मतदान अधिकार र महत्व


प्रजातान्त्रिक प्रणालीमा मतदानको अधिकारलाई सबैभन्दा ठूलो अधिकार मानिन्छ। अर्को कुरा प्रजातन्त्रमा जनता नै सर्वोपरी हुन्। जनताद्वारा जनताका लागि जनताकै निम्ति प्रतिनिधि चयन गर्ने जनतालाई स्वतन्त्र अधिकार प्रदान गरिएको छ। मतदान विचार प्रकट गर्ने एउटा विधि पनि हो, जसद्वारा जनतालाई राम्रो विचार चयन गर्ने अवसर प्राप्त हुन्छ।  मतदानको  व्यवस्थाद्वारा कुनै वर्ग या समाजका सदस्य राज्यको सांसद अथवा विधानसभा अथवा स्थानीय स्वशासनमा आफ्नो  प्रतिनिधि चयन गर्ने वा कुनै उम्मेद्वारको निर्वाचनमा आफ्नो इच्छा प्रकट गर्ने या कुनै प्रस्तावमा आफ्नो निर्णय प्रकट गरिन्छ।
यस दृष्टिले यो व्यवस्था सबै चुनाउ तथा सबै संसदीय या प्रत्यक्ष विधि-निर्माणमा प्रयुक्त हुनेगर्छ। अधिनायकवादी सरकारमा अधिनायकद्वारा पहिलादेखि नै लागू गरिएको निर्णयमा व्यक्तिलाई आफ्नो मत प्रकट गर्ने अवसर प्रदान गर्न सकिन्छ। जनतन्त्रात्मक सरकारमा नै मतदानलाई  प्रमुख क्षेत्र तथा महत्व प्राप्त भएको छ। मतदानद्वारा राज्य वा राष्ट्रको भविष्य उज्जवल बनाउन सही प्रतिनिधिको चयन गरिन्छ। राष्ष्ट्रको भविष्य उज्जवल बनाउनका निम्ति यसका अगुवा सही हुनुपर्छ। यस्तो नभए प्रजातन्त्रसितै देशको भविष्य खतरामा पर्न सक्छ। देशमा हुने मतदानको आँकडाले  कतिपय समयमा प्रजातान्त्रिक प्रणालीलाई घात गर्ने सम्भावना बढेर जानेगर्छ। उद्धाहरणका निम्ति देशमा हुने कतिपय चुनाउना 40 देखि 50 प्रतिशत मात्र मतदानको प्रतिशत आउने गर्छन्। यसो हुँदा 50 देखि 60 प्रतिशत मतदाताको मतबिना नै निर्वाचित जनप्रतिनिधि बनेर सत्तामा पुगेका हुन्छन्। अर्को कुरा 40 र 60-को कुरा नगरेर 50 प्रतिशत मतदाताले नै मतदान गर्दा पनि त्यसको 51 प्रतिशतद्वारा चुनिएका प्रतिनिधि सत्तामा पुग्न सक्छन्। 51 प्रतिशतले प्रतिनिधि चुनिसकेपछि संवैधानिक अधिकारले उ सत्तामा पुग्नसक्छन्। यहाँ ध्यानमा राख्नुपर्ने कुरा के हुन्छ भने भोट लगाउने 50 प्रतिशत मतदाताको बहुमत 51 प्रतिशत मत प्राप्त गर्नु भनेको समग्रमा 25.5 प्रतिशत मतदाताको मतदान पनि हो। त्यसर्थ, समग्रमा 25.5 प्रतिशत मतदाताको समर्थनमा जनप्रतिनिधिलाई सत्तामा पुर्‍याउनु पनि सोच्नुपर्ने विषय हुन्छ। यसैले सही जनप्रतिनिधिका निम्ति मतदानको प्रतिशत अधिक हुन अथवा सत-प्रतिशत मतदान बनाउन हुन आवश्यक छ।
