देशभक्ति चर्चामा
सिक्किमको राष्ट्रभक्ति अहिले चर्चाको विषय भएको छ। केही दिनअघि राज्यपाल श्रीनिवास पाटिलले राष्ट्रपिता महात्मा गान्धीको जन्म जयन्तीको अवसरमा सिक्किमको राष्ट्रभक्ति देशमा नै अद्वतीय रहेको अनुभव उजागर गरेका थिए। यसअघि मुख्यमन्त्री पवन चामलिङले पनि प्रजातन्त्रका चौथो स्तम्भलाई सम्बोधन गर्ने क्रममा देशभक्तिप्रति सिक्किम गम्भीर हुनुपर्ने समय आएको बताएका थिए।
महत्वपूर्ण विषय के छ भने, अन्तरराष्ट्रिय सीमाले घेरिएको सिक्किम राज्य विगत 2 दशकदेखि शान्तिपूर्ण ढङ्गले विकसित राज्यको रूपमा अघि बढिरहेको छ। सिक्किमले सीमा राज्यको परिभाषालाई नै परिवर्तन गरिदिएको छ। भारतका अन्य अन्तरराष्ट्रिय सीमा राज्यको तुलनामा सिक्किमले छुट्टै पहिचान बनाएको छ।
सिक्किमले सीमाको रक्षासितै आफ्नो राज्यको उत्तरोत्तर प्रगति गरेर राष्ट्रको विकासमा उल्लेखनीय योगदान दिँदै आएको छ। नागारिकहरूलाई भावनात्मक रूपमा राष्ट्रिय मूलधारामा सामेल गराएर राज्य साथै राष्ट्रको विकासका निम्ति समर्पित बन्न प्रेरणादायी कार्यहरू शुरू गरेर पनि राज्य सरकारले राष्ट्रप्रति राज्यको दायित्वलाई अझ गम्भीर रूपमा अघि बढाउंदै आएको छ। सिक्किममा भएका हिमनदीहरू सिक्किमका निम्ति मात्र नभएर देशकै निम्ति जलस्रोतका आधार हुन्।
यसलाई प्रदुषणमुक्त राख्नु पनि देश सेवा हो भन्ने भावनाले राज्यसितै राष्ट्र हितका निम्ति प्रदुषण नियन्त्रण र पर्यावरण संरक्षणका दिशामा धेरै अनुकरणीय कार्यहरू सिक्किममा भएको छ। अझ महत्वपूर्ण विषय के छ भने, हाम्रो देश भारत हो,हामी भारतीय हौं, राष्ट्रप्रति हामी सदैव सम्मानित भावनाले अघि बढ्दै राष्ट्रको विकासमा समर्पित छौं भन्ने विषयलाई पनि सुनिश्चित गर्ने कार्य राज्यमा भइरहेको छ। राष्ट्रको आवश्यकतालाई पुरा गर्न सिक्किमले दिन सक्ने काम दिईरहेको छ। हालै मुख्यमन्त्री पवन चामलिङले राष्ट्रपिता, राष्ट्रपति, प्रधानमन्त्रीको तश्विरलाई सरकारी कार्यालय र प्रत्येक घरमा राख्ने बताएका छन्। यस्तै अर्को महत्वपूर्ण कार्य के छ भने, देशको रक्षाका निम्ति आफ्नो जीवन बलिदान गर्ने सिक्किमका बीर शहीदलाई राज्य सरकारको तर्फबाट दिइने अनुग्रह राशीमा पनि उल्लेखनीय वृद्धि गरेर राष्ट्रको सेवालाई सम्मान गर्दै विशेष युवा वर्गलाई यस दिशातर्फ आकर्षित गरिएको छ। राज्यलाई आतङवाद मुक्त राख्न सरकार सफल भएको छ।
देशभक्तिको क्षेत्रमा सिक्किमले गरेका कार्यहरू प्रंशसनीय बन्नु राज्यको निम्ति एउटा गौरवको विषय हो। राज्यमा स्वतन्त्रता दिवस र गान्धी जयन्ती एउटा पर्व कै रूपमा पालन गरिने परम्परा पनि चर्चामा आउन थालेको छ। यो सिक्किमले इमान्दारी पूर्वक गरेको परिश्रमको प्रतिफल हो। यसलाई निरन्तरता दिनु राज्यको निम्ति एउटा चुनौती पनि छ भन्ने कुरालाई स्वीकार्नु पर्छ। शान्तिप्रिय राज्यमा अशान्ति सिर्जना गर्ने शक्तिले लुक्ने घरका रूपमा प्रयोग गरेर अशान्ति सिर्जना गर्ने र राज्यलाई जोखिम पार्ने स्थितिदेखि बचाउन सक्नु पर्छ। प्रत्येक नागारिकले देशप्रतिको भक्ति बुझ्न सके अनि सबैले देशप्रतिको आफ्नो दायित्वलाई पुरा गरे यो चुनौतीदेखि पनि हामी मुक्त रहन सक्छौं।
Comments
Post a Comment