उद्योगमा पनि सफल
सिक्किमलाई हालै पाँच विषयमा इण्डिया टुडे ग्रुपद्वारा पुरस्कार प्राप्त भएको छ। यी पाँच पुरूस्कारमा सक्किमको निवेश नीति पनि समामेल भएको छ। निवेश वर्गमा प्राप्त पुरूस्कारले सिक्किम सरकारको निवेशमैत्री नीतिलाई राष्ट्रियस्तरबाट मान्यता प्राप्त भएको छ, यो सिक्किमका निम्ति राम्रो सङ्केत मान्न पर्छ। यस कुरालाई आधार बनाएर औद्योगिक क्रान्ति गर्न एसडीएफ सरकार सफल भएको छ भन्न सकिन्छ।
हिमाली राज्य भएको कारण सिक्किममा उद्योग कल-कारखाना स्थापना गर्नका निम्ति आवश्यक साधनको अभावको चुनौतीलाई सामना गरेर पनि औद्योगिक क्रान्तिलाई निरन्तर अघि बढाउन सरकार सफल बन्दै गएको छ। ठूल्ठूला कलकारखाना स्थापना गर्दा श्रम शक्तिसितै आवश्यक भारी माल वा कारखानाका निम्ति काँचो पर्दाथ ल्याउन रेल र सडक सुविधाको अभावमा पनि सिक्किमका कल-कारखानाहरू सफल बन्दै जानु सरकारको ठूलो उपलब्धी मान्नु पर्छ।
अध्ययनअनुसार विश्वमा 230 वर्ष अघि औद्योगिक क्रान्ति भएको हो। भारतमा 70 वर्ष अघि औद्योगिक क्रान्ति शुरू भएको हो भने सिक्किममा औद्योगिक क्रान्तिको शुरूवात भएको लगभग दुई दशक पुग्दैछ। दुई दशकको अवधिमा 30 वटा जति औषधी कारखाना, बिजुली उत्पादनका निम्ति 28 वटा बिजुली कारखाना, आधा दर्जनजति बियर र मदिरा कारखानाबाहेक नीजि कलेज र विश्वविद्यालय पनि धेरै सङ्ख्यामा स्थापना गर्न राज्य सरकार सफल भएको छ।
सफलता यस कारणले प्राप्त भएको छ, केवल औषधी कारखाना स्थापना गरेर मात्रै 50 हजार जति राज्यमा रोजगारको अवसर सिर्जना भयो। यसरी नै बिजुली उत्पादन गर्ने कारखानाहरू स्थापना गरेर यसलाई सञ्चालनमा ल्याउने प्रक्रियाले रोजगार र राजस्व दुवै क्षेत्रमा सिक्किमलाई टेवा पुग्न थालेको छ। अहिले 28 मध्ये 18 वटा बिजुली कारखानाहरूमा काम भइरहेको छ। बिजुली उत्पादन गरेर वर्ष 2020 सम्ममा 15 सय करोड रूपियाँसम्म राजस्व कमाउने राज्य सरकारको लक्ष्य अति नै महत्त्वपूर्ण छ। अहले यसबाट रू. 251 करोड अधिक समाउन थालेको छ। यसै त एसडीएफ सरकारले नै पर्यटन, कृषि-पशुपालन, पुष्पखेती आदि विषयलाई पनि प्राथमिकता दिएर उद्योगको रूपमा स्थापित गर्न सफल भएको छ।
पर्यटन उद्योग व्यापक रूपमा स्थापित गर्न राज्यले शुरू गरेको पहल पूर्वोत्तर राज्यहरूका निम्ति एउटा अनुकरणीय भएको छ। विशेष राज्यमा स्थापित शान्ति र स्थायी सरकारको कारण सिक्किममा उद्योग कल-कारखाना स्थापित गर्नका निम्ति निवेशकहरू पनि रूची राख्छन्। एसडीएफ सरकारले शुरूका वर्ष अथवा पहिलो दशकमा राष्ट्रियस्तरका निवेशकहरूलाई सिक्किमप्रति आकर्षण गराएर विभिन्न स्तरमा संवाद पनि गरेको थियो। सिक्किममा औद्योगिक क्रान्ति शुरू भएको पहिलो दशकमा राज्य सरकारले राज्यको सम्भावित क्षेत्रको क्षमता र सम्भावनासितै सम्भावित निवेशकतर्फ ध्यान दिएको पाइन्छ। यसपछि क्रमशः राज्यमा कल-कारखानाहरूको स्थापित भएर रोजगारसितै राज्यलाई राजस्व दिने क्रम पनि शुरू भएको पाइन्छ।
महत्वपूर्ण कुरा के छ भने, सरकारले सिर्जना गरेको व्यापक अवसरको लाभ शिक्षित युवावर्गलाई पुर्याउने उद्देश्यमा उनीहरूलाई सरकारले नै क्षमता विकास र तालिम दिएर रोजगार र स्वनिर्भर बनाउने विषयमा पहल गरेको छ। 21 वर्ष अघाडिको सिक्किममा उद्योग कल-कारखानाको स्थितिलाई हेर्दा वर्तमान स्थिति धेरै सफल भएको र यसमा सिक्किमको उज्जवल भविष्य झल्कन्छ।
Comments
Post a Comment