हालै सिक्किम राज्यमा शहरी निकाय चुनाउ शान्तिपूर्ण ढङ्गमा सम्पन्न भयो। यस चुनाउमा 72.17 प्रतिशत मतदान भएको छ। पूर्व जिल्लामा 71.41 प्रतिशत मतदान भयो। यसमा गान्तोक महानगरपालिकामा 64.72 प्रतिशत, सिङताम नगर पञ्चायतमा 74.04 प्रतिशत, रम्फू नगर पञ्चायतमा 75.49 प्रतिशत मतदान भएको छ।
दक्षिण जिल्लामा 68.1 प्रतिशत मतदान भयो। यसमा जोरथाङ नयाँ बजार नगर परिषदमा 70.62 प्रतिशत र नाम्ची नगर परिषदमा 65.58 प्रतिशत मतदान भयो। यसरी नै पश्‍चिम जिल्लाको गेजिङ नगर परिषदको दुईवटा वार्डका निम्ति 77.02 प्रतिशत मतदान भएको छ। गेजिङ नगर परिषदको न्यू गेजिङ वार्डमा सर्वाधिक 84 प्रतिशत मतदान भयो।
हुन त आम चुनाउमा सिक्किमको मतदान प्रतिशत सदैव सर्वाधिक रहेको रेकर्ड छ। यद्यपि, आम चुनाउको तुलानामा शहरी स्थानीय निकाय चुनाउमा मतदानको प्रतिशत घट्दो स्थितिमा आउनु एउटा चिन्ताको विषय हो। यसै त शहरी क्षेत्रमा शिक्षित मतदाताहरू अधिक हुन्छन् भन्ने मान्यता छ। तब शिक्षित नै किन मतदानदेखि टाडा हुँदैछन् त भन्ने प्रश्‍न पनि उतिकै महत्वपूर्ण छ। राज्यमा हिजैमात्र सम्पन्न चुनाउमा राज्यको राजधानी गान्तोकमा सबैभन्दा कम प्रतिशत मतदान भएको छ। अथवा, जहाँ शिक्षित जमात धेरै छ त्यहीँबाट समाज, राज्य वा देशका प्रतिनिधि चुन्ने जस्तो गम्भीर विषयमा मानिसहरू पछि सरिरहेछन् भने एउटा चुनौतीको विषय पनि हुन्छ। त्यसैले भविष्यमा यो विषय अझ गम्भीर नहोस भन्नखातिर समयमा नै सम्बन्धित पक्षले उचित र आवश्यक पहल गर्नुपर्ने देखिन्छ। हुन त निर्वाचन विभागले समय समयमा मतदाताहरूलाई जागरूग गराउने गरे तापनि स्थानीय निकायको चुनाउमा सम्बन्धित निकायले भने मतदानको विषयलाई त्यति महत्व नदिएको कारण पनि यस्तो भएको हो भन्ने लाग्छ। कतिपय राजनीतिक विशेषज्ञहरूको भनाईमा शहरी क्षेत्रमा विकास वा सहुलियतको मुद्धा सामुहिक रहेको हुन्छ। यसर्थ व्यक्तिगत स्वार्थमा अल्सी मान्छन् भन्ने पनि छ। पहिलो प्राथमिकता सडक, अस्पताल, बिजुली, शान्ति, सुरक्षाका मुद्धामा गम्भीर हुँदैनन्। यो त सरकारको काम हो भन्ने गर्छन् भनेर पनि मतदानका निम्ति रूचि देखाउँदैनन्। जो होस,  मतदानको अधिकारलाई सर्वोपरी मानेर मतदानको प्रतिशतलाई बढाउने तथा प्रजातान्त्रिक प्रणालीलाई अझ दरिलो र सुरक्षित बनाउन सबै गम्भीर हुनुपर्छ भन्ने कुरामा सोच्न सबैका निम्ति हितकार छ।

Comments

Popular posts from this blog

भीम दाहालको उपन्यास ‘अभीष्टको खोज’- कृतिपरक अध्ययन- नवीन पौड्याल

मौरी पालन- अनुवाद