ओजोनले भूकम्पको पूर्वानुमान


भूकम्पको सही भविष्यवाणी गर्न व्यापक स्तरमा अनुसन्धान भैरहेका छन् । भूकम्पका हल्का तरङ चाँडै पत्ता लगाउने उपाय भएमा प्राकृतिक विपदबाट बर्सेनि पुग्ने धनजनको क्षति घटाउन सकिने छ । यसपक्षका कयौँ सैद्धान्तिक पहल भएका पनि छन् । अप्लाइड फिजिक्स लेटर्स जर्नलमा गत महिना एक नयाँ पद्धतिबारेमा उल्लेख गरिएको छ ।
चट्टानको चिराबाट निस्कने ओजोन ग्यासको विश्लेषणबाट भूकम्पको पूर्वानुमान गर्न सकिने नयाँ अनुसन्धानको निष्कर्ष छ । ओजोन एक प्राकृतिक ग्यास हो र विभिन्न स्रोतमा विद्युतीय डिस्चार्ज हुँदा ओजोन ग्यास निस्कने गर्छ । उदाहरणका लागि चट्याङ पर्दा वायुमण्डलमा ओजोन ग्यास बन्छ । यसैगरी नयाँ अनुसन्धानले भने अनुसार उच्च दबाबमा चट्टान फुट्दा पनि ओजोन ग्यास निस्कन्छ ।
अमेरिकाको भर्जिनिया विश्वविद्यालय अन्तर्गतको स्कुल अफ इन्जिनियरिङमा इन्जिनियरिङ फिजिक्सका प्राध्यापक राउल ए बारागियोलाले इग्नेस र मेटामोफिर्क चट्टानसहित ग्रेनाइट, बेसाल्ट, जेनेसिस, रायोलाइट र क्वार्जलाई फुटाएर त्यसक्रममा उत्पन्न हुने ओजोन ग्यासको मात्रा मापन गरेर हेरेका छन् । चट्टानको गुण अनुसार ओजोन ग्यास निस्कासनको मात्रा फरक हुन्छ । सबैभन्दा अधिक ओजोन ग्यास रायोलाइटले निकाल्ने भनाइ राउलको छ ।
भूकम्प आउनु भन्दा केही समय पहिले भूमिगत चट्टानी संरचनामा दबाब पर्न थाल्छ । उच्च दबाबले चट्टान फुट्छ र त्यहाँबाट ओजोन ग्यास निस्कने तर्क राउलको छ । यसरी निस्कने ओजोन ग्यासलाई भूकम्प आउनु भन्दा पहिले नै पत्ता लगाउन सकिने विश्लेषण राउलले गरेका छन् ।
चट्टान फुटेर ओजोन ग्यास निस्केको हो कि वायुमन्डलमा रसायनिक प्रतिक्रिया भएर ओजोन ग्यास बनेको हो भन्ने पत्ता लगाउन अनुसन्धानकर्ताले शुद्ध अक्सिजन, नाइट्रोजन, हिलियम र कार्बनडायोक्साइडबाट एक परीक्षण गरेका थिए । चट्टानबाट र वायुमन्डलमा बन्ने ओजोन ग्यासको रसायनिक संरचनामा हुने भिन्नता छुट्याएर चट्टानको ओजोनको सङ्केत पाउन सकिने उनीहरूको कथन छ ।
केही जनावरलाई भूकम्पको पूर्वानुमान हुने विभिन्न घटनाक्रमले देखाएको हुनाले राउलको टोलीले यस पक्षमा पनि अनुसन्धान गरेको छ । यसमा पनि ओजोन ग्यासकै कारण हुनसक्ने बताइएको छ । सम्भवतः ओजोन ग्यासको मात्रामा आउने फरक थाहा पाउने भएकाले जनावरहरूलाई भूकम्पको पूर्वानुमान हुने गर्छ ।
राउलको भनाइ छ- भूकम्प आउने क्षेत्रमा रहेका जियोलोजिकल फल्ट नजिक ओजोनको मात्रा निरन्तर जाँच्ने गरिएमा भूकम्पको पूर्वानुमान गर्न सकिने छ ।
परमाणु भट्टी बन्द गरिँदै
विनाशकारी भूकम्प र सुनामीले गत वर्ष जापानको फुकिसिमा रहेको दाइची परमाणु भट्टीमा ठूलो क्षति पुर्‍याएपछि विश्वमा जनहितका लागि परमाणु ऊर्जाको उपयोग प्रति बहस चलेको छ । केही देशले आप\mनो ऊर्जा नीतिमा पुनर्विचार गरी बैकल्पिक स्रोततर्फ कदम चाल्ने निर्णय लिइसकेका पनि छन् । जर्मनीको अनुसरण गर्दै अर्को युरोपेली देश बेल्जियमले पनि सन् २०१५ बाट आप\mनो तीन वटा पुराना परमाणु भट्टी बन्द गर्दै अन्ततः परमाणु ऊर्जा मुक्त देश हुने निर्णय गरेको छ ।
गत मार्चमा जर्मनीले सन् २०२० सम्ममा आप\mनो परमाणु कार्यक्रम बन्द गरिसक्ने बताएको थियो तर पछि त्यसमा पुनर्विचार गर्दै जर्मनीले सन् २०२२ सम्म सबै परमाणु कार्यक्रममा ताला लगाइसक्ने निर्णय लिएको छ । बेल्जियमले सन् २०२५ सम्ममा आप\mनो सबै परमाणु ऊर्जा केन्द्र बन्द गर्ने भएको छ । बेल्जियमको दुई परमाणु केन्द्रमा कुल सात परमाणु भट्टी रहेका छन् ।
बेल्जियमको डोयल र तिहान्जमा तीन वटा परमाणु भट्टीलाई सन् २०१५ बाट बन्द गर्न सुरु गरिने छ । बेल्जियममा हाल परमाणु भट्टीबाट पाँच हजार ८६० मेगावाट विद्युत् उत्पादन हुने गरेको छ । बैकल्पिक ऊर्जाका लागि प्रविधि विकासमा लगानी जुटाउनका लागि बेल्जियमले परमाणु कर लगाउने तयारी गरिरहेको छ ।

Comments

Popular posts from this blog

भीम दाहालको उपन्यास ‘अभीष्टको खोज’- कृतिपरक अध्ययन- नवीन पौड्याल

मौरी पालन- अनुवाद