सिक्किम विधानसभामा दुईवटा संशोधित विधेयक पारित
सिक्किम विधानसभामा दुईवटा संशोधित विधेयक पारित
सिक्किम विधानसभामा 9 नोभेम्बरको दिन पेश गरिएका दुईवटा संशोधित विधेयक आज पारित गरियो। पारित यी दुईवटा विधेयकमा सिक्किम लोकायुक्त (संशोधन) विधेयक र सिक्किम म्युनिसिपालिटिज (संशोधन) विधेयक सामेल छन्। लोकायुक्तको विधेयकलाई विधि तथा संसदीय मामिला मन्त्री आरबी सुब्बाले सदनमा पेश गरेका थिए भने सिक्किम म्युनिसिपालिटिज संशोधन विधेयकलाई शहरी विकास तथा आवास मन्त्री एनके सुब्बाले पेश गरेका थिए।
विधेयकमा सिक्किम लोकायुक्त अधिनियमको धारा 4 को उपधारा (1)-मा लोकायुक्तका अध्यक्ष र सदस्यहरूको चयनका निम्ति चयन समिति गठन गर्ने व्यवस्था छ। अधिनियमको धारा 4 को (डी)-को उपधारा (1)-को प्रावधानअनुसार सिक्किम विधानसभाका विपक्ष पार्टीका नेतृत्व चयन समितिका सदस्य रहन्छन्। तर यदि विधानसभामा विपक्षका नेता नभएको स्थितिमा सिक्किम विधानसभाका वरिष्ठ सदस्यलाई चयन समितिका सदस्यका रूपमा लिइन्छ। यद्यपि, उक्त अधिनियममा सिक्किम विधानसभाका वरिष्ठ सदस्य पहिचान गर्ने मापदण्ड उल्लेख थिएन। सिक्किम उच्च न्यायालयमा दर्ता गरिएको जनहितयाचिका (सी) सङ्ख्या 49-2015 मा सुनुवाई गर्दै सिक्किम उच्च न्यायालयले 13 अक्टोबर 2015 मा सिक्किम लोकायुक्त अधिनियन 2014 को धारा 4 अन्तर्गत धारा ‘डी’ र उपधारा (1) अस्पष्ट भएको र न्यायालयले यस सम्बन्धमा चयन समिति गठन गर्ने प्रावधानलाई स्पष्ट बनाउन उचित संशोधन आवश्यक भएको उल्लेख गरेको थियो। यही विषयलाई आधार बनाएर विधेयक संशोधनका निम्ति पेश गरिएको मन्त्री आरबी सुब्बाले बताएका थिए। प्रस्तावित विधेयकमा अधिनियमको धारा 13-लाई पनि संशोधन गर्ने विषय सामेल छ।
यसरी नै सिक्किम म्युनिसिपालिटिज (संशोधन) विधेयक पेश गर्दै शहरी विकास तथा आवास मन्त्री एनके सुब्बाले, शहरी स्वाशासनमा प्रतिनिधित्व नभएका समुदायबाट पार्षद्हरू मनोनित गर्न सिक्किम नगर पालिका अधिनियम 2007 लाई आवश्यक संशोधन गर्ने राज्य सरकारको विचार भएको उल्लेख गर्दै विधेयक पेश गरेका थिए। सिक्किमे जनताको हितलाई ध्यानमा राख्दै नगर निगमका कार्यकारी सदस्यहरूबाट अध्यक्ष निर्वाचित गर्ने र सम्बन्धित विषयका समिति प्रमुखको मार्गदर्शन र देखरेखमा निगमको विभिन्न मामिलाहरूको पारदर्शिता, जवाफदेहिता र प्रभावकारी सेवा सुनिश्चित गर्नु प्रस्तावित विधेयकको उद्देश्य रहेको छ।
पारित गरिएको विधेयकअनुसार अधिनियमको धारा ‘15’ को उपधारा ‘4’ मा पार्षद मनोनित गर्ने प्रावधान सामेल गरिएको छ। यो विधेयक पारित भएपछि स्थानीय शहरी निकायमा आफ्नो प्रतिनिधि नभएका वा न्यून रहेका समुदायबाट पार्षद् मनोनित गर्ने अधिकार राज्य सरकारलाई प्राप्त भएको छ। यसरी नै धारा ‘27’ को संशोधनले नगर निगमका कार्यकारी समितिले कार्यकारी सदस्यहरूबाट अध्यक्ष चयन गर्ने र चयनीत अध्यक्षलाई सम्बन्धित विषय प्रमुखका रूपमा लिने अनि उनको मार्ग दर्शनमा शासनलाई जनहितका निम्ति जवाफदेही र पारदर्शिता बनाउने