आत्मनिर्भर बन्ने दिशामा
थप एउटा उपलब्धि
96 मेगावाटको जोरथाङ लुप जलविद्युत परियोजनाको उद्घाटनपछि स्वनिर्भर राज्य बन्ने दिशामा सिक्किमले एउटा थप एउटा टेवा पाएको छ। यसअघि वर्ष 2009 मा 510 मेगावाटको टिस्टा जल विद्युत परियोजना-5 राष्ट्रलाई समर्पण गरिएको छ। राज्यमा पर्यटन, फार्मास्यूटिकल उद्योग र जैविक कृषि आदि प्रमुख आयस्रोतका रूपमा विकसित भइरहेको समय यसरी जलविद्युत परियोजना दिन प्रतिदिन राजस्व आर्जन गर्ने प्रमुख स्रोतका रूपमा विकसित हुनु राज्यको निम्ति ठूलो उपलब्धिको विषय हो। यसले एसडीएफ सरकारको उद्योग नीति सफल बन्दै गएको पुष्टि गर्दछ।
मुख्यमन्त्री पवन चामलिङले 96 मेगावाट जोरथाङ लुप जलविद्युत परियोजनाको सफल सञ्चालन वर्तमान राज्य सरकारद्वारा शुरु गरिएको औद्योगीकरण नीतिको सराहणीय र अनुकरणीय उपलब्धिमध्ये एउटा हो भनेका थिए। यो सत्य हो, सिक्किममा जलविद्युत परियोजनाहरू स्थापना गर्ने विषयलाई लिएर राज्य सरकारलेे अनगिन्ती आलोचनाहरू सहेको थियो। सरकार विरूद्ध धेरै मामिला लाग्यो, तर अहिले यस परियोजनाले मात्र सिक्किमलाई वार्षिक रु. 21 करोड राजस्व प्राप्त हुने भएको छ। 35 वर्षपछि योजना राज्य सरकारलाई हस्तान्तरण गर्दा 125 करोड वार्षिक राजस्व राज्य सरकारले प्राप्त गर्नेछ भन्ने कुरा महत्वपूर्ण छ।
अर्को महत्वपूर्ण कुरा के छ भने, यस योजनामार्फत राज्यले प्रथम वर्ष 12 प्रतिशत बिजुली निशुल्क पाउने छ अनि 16 वर्षपछि 15 प्रतिशत बिजुली निशुल्क प्राप्त गर्नेछ। देशमा बिजुलीको बढ्दो माग र महँगाईका समयमा सिक्किमले आफ्नै स्रोतबाट निशुल्क बिजुली प्राप्त गर्नु साधारण विषय होइन।
एसडीएफ सरकार सत्तामा आएको समय(1994) मा सरकारमाथि धेरै ऋणको बोझ थियो। सरकारले राज्यको आफ्नै राजस्व आर्जन गर्ने नीतिहरू शुरू गर्यो। यसमा पर्यटन अद्योगसितै निवेशमैत्री नीति शुरू गरेर राज्यमा निवेशकहरूका निम्ति निवेशमैत्री वातावरण कायम राखियो अनि निवेशकहरूको निवेशलाई सफल बनाउन सरकारले हरेक पाइलामा साथ दिएको छ। यसको लाभांश क्रमशः सिक्किमलाई प्राप्त भइरहने छ। 35 वर्षभित्रमा सिक्किमले बिजुली उत्पादनबाट मात्रै लगभग 50 हजार करोड राजस्व प्राप्ति गर्नेछ।
यसरी नै विभिन्न विद्युत परियोजनामार्फत 35 वर्षपछि सिक्किम राज्यको आफ्नै राजस्व वार्षिक 5 हजार करोड हुनेछ। यी सबै कार्य र नीति सिक्किमको दिगो विकासका निम्ति हो। अझ सिक्किमको विकासका निम्ति राज्यमा थाँतीमा रहेका जलविद्युत परियोजनालाई पुनः सञ्चालन गर्नका निम्ति राज्य सरकारले निवेशक र कम्पनीहरूलाई हरसम्भव सहयोग गर्ने नीतिले यो परिणाम अवश्य नै सिक्किमले प्राप्त गर्ने नै छ।
सरकारको सफल औद्योगिक नीतिका कारण कारोवारमा विविध प्रकारका अवसरहरू सिर्जना भएको छ अनि औद्योगिकीकरणको परिणामस्वरूप अन्य धेरै अवसरहरू राज्यमा सिर्जना भएको छ, यसलाई स्वीकार्न सक्नुपर्छ। सिक्किमलाई आत्मनिर्भर बनाउन एसडीएफ सरकारले शुरू गरेको औद्योगिक क्रान्तिले छोटो अवधिमा नै यो सफलता प्राप्त गर्नु सिक्किमका निम्ति राम्रो सङ्केत मान्न पर्छ।
यहाँ उपलब्ध सबै प्रकारका संसाधनहरूको सदुपयोग गरेर राज्यलाई स्वनिर्भर बनाउने एसडीएफ सरकारको प्रयास तथा कार्यक्रमहरू समयसापेक्ष अनि सराहनीय मान्न सकिन्छ।
Comments
Post a Comment