मङ्गल अन्वेषणमा नयाँ यान


मङ्गल ग्रहको अन्वेषण सुरू गरिएको करिब ४० वर्ष भएको छ । यस अवधिमा भएका खोजले मङ्गल ग्रहप्रति कौतूहलता झनै बढाएको छ । अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था, नासाले मङ्गल ग्रहमा मानवरहित यान नै उतारेर त्यहाँ जीवनको सङ्केत दिने खालका सूचकाङ्क पनि हासिल गरेकाले पृथ्वी बाहिर सबैभन्दा अधिक चासो दिइएको ग्रह नै मङ्गल भएको छ । नासाले गत नोभेम्बर २६ मा मङ्गल ग्रहको अन्वेषणका लागि विशेष अभियान थालेको छ ।
कार आकारको वाहन क्युरियोसिटीलाई लिएर केप कानाभेरलबाट एट्लस भी रकेट मङ्गल ग्रहका लागि प्रस्थान गरेको छ । क्युरियोसिटीमा मार्स साइन्स ल्याबरोटरीलाई राखिएको छ । नासाका प्रशासक चाल्र्स बोल्डेनको भनाइ छ- मङ्गल ग्रहमा अहिलेसम्मकै उत्कृष्ट वैज्ञानिक प्रयोगशाला पठाउन पाउँदा हामी अत्यन्तै उत्साहित भएका छौँ, मङ्गल ग्रहका बारेमा हामीले चाहेको तथ्य यस प्रयोगशालाले उपलब्ध गराउने छ, यसैको आधारमा हामी रातो ग्रह र अन्य क्षेत्रमा मान्छेलाई पठाउने खाका तयार पार्ने कार्य गर्ने छौँ ।
मङ्गल ग्रहको गेल क्रेटरमा रहेको एक पहाडको नजिक सन् २०१२ को अगस्त ६ मा क्युरियोसिटीलाई एक आकाशे क्रेनले अवतरित गराउने छ । यसअघि पनि नासाले मङ्गल ग्रहमा दुई वटा यान अवतरित गराइसकेको छ । क्युरियोसिटीले मङ्गल ग्रहमा लगभग दुई वर्ष रहेर त्यहाँ सूक्ष्म जीवनका लागि कुनै वेला वा वर्तमानमा अनुकूल वातावरण रहेको परीक्षण गर्ने छ । त्यसक्रममा रसायनिक सङ्केतको आधारमा जीवनको सम्भाव्यता विश्लेषण गरिने छ ।
एट्लस भी. ले सुरुमा यानलाई पृथ्वीको कक्षसम्म पुर्‍याउने छ । त्यसपछि यानको माथिल्लो भागमा रहेको रकेट इन्जिनले वेग दिएर क्युरियोसिटीलाई पृथ्वीको कक्ष बाहिर धकेल्ने छ । त्यहाँबाट क्युरियोसिटीले मङ्गल ग्रहका लागि ५६ करोड ७० लाख किलोमिटरको यात्रा सुरु गर्ने छ ।
क्युरियोसिटीको तलपट्टि रहेको रोबोट हातले मङ्गल ग्रहको माटो र चट्टान खनेर आफू भित्र जडान गरिएको प्रयोगशालामा पठाउने छ । यस यानमा १० वटा वैज्ञानिक परीक्षण उपकरण राखिएको छ । यसअघिका स्पिरिट र अपच्र्युनिटी अभियानमा जडान गरिएका उपकरण भन्दा क्युरियोसिटीमा १० गुण अधिक भारका उपकरण छन् । यति मात्र होइन क्युरियोसिटीको आकार स्पिरिट र अपच्र्युनिटी भन्दा लम्बाइमा दोब्बर र भारमा पाँच गुणा बढी छ । कुल मिलाएर क्युरियोसिटीको बजन एक टन रहेको छ ।

Comments

Popular posts from this blog

भीम दाहालको उपन्यास ‘अभीष्टको खोज’- कृतिपरक अध्ययन- नवीन पौड्याल

मौरी पालन- अनुवाद