलाई पनि प्राथमिकता दिएको छ। सिक्किमले आफ्नै पर्यापर्यटन नीति तयार गरेर पर्यावरणको संरक्षणसितै यसलाई ग्रामीण क्षेत्रको दिगो आयस्रोतका रूपमा विकसित गर्ने पहल गरेको हो। यस वर्ष सिक्किमको पर्यावरण सूचना प्रणाली (इन्भिस) लाई  देशको उत्कृष्ट सूचना प्रणालीका रूपमा भारत सरकारको वन पर्यावरण तथा जलवायु परिवर्तन मन्त्रालयले सम्मानित गरिसकेको छ। सरकारले सम्पूर्ण वन्य सम्पदालाई संरक्षण गर्ने प्रयास गरेको छ।
यसमा वन्य प्राणीको शिकार गर्न निषेधसितै विभिन्न उद्यान र अभ्यारण्य तथा पार्कहरूको संरक्षण गर्ने पहललाई लिन सकिन्छ। पारम्परिक जडीबुटीको स्रोत रहेका वन जङ्गललाई संरक्षण गर्नुसितै जडीबुटीको खेतीमार्फत संरक्षण गर्ने पहल पनि सरकारले शुरू गरेको छ। यसले कृषकहरूको जीविकोपार्जनको माध्यममा सुधार गर्ने कुरालाई पनि टेवा पुर्‍याएको छ। राज्य सरकारले सिक्किमलाई देशकै पहिलो कार्बन न्युट्रल राज्य बनाउने मार्गमा काम गरिरहेको छ। ‘टेन मिनटस् टु अर्थ’-शुरू गरेर सिक्किमले संसारलाई एउटा गतिलो सन्देश दिएको छ।
पर्यावरण संरक्षणको क्षेत्रमा नवीन तथा नवोन्मेशी प्रयोग गर्दै आएको राज्य सरकारले यस वर्ष थप नयाँ पहल जेडिएको छ। वन, पर्यावरण तथा वन्यप्राणी प्रबन्धन विभाग, सिक्किम सरकारले राज्यका 21 विभिन्न प्रजातिका रूखहरूलाई धरोहरको दर्जा प्रदान गरेको छ। वन विभागले वन्यप्राणी, चरा, रूख, वनस्पति आदिको संरक्षण अनि संवर्द्धनको निम्ति विभिन्न पहल गर्दै आएको र यो पनि यसैमध्ये एउटा पहल रहेको जानकारी विभागीय प्रधान सचिव डा. थोमस चान्डीले हालै सम्पन्न पत्रकार सम्मेलनमा बताएका छन्। 
यसरी रूखहरूलाई धरोहर घोषणा गर्नुको पछि पर्यावरण तथा रूखहरूको संरक्षण नै मुख्य कारण रहेको छ। यसरी नै राज्यमा जंगल विज्ञानको महत्वलाई मान्यता दिँदै र परितन्त्रमा ऐतिहासिक रूपले महत्वपूर्ण रूखहरूको मूल्यलाई ध्यानमा राखेर यो निर्णय लिइएको बताइएको छ। यस सम्बन्धमा विभागले 4 जून 2016 को दिन एउटा अधिसूचना समेत जारी गरिसकेको छ। राज्यको वन विभागले रंगेली, देन्ताम, सोरेङ, राबोङ, नाम्ची-तिमी, राभाङला, मंगन र जङ्गु रेञ्ज/ब्लकमा पर्ने यी 21 वटा विभिन्न प्रजातिका रूखलाई धरोहर रूख भनी घोषणा गरेको छ।
यसमा टूनी, पानीसाज, बान्टे, बजराठ, औले कटुस, थेङग्रे सल्ला, मुस्रे कटुस, बुक, कटुस, फालट, रानी चम्पा, जंगली बर र खोल्मे रूखको नाम सामेल छन्। राज्यमा अझै यस्ता धरोहर रूखहरूको खोजी गर्ने कार्य भइरहेको छ। धरोहर रूख घोषणाको निम्ति विभागले कतिपय मापदण्ड भने निर्धारित गरेको छ।
यसपाली विशेष रूपमा सडक मार्ग छेउछाउ र जंगलभित्र खाली ठाउँहरूमा विरूवा लगाउने कार्य गरिनेछ। वन विभागले अन्य विभागहरूलाई पनि आफ्नो श्रमशक्ति लगाएर यस अभियानलाई सफल बनाउन आह्वान गरेको छ। गत वर्षको तुलनामा यसपाली अधिक संख्यामा विरूवा वितरण केन्द्रहरू स्थापना गरिएको छ।
गत वर्ष पाँच लाखभन्दा कम विरूवा लगाइएको र यसपाली दुई गुणा अधिक विरूवा लगाउने लक्ष्य राज्य सरकारको छ। जे होस् सिक्किम राज्यले पर्यावरण संरक्षणलाई उत्सवका रूपमा पालन गरेर जलवायु परिवर्तनका कारण मौसमको प्रकोप झेलिरहेको विश्‍व समाजलाई एउटा नयाँ सन्देश मात्र नदिएर पर्यावरण संरक्षण गर्ने हाम्रो संस्कृतिलाई संमृद्धितर्फ बढाई रहेको कुरामा सबै खुशि भएर योगदान दिनुपर्छ। पर्यावरण उत्सवप्रति सबैले गर्व अनुभव गर्नुपर्छ।

Comments

Popular posts from this blog

भीम दाहालको उपन्यास ‘अभीष्टको खोज’- कृतिपरक अध्ययन- नवीन पौड्याल

मौरी पालन- अनुवाद