पर्यामैत्री नीतिको लाभ


पर्यावरण संरक्षणका विषयमा उच्च प्राथमिकता दिएर कार्य गर्ने एसडीएफ सरकारले पर्यावरणलाई पर्यटनसित जोडेर यसको लाभांश सिक्किमे जनतालाई दिने नवोन्मेषी प्रयोग र कार्यहरू गर्दै आएको छ। पर्यावरणलाई संरक्षण गर्नसितै यसमार्फत सिक्किमलाई जुनी-जुनीसम्म आयस्रोतको रूपमा विकसित गर्ने कार्यमा पर्या-पर्यटन एउटा महत्वपूर्ण क्षेत्र हो। भौगोलिक रूपमा सिक्किम सानो भए पनि सम्पूर्ण राष्ट्रको निम्ति पर्यावरण सुरक्षा र जल सुरक्षाका क्षेत्रमा सिक्किमले उल्लेखनीय काम गर्दैआएको छ। यही दायित्वलाई आत्मसात गर्दै सिक्किमले पर्यावरण संरक्षणको क्षेत्रमा उल्लेखनीय कार्यहरू गर्दै आएको छ। यसैको परिणामस्वरूप सिक्किमको वन्य क्षेत्र प्रतिशतमा पनि निरन्तर वृद्धि हुँदै आएको छ। विश्‍वमा वन्य क्षेत्र प्रतिशत वृद्धि गर्ने सिक्किम एक्लो राज्य बनेको कारण आज पर्यावरण संरक्षण साथै पर्या-पर्यटनका निम्ति सिक्किम विश्‍व समुदायको आकर्षक केन्द्रका रूपमा स्थापित भएको छ। राष्ट्रको कूल भौगोलिक क्षेत्रको 0.2 प्रतिशत क्षेत्रफल रहेको सिक्किमलाई आज जैव विविधताको निम्ति देशको गडका रूपमा स्वीकार गरिएको छ। भारतको 26 प्रतिशत अधिक फूल फुल्ने बोट-बिरूवा तथा उद्भिद, 150 अधिक प्रजातिका प्राणी, 552 प्रजातिको पंक्षी, 690 अधिक पुतली, 424 प्रजातिका औषधीय वनस्पति, 5 सय अधिक सुनाखरी, 24 पर्वतशृङ्खला, 104 खोला नालाले सिक्किम समृद्ध छ। यसरी नै पंक्षी जगतमा राष्ट्रको 26 प्रतिशत पंक्षीका प्रजाति सिक्किममा उपलब्ध छ भने भारतीय उपमहाद्वीपमा पाइने 50 प्रतिशत पुतली सिक्किममा पाइन्छ। यस अतिरिक्त राज्य सरकारद्वारा शुरू गरिएका विविध कार्यक्रमहरूमा राज्य हरित क्रान्ति वर्ष, हरित क्रान्ति दशक, राज्य हरित अभियान, पृथ्वीका निम्ति 10 मिनट, संरक्षित वन क्षेत्रमा गाई वस्तु चरण निषेध, स्कूलमा पर्यावरण सम्बन्धी पाठ्यक्रम, स्कूलहरूमा ग्रीन क्लबको स्थापना, कृषि क्षेत्रमा रसायन मलको  प्रयोगमा निषेध तथा पूर्ण जैविक राज्य अभियान, प्लास्टिकको प्रयोगमा निषेध तथा पोखरी संरक्षण र प्रदुषण नियन्त्रणका विषयहरूले सिक्किमलाई नै पर्यामैत्री राज्यका रूपमा स्थापित गरिएको छ।
महत्वपूर्ण विषय के छ भने, पर्यावरण संरक्षण र पर्यामैत्री संस्कारले समृद्ध सिक्किम पर्यापर्यटनका निम्ति देशको महत्वपूर्ण गन्तव्य हो। यहाँका प्रत्येक गाउँमा पर्यामैत्री वातावरण स्थापित भइसकेको र सोही अनुरूप शहरी क्षेत्रमा पनि पर्यामैत्री संस्कार विकसित भएको कुरालाई कसैले पनि अस्वीकार गर्न सक्दैन। उदाहरणका निम्ति राजधानी गान्तोक शहर स्वच्छ शहरका रूपमा पुरस्कृत भइसकेको छ। सरकारले शुरू गरेका पर्यावरण संरक्षणका नीति र कार्यक्रमले स्वच्छ वातावरणसितै अब पर्या पर्यटनमार्फत नागरिकहरूलाई साथै सिक्किम भ्रमणमा आउने पर्यटकलाई लाभ प्राप्त हुनथालेको छ। यो शुरूवाती चरण मात्र हो स्वच्छ वातावरणको लाभांश सिक्किमले निरन्तर पाइरहने छ।

Comments

Popular posts from this blog

भीम दाहालको उपन्यास ‘अभीष्टको खोज’- कृतिपरक अध्ययन- नवीन पौड्याल

मौरी पालन- अनुवाद