सतर्क बन्न आवश्यक


सिक्किमको भौगोलिक स्थिति नै यस्तो छ, जहाँ कुनै पनि बेला प्राकृतिक प्रकोपको सामना गर्नुपर्ने स्थिति आउनसक्छ्। विभिन्न प्रकारको मौसम, अविरल वर्षा र भिरालो जमिन, वर्षाको भार सहन गर्न नसक्ने माटोको क्षमता आदि संवेदनशील विषयहरू छन्। महत्त्वपूर्ण विषय के छ भने वर्षा लागेपछि विशेष ग्रामीण क्षेत्रमा बसोबासो गर्ने अधिकांश जनता त्रसित बन्नुपर्ने स्थिति वर्षौं पुरानो बिमारी बनेको हो। एकातर्फ भुइँचालोको झट्का र यसले सिर्जना गरेको त्रास। भारी वर्षाको कारण पैह्रोको त्रासले पुनः ग्रामीण क्षेत्रमा बस्ने नागरिकहरूको निद्रा खास्ने गरेको छ। अहिले भारी वर्षाले शुरू भएको छ। वितेका वर्षमा यो मौसममा धेरै स्थानमा सडकहरू अवरूद्ध भएका थिए। एक त सिक्किमको भौगोलिक बनावट नै यस्तो छ जसले कुनै पनि समय प्राकृतिक आपदाको सामना गर्नुपर्ने स्थिति आइपर्छ भने भुइँचालोले यसलाई अझ संवेदनशील बनाइदिने गर्छ। दोस्रो सडक निर्माणबाट निस्किएको ढुङ्गा माटोलाई सही स्थानमा जम्मा नगर्नु, सडक बनाएपछि सुरक्षा पर्खाल नबनाउनु, भल निकासीका निम्ति सही नाला प्रबन्धन नहुनु जस्ता समस्याहरू देखिँदैछ। राष्ट्रियस्तरको पूर्वाधार विकासमा यही समस्या देखिँदैछ। निर्माण कार्यबाट उत्पन्न हुने भलले पनि सडक मार्गसित निजी सम्पत्तिलाईसमेत क्षति पुर्‍याएको विषय प्रकाशमा आइसकेको छ। यो स्थिति अहिले राज्यको हरेक स्थानमा देखिन्छ। कतिपय शहरी क्षेत्रमा बसोबासो गर्ने मानिसले अझ पनि नाला र झोडामा, राति सडकमा, खोल्सा र नदी किनारमा मैला फ्याँक्ने बानी त्याग्न सकेका छैनन्। यस्तो लापर्वाहीले मानव जीवनसहित धन सम्पत्तिको क्षति हुन्छ भन्ने कुरा जान्नुपर्छ। राज्य प्रदुषण नियन्त्रण  बोर्डले यस विषयमा जागरूग तथा सतर्क गराउने प्रयास  गरे तापनि नियन्त्रण हुन सकिरहेको छैन।
प्राकृतिक प्रकोप भन्ने विषयलाई रोक्न सकिन्न। यद्यपि, केही सुरक्षात्मक उपायहरू अप्नाउन सके अधिक हुने क्षति र जोखिमबाट बाँच्न र बचाउन सकिन्छ। यसरी नै मानव कार्यद्वारा सिर्जना हुने आपदालाई पनि पूर्णरूपले रोक्न नसके पनि यसलाई नियन्त्रणमा ल्याउन सकिन्छ। राज्यमा वर्षौंदेखि प्राकृतिक आपदा, विशेष पैह्रोका कारण वर्षैपछि अकालमा मृत्यु हुने घटनाको रेकर्ड छ। यस्तो स्थितिमा पुनः एकपल्ट आपदा प्रबन्धन र जोखिम नियन्त्रण विषयमा राज्यले गहन अध्ययन र अनुसन्धान गर्न आवश्यकता देखिन्छ। ग्रामीण क्षेत्रमा नै पैह्रोको अत्याधिक क्षति हुनेगर्छ। हुन त     गत सिक्किम विधानसभामा पनि यो प्रसंग उठेको हो। विषयलाई सदनका नेता तथा मुख्यमन्त्री पवन चामलिङले ग्रामीण क्षेत्रमा जोखिमपूर्ण स्थितिमा रहेको ग्रामवासीलाई  सुरक्षित स्थानमा सार्ने जस्ता कार्यमा सरकारले ध्यान पुर्‍याउने वचन दिएका छन्। तर यहाँ दिगो समाधान आवश्यकको छ। ग्रामीण प्रबन्धन एवं विकास विभाग, भू-राजस्व एवं आपदा प्रबन्धन विभाग, भू-गर्भ विज्ञान विभागसहित अन्य विभागहरूसित समन्वय बनाएर कार्य शुरु गर्न आवश्यक देखिन्छ। भू-वैज्ञानिकहरूको सम्भावित भविष्यवाणीलाई मान्नु हो भने भुइँचालोको दृष्टिले सिक्किम राज्यको संवेदनशीलता बढेर गएको छ तथा अन्य आपदा स्थितिमा भविष्यमा हुने क्षति र जोखिमलाई आजदेखि नै सतर्क भएर नियन्त्रण र कम गर्ने विषयमा सोच्नु महत्त्वपूर्ण मात्र नभएर बुद्धिमता पनि हो।
शुरुवाती चरणमा सरकारले पैह्रोको दृष्टिले संवेदनशील रहेका घरको सर्वेक्षण गर्नु र यसको समाधान खोज्नुपर्ने विषय अर्को महत्त्वपूर्ण विषय छ। जसरी धराप रुखहरूलाई काटेर वन-विभागले जोखिम नियन्त्रण गर्न पहल शुरु गरेको छ-यसलाई अन्य क्षेत्रमा अनुकरण गर्न सकिन्छ। दोस्रो भुइँचालोले क्षतिग्रस्त बनाएका घरसितै गरीब जनताको पक्का घर बनाउने कार्य भइरहेको छ। यी घरहरूको निर्माण गर्दा पनि सुरक्षित स्थानको पहिचान गर्न आवश्यक छ। वितेका वर्षहरूमा पैह्रोले निर्माणाधीन मुख्यमन्त्री ग्रामिण आवासलाई पनि क्षति पुर्‍याएको थियो। यसले गरीबको भाग्योदय हुन अझै प्रतीक्षा गर्नुपर्ने स्थिति सिर्जना हुनेगर्छ। यसरी नै जोखिम नियन्त्रण विषयमा व्यापक जनजागरण गराउने वर्तमानको आवश्यकता देखिँदैछ। सरकारले यसलाई पर्यावरण संरक्षण अथवा पर्यावरण विज्ञानको पाठ्यक्रममा पनि विशेष महत्त्वका साथ सामेल गरे सबैका निम्ति लाभदायक हुनेछ।

Comments

Popular posts from this blog

भीम दाहालको उपन्यास ‘अभीष्टको खोज’- कृतिपरक अध्ययन- नवीन पौड्याल

मौरी पालन- अनुवाद