कृषि चुनौती र परिवर्तित मान्यताहरू
आधुनिक कृषिमा रासायनिक मल र कीटनाशकको प्रयोगपछि सिर्जना हुने चुनौतीहरू न्यून हुन नपाउँदै थप नयाँ चुनौतीहरू बढ्दै गएको छ। कृषि भारतीय अर्थव्यवस्थाको मेरूदण्ड हो। भारतमा कृषि परम्परा सिन्धु घाँटी सभ्यतादेखि नै चल्दै आएको हो। सन् 1960 पछि कृषि क्षेत्रमा हरित क्रान्तिको नयाँ प्रयोग आयो। यसरी नै वर्ष 2007 सम्ममा भारतीय अर्थव्यवस्था एवं कृषि सम्बन्धित कार्यको सकल घरेलू उत्पाद अर्थात् जीडीपीमा 16.6 प्रतिशत हिस्सा थियो। शुरूमा पारम्परिक बीजहरूको प्रयोग गर्दा अर्थात् सन् 1960 को दशक मध्यतिर उब्जनी कम्ती भयो। त्यस बेलासम्म सिँचाईको आवश्यकता कम्ती हुने गर्थ्यो भने उर्वर क्षमता वृद्धि गर्न गाईको मललाई नै प्रयोग गरिन्थ्यो। त्यस समयमा आवश्यकता अनुसार उब्जनी गर्ने चुनौतीका निम्ति कृषि वैज्ञानिकहरूले उच्च उब्जनी क्षमता भएको बीज प्रयोग गरेर समस्याका समाधान खोजेका थिए। 1960 पछि उच्च उब्जनी हुने बिऊको प्रयोगसितै सिचाईं र रासायनिक मल तथा कीटनाशकको प्रयोगमा पनि वृद्धि भयो। यो प्रयोगबाट गहुँ र चामल उत्पादनमा व्यापक बढोत्तरी भयो। देशमा सबैभन्दा पहिला पञ्जाब, हरियाणा र उत्तर प्रदेशका कृषकहरूले कृषिको आधुनिक तरिका प्रयोग गरेका थिए।
आधुनिक कृषि विधिहरूले प्राकृतिक संसाधनको दोहन अत्याधिक हुनका साथै यसको नकारात्मक प्रभाव पनि देख्न थाल्यो। रासायनिक उर्वरकको अधिक प्रयोगका कारण माटोको उर्वरता क्षय हुनु देशका निम्ति एउटा गम्भीर समस्या भएर अघि आयो। कतिपय अवस्थामा कृषकहरूले रासायनिक मल, बिऊ बिजन, कीटनाशक साथै उत्पादनका निम्ति गरिने अन्य लगानीको बोझ बढ्दै गयो। यो भार लिईरहेका कृषकहरूलाई प्राकृतिक प्रकोप र अन्य दुघर्टनाको भार झेल्न नसकेर कृषकहरूले आत्महत्यासमेत गरिरहेका छन्।
सिक्किमको सन्दर्भमा भन्नुपर्दा यी सबै चरण वा पुस्ताको कृषि अभ्यासलाई अध्ययन गरेर समाधानका निम्ति जैविक र पाम्परिक कृषिलाई प्रोत्साहन गर्ने अभियान नै सरकारको पहलमा शुरू गरियो। लगभग 12 वर्षको निरन्तर प्रयासपछि सिक्किम अहिले जैविक खेतीको मूल धारामा सामेल भएको छ। यद्यपि, सिक्किमको भौगोलिक संरचना नै यस्तो छ जो कृषि र वागवाणी उत्पादका निम्ति सदैव चुनौतीपूर्ण हुन्छ। विशेष गरी सिक्किमको खेतीयोग्य धेरैजसो जमिन भिरालो छ। निरन्तर भारी वर्षाले मलिलो माटोलाई बगाएर लाने गर्छ। यसर्थ समतलको तुलनामा माटोको उर्वर क्षमतालाई बनाई राख्न कृषकहरूका निम्ति एउटा ठूलो चुनौती छ। अर्को महत्वपूर्ण विषय के छ भने नयाँ युवा पुस्ताले हलो, कोदालो समाउन गाह्रो मान्छन्। यसको विकल्पको रूपमा कृषिका अत्याधुनिक तक्निकी प्रयोगका निम्ति पनि भौगोलिक संरचना नै बाधा बनिरहेको छ। अधिक वर्षाको ठीक विपरीत कतिपय भाग सुक्खाग्रस्त क्षेत्रमा पनि पर्ने गर्दछ। सिक्किमले पर्यावरण संरक्षणका निम्ति हजार प्रयास गरे पनि वैश्विक समस्याका रूपमा उत्पन्न भएको जलवायु परिवर्तनको प्रकोपबाट सिक्किम अक्षुण्ण बन्न सक्दैन।
अर्को नयाँ समस्याका रूपमा गाउँमा हल गोरू र हलीको अभाव बढ्दैछ। दिनमा हजार रूपियाँ ज्याला दिँदा पनि भनेजस्तो हल गोरू र हली पाउन नसक्नुले खेतीयोग्य भूमिलाई स्थायी खेती जस्तै अलैंची र व्यवसायिक महत्वका बोट बिरूवा लगाउने वा बाँझै छोड्ने क्रम पनि बढ्दैछ। यद्यपि, जहाँ इच्छा त्यहाँ उपाय भनेझैं कृषि वैज्ञानिकहरूले यी सबै चुनौतीहरूको समाधान खोज्दै कृषिलाई दिगोरूपमा विकसित गर्ने प्रयासमा अध्ययन अनुसन्धान गर्नु र सोही अनुरूप कृषकहरूलाई मार्गदर्शन गर्नु आवश्यक छ।
Comments
Post a Comment