कुरा सुनिश्चित गरिएको छ। स्मरण रहोस दुवै विधेयक विना बहस सदनमा पारित भएको छ। नवौं सिक्किम विधानसभाको तेस्रो सत्रको भाग 2-अन्तर्गत दुई दिने सत्र 9 नोभेम्बरदेखि शुरू भयो। सिक्किम विधानसभाका अध्यक्ष केएन राईले सिक्किमका पूर्व राज्यपाल अवकाश प्राप्त राधाकृष्ण हरिराम ताहिल्यानीको निधनमा शोक प्रकट गर्दै उनको संक्षिप्त जीवनी राष्ट्रप्रतिको योगदानबारे सदनलाई अवगत गराए। पूर्व राज्यपालको निधनमाथि बोल्दै विधानसभा अध्यक्ष केएन राईले 14 अक्टोबर 2015 को दिन नयाँ दिल्लीमा लामो समयदेखिको विरामी पछि 85 वर्षको उमेरमा निधन भएको बताए। स्वर्गीय राज्यपालले आफूपछि आफ्नो श्रीमती मिरा ताहिल्यानी र एक छोरा र दुई छोरी छोडेर गए। विधानसभा अध्यक्षले स्वर्गीय राज्यपालको सुनौलो भविष्यबारे उल्लेख गर्दै ताहिल्यानीले वर्ष 1984 देखि 87 सम्म सेना प्रमुख रहेको र पछि गएर सिक्किमका राज्यपाल बनेको बताए। उनको अति उत्कृष्ट सेवाका निम्ति ताहिल्यानीलाई अति विशिष्ठ सेवा मेडल र परम विशिष्ठ सेवा मेडल प्रदान गरिएको पनि सदनलाई अवगत गराए। यसरी नै सिक्किम विधानसभाको भवन पनि स्वर्गीय ताहिल्यानीले सिक्किममा राज्यपालको कार्यकालका समयमा उद्घाटन गरेको स्मरण गराए। पूर्व राज्यपाल एड्माइरल आरएच ताहिल्यानीको निधनले अपूरणीय क्षति भएको अध्यक्ष राईले बताए।
सदनका नेता एवं मुख्यमन्त्री पवन चामलिङले स्वर्गीय आरएस ताहिल्यानीको निधनमा शोक प्रकट गर्दै ताहिल्यानी जनताको ढुकढुकी बुझ्न सक्ने महान राजनेता भएको अनि ताहिल्यानी एक पिता समान व्यक्तित्व रहेको स्मरण गराए। आफ्नो सम्बोधनमा मुख्यमन्त्रीले स्वर्गीय आवकाश प्राप्त एड्माइरल आरएच ताहिल्यानीको जन्म 12 मई 1930 मा भएको तथा भारतीय नौसेनाबाट आफ्नो करिअर शुरू गरेर निरन्तर प्रगति गर्दै नौसेना कमाण्डर एघारौं नौसेना प्रमुखको पदसम्म रहेको बताए। उनले ताहिल्यानी एक महान परोपकारी व्यक्तित्व रहेको बताउँदै आइएनएसको अधिष्ठापनमा महत्वपूर्ण भूमिका रहेको बताए।
आरएच ताहिल्यानीले 8 फरवरी 1990 देखि 20 सितम्बर 1994 सम्म सिक्किमका राज्यापलका रूपमा सेवा दिएको बताउँदै उनी राज्यका एक चर्चित राज्यपालका रूपमा सेवा पुर्याएको पनि मुख्यमन्त्रीले अवगत गराए। आफ्नो कार्यकालमा राज्यपालले केही जनमैत्री कार्यहरू गरेको अवगत गराउँदै उनको पहलमा नै क्षय रोगको उपचारका निम्ति मोबाइल मेडिकल भ्यान शुरू गरिएको स्मरण गराए।
यसरी नै स्वर्गीय ताहिल्यानी ट्रानर्न्सपरेन्सी अन्तरराष्ट्रिय इण्डियाका चेयरम्यान तथा केन्द्रिय सतर्कता आयोगका सल्लाहकार सदस्यका रूपमा पनि सेवा दिएको स्मरण गराउँदै शिक्षाका अग्रदूतको रूपमा सेवा दिने ताहिल्यानीले सदैव गरीब, पछौटे तथा समाजका कमजोर वर्गको समान अधिकार र अवसरका निम्ति सदैव सङ्घर्षरत रहेको मुख्यमन्त्रीले बताए। स्वर्गीय राज्यपालको निधन सन्दर्भमा सदनका सदस्य पीएस तामाङ पनि सहभागी भए। यस अवसरमा मृतकको आत्माको चीर शान्तिका निम्ति दुई मिनटको लागि मौन धारण पनि गरियो।
Comments
Post a Comment