कृषिमा जलवायु परिवर्तनको सङ्कट


जलवायु परिवर्तनका कारण तापमानमा वृद्धि हुने विषयले अहिले विश्‍वमा विभिन्न प्रकारका चुनौतीहरू देखा परेका छन्। जलवायु परिवर्तनका कारण अत्याधिक वर्षा हुने, बेमौसमी वर्षा साथै औसतभन्दा अधिक तापमान बढ्ने क्रमले विश्‍व ब्राह्मडलाई नै चिन्तित बनाएको छ। जलवायु परिवर्तनका कारण कृषिमा आइपर्ने समस्याले विश्‍वलाई नै खाद्य सङ्कटको स्थितिमा पुर्‍याउने अर्को चिन्ताको विषय बनेको छ।
सिक्किम राज्यले जलवायु परिवर्तनको प्रभावलाई रोक्न 70 अधिक कार्यक्रमहरू शुरू गरेर विश्‍वमा नै एउटा उदाहरण प्रस्तुत गरेको छ। सिक्किम राज्यले यस्ता अनेकौं कार्यक्रमहरू गरेर राज्यको वन प्रतिशतमा वृद्धि गर्ने र राज्यलाई नै कार्बन न्यूट्रल राज्यको रूपमा स्थापित गर्ने लक्ष्य लिएर कार्य गरिरहेको छ। यद्यपि, वैश्‍विक समस्याको चपेटले राज्यलाई सताई रहेको छ। राज्यमा बेमौसमी वर्षा र दिन प्रतिदिन बढ्दो तापमानले कृषि क्षेत्रलाई धेरै प्रभाव पुर्‍याई रहेको छ।
कृषि विशेषज्ञहरूअनुसार जलवायु परिवर्तनका कारण सिक्किम राज्यमा पारम्पारिक खाद्यान्न र बागबानी उत्पादमा धेरै परिवर्तन आएको छ। यद्यपि, यस विषयलाई नियन्त्रण गर्न राज्यको कृषि तथा बागबानी विभाग र भारतीय कृषि अनुसन्धान परिषद्का वैज्ञानिकहरूले मौसम अनुरूपको खेती अप्नाउने विषयमा कृषकहरूलाई मार्गदर्शन गर्दैआएका छन्। यसमा जैविक खेतीको  आवधारणाले कृषकहरूलाई केही हदसम्म सहयोग पुर्‍याएको छ। जुन ठाउँमा पहिला सुन्तला, अदुवा, अलैंचीलगायत अन्य सागसब्जी फस्टाउथ्यो त्यो ठाउँमा अहिले यी मध्ये धेरैवटा उत्पाद नफस्टाउनु, आउलमा फस्टाउने सुन्तला केही वर्ष अघिसम्म लेकमा फस्टाउँदैन भनिएका सुन्तला फल्न शुरू हुनु जस्ता विषयहरू जलवायु परिवर्तनका कारण हो भन्ने गर्छन्।
यद्यपि, कतिपय कृषकहरूलाई यस विषयमा ज्ञान नहुँदा उनीहरूमा उत्साह घट्ने समस्या सिर्जना हुनसक्छ। यसका निम्ति राज्य सरकारले स्थानअनुसारको दुईवटा प्रमुख बालीहरू पहिचान गरेर त्यसको खेती गर्न प्रोत्साहित गर्ने एउटा गाउँ दुईवटा बालीको कार्यक्रम शुरू गरेको छ। यो कार्यक्रम जलवायु परिवर्तनबाट हुने प्रभाव र कृषकहरूको उत्साह भर्ने कार्यक्रमका रूपमा उदय भएको छ।
अर्को महत्त्वपूर्ण विषय के छ भने, कोदो पूर्णरूपले जैविक र पोषणयुक्त भएको उत्पाद हो। यो जलवायु परिवर्तनका कारण सिर्जना हुने समस्या अथवा वर्षाको भरमा पनि फल्न सक्ने बाली भए तापनि यस खेती प्रति झुकाउ घट्दै गएको कारण कोदोलाई जलवायु परिवर्तनसित जुझ्ने हतियारका रूपमा अप्नाउने आवश्यकता छ-छैन भन्ने कुरामा पनि कृषि विशेषज्ञहरूले मन्थन गर्नुपर्ने समय आएको छ।
यसरी नै राज्यका अन्य प्रमुख नगदेबालीहरूमा पनि जलवायु परिवर्तनको असर भइरहेको  कारण दिगो कृषि र कृषि कार्यको निम्ति यी प्रमुख बालीहरूमाथि नियमित रूपमा अध्ययन अनुसन्धान भइरहन आवश्यक छ। राज्य जैविक अभियानका कारण कृषि क्षेत्रको नयाँ क्रान्ति लिएर उदय भएको छ। यद्यपि, जलवायु परिवर्तन हुने कृषि समस्यालाई समयमा पहिचान गर्ने र यसको समाधानका निम्ति उपायहरू खोज्ने प्रयास नगरिए कृषि क्षेत्रको विकासमा अभाव खट्किन छ भन्ने कुरालाई समयमा नै बुझ्न आवश्यक देखिन्छ।

Comments

Popular posts from this blog

भीम दाहालको उपन्यास ‘अभीष्टको खोज’- कृतिपरक अध्ययन- नवीन पौड्याल

मौरी पालन- अनुवाद