स्वच्छतामा सिक्किम रोल मोडल

स्वच्छतामा सिक्किम रोल मोडल
स्वच्छताको क्षेत्रमा सिक्किमले प्राप्त गरेको सफलता अहिले राष्ट्रिय स्तरमा चर्चाको विषय भएको छ। हालै राष्ट्रिय टेलिभिजनमा सिक्किमको स्वच्छतालाई देशका निम्ति रोल मोडल बताइएको कुराले सिक्किमलाई  यस क्षेत्रमा धेरै हौसला प्राप्त भएको छ। सिक्किमले वर्ष 2008-मा नै पहिलो निर्मल राज्यको पुरस्कार प्राप्त गरिसकेको छ। यद्यपि, यस पछि पनि क्रमश निर्मल राज्यको गरिमालाई कायम राख्न सिक्किमले गरेका कार्यहरू राष्ट्र कै निम्ति अनुकरणीय भएको कुरा अहिले आएर राष्ट्रिय स्तरबाट स्वीकृति प्राप्त हुनु सिक्किमको निम्ति गौरवको विषय हो। विशेषगरी सार्वजनिक स्थलमा धुम्रपान निषेध, सार्वजनिक स्थलमा थुक्न नपाउने, प्लास्टिक वा पोलिथिन ब्याग प्रयोगमा निषेध, ट्याक्सीमा मोबाइल कुडादानको प्रयोग आदि विषयले राष्ट्रिय स्तरमा प्रंशसा प्राप्त गरेको छ। 
यसरी नै स्कूल स्तरमा पर्यावरण सम्बन्धित विषयलाई पाठ्यक्रममा अनिवार्य गर्नु, पर्यावरण संरक्षणका निम्ति स्मृति वन, पटेका पट्काउन निषेध गर्नु, पृथ्वीका निम्ति 10 मिनट आदि विषय पनि देशका निम्ति अनुकरणीय भएको छ। महत्वपूर्ण कुरा के छ भने, सिक्किमले शुरू गरेका धेरै विषयहरू अन्य राज्य वा देशकै निम्ति अनुकरणीय भए तापनि राष्ट्रिय स्तरमा यसले चर्चा नपाउने हुँदा सानो राज्यले गरेको कार्य साधारण लाग्ने गर्दथ्यो। यद्यपि, केन्द्र सरकारले स्वच्छ भारत अभियान शुरू गरेपछि अनि राष्ट्रिय स्तरका मीडियाले सिक्किम जस्तो सानो राज्यमा गरेको अध्ययनपछि सानो राज्यमा गरिएको कार्य राष्ट्र कै निम्ति अनुकरणीय छ भन्ने कुरा अहिले प्रचारमा आएको छ।
अर्को महत्त्वपूर्ण विषय के छ भने स्वच्छता बाहेक यस्ता अन्य धेरै विषयहरू छन् जसले सिक्किमलाई राष्ट्रमा प्रशंसनीय बनाउनेछ। ग्रामीण क्षेत्रमा गरीब परिवारका निम्ति निर्माण गरिने घर, जलस्रोतहरूको संरक्षण गर्ने कार्य, शिक्षण क्षेत्रमा विस्तार गरिएका निशुल्क शिक्षाको व्यवस्था, कृषिलाई टिकाउ र मूल्यवान अनि सम्मानित पेशाका रूपमा विकसित गर्ने नीति, ग्रामीण पर्यटन र तीर्थ पर्यटनको विकासको क्षेत्रमा शुरू गरिएका कार्यक्रमहरू, स्वास्थ्य क्षेत्रमा शुरू गरिएको क्याच कार्यक्रम आदि धेरै उदाहरणहरू छन्। यी विषयमा पनि आगामी दिनमा सिक्किमले चर्चा पाउने छ।  अवश्य नै राष्ट्रिय स्तरका मीडियामा यी विषयले चर्चा पाउने नै छ। सिक्किमले अहिले स्वच्छताको क्षेत्रमा जुन चर्चा र सम्मान प्राप्त गरेको छ त्यसलाई बचाइ राख्नु राज्यको निम्ति एउटा चुनौती भएको छ। सिक्किमले प्राप्त गरेको गरिमालाई बचाई राख्न प्रत्येक नागारिकले दायित्व लिनुपर्ने पनि उत्तिकै आवश्यकताको विषय भएको छ।

Comments

Popular posts from this blog

भीम दाहालको उपन्यास ‘अभीष्टको खोज’- कृतिपरक अध्ययन- नवीन पौड्याल

मौरी पालन- अनुवाद