महिला सशक्तिकरणको दिशामा नयाँ कीर्तिमान
सिक्किममा महिला सशक्तिकरणको क्षेत्रमा ऐतिहासिक निर्णयहरू हुँदैआएको छ। यसपल्टको स्थानीय शहरी निकाय चुनाउमा सत्तारूढ एसडीएफ पार्टीको सरकारले महिलाहरूका निम्ति 50 प्रतिशत आरक्षण प्रदान गर्ने घोषणा गरेको थियो। 13 सितम्बरको दिन एसडीएफ पार्टीद्वारा नगर निगम चुनाउको निम्ति आफ्नो उम्मेदवारहरू घोषणा गर्नसाथ महिलाहरूलाई 50 प्रतिशत आरक्षण प्राप्त भएको पुष्टि भयो। यो सिक्किममा महिला सशक्तिकरणको क्षेत्रमा एउटा थप ऐतिहासिक उपलब्धी भयो। महत्वपूर्ण विषय के छ भने, यसपल्ट सत्तारूढ एसडीएफ पार्टीले महिलाहरूको निम्ति 50 प्रतिशत आरक्षण सुनिश्चित गरेको भए तापनि चुनाउको मैदानमा 56 प्रतिशत महिला उम्मेदवारहरू उतारेको छ।
महिला सशक्तिकरणको क्षेत्रमा एसडीएफ पार्टीले आफ्नो स्थापना कालदेखि नै महत्वपूर्ण कार्यहरू गर्दैआएको छ। यी कार्यहरू सिक्किमको इतिहासमा स्वर्णिम अक्षरले लेखिनेछ।
सिक्किम विधानसभामा महिला विधानसभा अध्यक्ष,विधानसभामा पनि महिलाहरूलाई अवसर साथै मन्त्री र महत्वपूर्ण संवैधानिक पदहरूमा महिलाहरूलाई अवसर प्रदान गर्नु, पञ्चायतमा 50 प्रतिशत आरक्षण, पैत्रृक सम्पत्तिमा छोरी- चेलीलाई अधिकार प्रदान गर्नु, उच्च शिक्षा र नोकरीमा आरक्षण, जन्म प्रमाण पत्रमा आमाको नाम अनिवार्यजस्ता विषयहरू उदाहरणीय छन्। यी कार्यहरूले के स्पष्ट गर्दछ भने, राज्य सरकारले गर्नसक्ने र सम्भव हुने सबै काम गर्दैआएको छ। यदि सिक्किम विधानसभामा पनि महिलाहरूको निम्ति सीट आरक्षण गर्ने विषय राज्य सरकार अधीनस्थ भए त्यो पनि एसडीएफ सरकारले पूरा गरेर ेकीर्तिमान बनाउने थियो। यद्यपि, यो विषय केन्द्र सरकार अधीनस्थ हो।
संवैधानिक पदसितै एसडीएफ पार्टीले महिलाहरूलाई पार्टीभित्र पनि विभिन्न उच्च पदहरूसितै वार्ड स्तरसम्ममा महिलाहरूलाई प्राथामिकता दिएर महिला सशक्तिकरणलाई बढावा दिँदै आएको छ। एसडीएफ पार्टीको सरकारले नै सिक्किममा महिला सशक्तिकरणका निम्ति उदाहरणीय कार्य गरेको छ अनि यसकै फलस्वरूप सिक्किममा महिलाहरू राजनैतिक क्षेत्रमा धेरै सक्षम बनेका छन्।
एसडीएफ पार्टीले यसरी गर्न सक्ने कार्यहरू घोषणा पत्रमा सामेल गरेर क्रमगत रूपमा पूरा गर्दै आएको कारण पनि पार्टीको लोकप्रियता घटेको छैन। महिला सशक्तिकरणको निम्ति राजनैतिक क्षेत्रको महत्वपूर्ण भूमिका हुन्छ। सरकारका महत्वपूर्ण निर्णय र नीति निर्माणमा महिलाहरूको सहभागितामार्फत नै महिला सशक्तिकरणलाई थप टेवा पुर्याउन सकिन्छ र यसले नै समग्रमा समाज र राष्ट्रको विकास र उन्नतिलाई टेवा दिँदछ भन्ने सन्देश पनि सिक्किमले दिएको छ।
Comments
Post a Comment