प्रदुषण नियन्त्रणको लाभांश
सिक्किमले पटेका पडकाउन निषेध गरेको छ। राज्यमा यस सम्बन्धमा कानून लागू गरिएको धेरै समय नभए पनि राज्यका नागरिक धेरै सचेत भएको हालै सम्पन्न स्थानीय शहरी स्वशासनको चुनाउ परिणाममा पछि देख्न पाइयो। आफूले रूचाएको उम्मेदवारको जितको खुशीमा एक-दुई ठाउँमा कतै-कतै पटेका पड्के पनि धेरै जसो ठाउँमा सधै जस्तो पटेका पड्किएन। यो राज्यको निम्ति राम्रो सङ्केत मान्नु पर्छ। अहिले दशैं तिहारको मौसम शुरू भएको छ। आशा छ, राज्यमा विस्तारै पटेका पडकाउने परम्परा हराउँदै पर्यावरण संरक्षणको दिशामा सिक्किमको पहल विश्वका निम्ति अनुकरणीय हुनेछ।
भनिन्छ पटेकाबाट निस्कने धुँवामा विषालू ग्यास र पार्टिकुलेट मेटर्स(पीएम) हुन्छ। यो स्वाथ्यका लागि धेरै घातक हुन्छ। आम नागरिकमा यसको प्रभाव त पर्छ नै तर यसको अधिक असर बुज्रुक र बालबालिकामा पर्ने गर्छ। महत्वपूर्ण कुरा के छ भने, केही दिन अघि देशको सर्वोच्च आदालतमा 6 देखि 14 महिनाका तीन शिशुहरूले पटेका पडकाउँदा प्रदुषण हुने र यसको सोझो असर शिशुहरूले झेल्नु पर्ने तर्क राख्दै दशैं तिहारमा पटेका पडकाउन निषेध गर्ने मागमा याचिका दर्ता गरेका थिए। तिहारमा पटेका पडकाउनु पर्छ भनेर कुनै पनि धार्मिक पुस्तकमा नलेखिएको तथा दिवाली त प्रकाशको तिहार हो होहल्लाको होइन भनेर याचिकामा उल्लेख गरिएको छ। याचिकामा अझ भनिएको छ, दशैं तिहारमा यति धेर पटेका पडकाइन्छ, जसले गर्दा शिशुहरूमा आस्थमा र फोक्सो सम्बन्धी धेरै विमारीको खतरा हुने गर्छ। यसलाई सहन गर्ने नानीहरूको फोक्सो यति धेरै विकसित भएको हुँदैन तथा आन्तरिक प्रतिरक्षा तन्त्र पनि संवेदनशील हुन्छ।
हुन त जलवायु परिर्वतनबाट विश्व प्रभावित बन्दै गएको छ। यसबाट अतिबृष्टि, अनाबृष्टि, बाढी-पहिरो जस्ता समस्याहरू देखिएका छन्। तर जलवायू परिवर्तनमा सकारात्मक सुधारका लागि राज्यको मात्र नभई विश्वको नै प्रतिबद्धता चाहिन्छ। यही प्रयास स्वरुप विश्वमा विश्व शिखर सम्मेलनहरू आयोजना गरी प्रतिबद्धता पनि जाहेर गरिएका छन् तर आशा गरे जति सफलता प्राप्त हुन सकेको छैन। विश्वमा भएको औद्योगिक विकास र जनसंख्या वृद्धिका कारण वातावरण र जलवायू परिवर्तन भइरहेको छ। विश्व समुदायको औद्योगिक क्रियाकलापका कारण कार्वनडाइअक्साइड, नाइट्रोजन, मिथेन जस्ता ग्यासको उत्सर्जनमा वृद्धि भई वायूमण्डल असन्तुलित बन्नु र वायुमण्डल परिर्वतनको प्रमुख कारण बनेको छ। भौगोलिक अवस्थाअनुसार जलवायु परिर्वतनका असरहरू फरक किसिमका देखिन्छन्। प्राकृतिक प्रकोपलाई चुनौती दिन कठिन छ। त्यसैले जलवायु परिवर्तनलाई न्यूनगर्न मानवीय व्यवहारमा सुधार हुनु अति नै जरुरी छ। प्रदुषण नियन्त्रणको क्षेत्रमा सिक्किमले मानवीय व्यवहारमा परिवर्तन गर्दै माटोलाई स्वच्छ बनाउनेदेखि हावा पानीलाई पनि प्रदुषण मुक्त बनाउने पहल गरेको छ अनि विश्व पर्यटन बजारमा सिक्किमको स्वच्छ वातावरण र स्वच्छ हावा पानी नै ब्रान्ड नेम हुन थालेको छ। यस ब्रान्ड नेमको लाभांश पनि सिक्किमले प्राप्त गर्न थालेको छ।
Comments
Post a Comment