नवोन्मेषी कार्यहरू निरन्तर सफल बन्दै


एसडीएफ सरकारले शुरू गरेका नवोन्मेषी(इनोभेटिभ) कार्यहरू निरन्तर सफल भइरहेको छ। हालै सिक्किमले प्राप्त गरेका दुईवटा पुरस्कार यो पुनः दर्शाएको छ। हुन त यसअघि पनि सिक्किमले शुरू गरेका नवोन्मेषी  कार्यका निम्ति राष्ट्रियस्तरको सम्मान प्राप्त गरिसकेको छ। नाम्चीको सोलोफोक चारधामलाई नवोन्मेषी  योजनाका रूपमा   लिने गरिन्छ। भारतका महत्त्वपूर्ण चारधामलाई एकै स्थानमा स्थापित गर्ने नवोन्मेषी विचारलाई  कार्यान्वयन गर्दै स्थापना गरिएको चारधामले अद्वतीय पर्यटनका निम्ति राष्ट्रिय पुरस्कार प्राप्त गरिसकेको छ। ग्रामीण क्षेत्रलाई सूचना प्रौद्योगिकीको भरपूर लाभ प्रदान गर्ने र गाउँको समग्र विकासका निम्ति सूचना प्रौद्योगिकीलाई प्रयोग गर्ने नवोन्मेषी  अवधारणालाई दक्षिण सिक्किमको मल्लीडाँडा पायोङमा विस्तार गरियो। यसले छोटो समयावधिमा नै राष्ट्रियस्तरमा ख्याति प्राप्त गर्‍यो। हालै मल्लीडाँडा साइबर भिलेजका  निम्ति स्कच-अर्डर मेरिट  अवार्ड  प्राप्त भएको छ। यसरी नै सिक्किमलाई नै पूर्ण जैविक राज्य बनाउने सदाबहार कृषि क्रान्तिका निम्ति  पनि सिक्किमलाई स्कच आवार्ड प्राप्त भएको छ। हुन त जैविक खेतीको प्रंशसा देशका प्रधानमन्त्रीले यसअघि नै गरिसकेका छन्। सिक्किममा नवोन्मेषी  कार्यक्रमहरू मार्फत तयार गरिएका यस्ता अनेकौं कार्यहरू छन्। साइबर भिलेज, जैविक खेती, चारधामसितै दक्षिण सिक्किम राभाङलाको तथागतशल(बुद्धपार्क), रामायण बस्ती, गुरू पद्मसम्भवको प्रतिमा, तेञ्जिङ हिल्लेरी पार्क आदिलाई लिन सकिन्छ।  
यसरी नै  राज्यमा शुरू गरिएका पर्यापर्यटन, ग्रामीण पर्यटन तथा होमस्टे, गुराँस उत्सव, जीविकोपार्जन स्कूल र क्षमता विकास कार्यक्रमहरू पनि महत्त्वपूर्ण विषयहरू छन्। स्वास्थ्य, पर्यावरण, जल संरक्षण, नागारिक सुरक्षा, आर्थिक विकास तथा औद्योगिकीकरण, जलविद्युत परियोजना, ग्रामीण सडक, प्राथमिक शिक्षाआदि क्षेत्रमा पनि शुरू गरिएका कार्यक्रमहरू उदाहरणीय छन्। यी विषयहरूमा पनि राज्यले चाँडै नै  सम्मान प्राप्त गर्नेछ।
सिक्किमले विभिन्न प्रकारका नवोन्मेषी कार्यक्रमहरूको थालनी गरेर विश्‍वलाई नै विचारप्रधान सन्देशहरू दिइरहेको छ। सिक्किमको सानो भूमिबाट शुरू भएका कतिपय नवोन्मेषी कार्यक्रम तथा योजनाहरूलाई देशका अन्य राज्यहरूले पनि अनुशरण गरिरहेको पाइन्छ। नवोन्मेषी कार्यहरू गरेर मानव समाजलाई नै एउटा समयसापेक्ष दृष्टिकोण दिने सिक्किम आज देश-दुनियाँको निम्ति आकर्षणस्थलको रूपमा परिचित बन्दै गइरहेको अवस्था छ।  
            

Comments

Popular posts from this blog

भीम दाहालको उपन्यास ‘अभीष्टको खोज’- कृतिपरक अध्ययन- नवीन पौड्याल

मौरी पालन- अनुवाद